विश्वमा महामारीको रुप लिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि बढ्दोरुपमा देखिएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशले जस्तै नेपालमा पनि बन्दाबन्दी (लकडाउन) गरिएको छ ।
लामो समयको बन्दाबन्दीबाट विश्वमा तथा नेपालमा समेत आर्थिक, सामाजिकलगायत धेरै क्षेत्रमा नराम्ररी क्षति पुगिरहेको छ । नेपालको डेढ महिना लामो लकडाउनबाट यहाँको सामाजिक व्यवस्थामा ठूलो क्षति पुगिरहेको भए पनि यो अवधिमा घरभित्रै सीमित रहेका बालबालिकाले भने घरको काम सिकिरहेका छन् र कतिपयले यस्तै घरायसी काममा अभिभावकलाई सघाउन पनि थालेका छन् । त्यसैले लकडाउनबाट सिर्जित धेरै समस्या हुँदाहुँदै पनि सिर्जनशीलरुपमा बालबालिकाले सिकेको कृषिकर्म तथा घरको कामलाई भने सकारात्मकरुपमा लिनुपर्छ ।
निकै लामो समय घरैमा बस्न बाध्य भएपछि अभिभावकले बालबालिकालाई घरको काम सिकाउन थालेका छन् भने बालबालिका पनि कतिपय यसैमा रमाएका छन् । एसइई या उच्चशिक्षाको परीक्षा दिने तयारीमा रहेका बालबालिका यतिखेर समय निकालेर घरायसी काममा अभिभावकलाई सघाउन थालेका छन् । खानाका विभिन्न परिकार बनाउनेदेखि खाद्यान्न भण्डारण, तरकारी उत्पादनमा बालबालिकाले समयको सदुपयोग गर्न थालेका छन् ।
लम्की चुहा–१ की १० वर्षीया बालिका रेखा बम आजभोलि भान्साको काम सिकिरहेकी छिन् । “मैले चिया, रोटी, तरकारी पकाउन सिकेँ”, बालिका रेखाले भनिन्, “पहिले पहिले बिदा हुँदा साथीहरुसँग खेल्ने गर्थें, यसपटकको लामो बिदामा आमाले घरको काम सिक भन्नुभयो, भान्साको काम सिक्न थालेकी छु ।” रेखाकी आमा ममता सिंहले छोराछोरी फुर्सदिला भएपछि आफूसँगै घरको काममा व्यस्त राख्न थालेको बताउनुभयो I
छोराछोरी पढ्ने र समय–समयमा टेलिभिजन हेर्थे, टेलिभिजन पनि कति हेरुन् खाली समयमा घरायसी काममा सघाउन थालेका छन्”, सिंहले भन्नुभयो, “मसँगै काम गर्छन् आजभोलि काम बाँडफाँड गरिदिएकी छु । यसले मलाई पनि सहयोग भएको छ । उनीहरुको समय व्यतित हुनाका साथै कृषिकर्म पनि सिकेका छन् ।”
कैलालीकै टीकापुरकी १४ वर्षीया बन्दना विक पनि घरको काम सिक्न थालेकी छिन् । बन्दनाले घर सरसफाइ, भान्साको काम र करेसाबारीको काममा समेत अभिभावकलाई सघाउने थालेको बताइन् । “आमाबुवासँग सबै काम गर्न थालेकी छु”, बन्दनाले भनिन्, “बिहान घर सफा गर्ने, बिस्तारा मिलाउने, लुगा धुने काममा आमालाई सघाउँछु, दिउँसो आमासँग करेसाबारीमा काम गर्छु । समय सजिलै बितेको छ अनि करेसाबारीमा तरकारी बालीको बारेमा धेरै जानकारी पनि लिइसकेँ ।” बन्दनाले त्यसबाहेक मोबाइलमा उत्प्रेरणा दिनेखालका ज्ञानवद्र्धक सेमिनार, मन्तव्य, फिल्मसमेत हेर्न थालेको बताइन् ।
कक्षा १२ को परीक्षाको तयारीमा रहेकी पूर्णिमा शर्मा घरको कामबाहेक आजभोलि पुराना किताबसमेत अध्ययन गर्ने गर्छिन् । “आजभोलि भान्साको सबै काम मैले सम्हालेकी छु, आमाले घर बाहिरको काम गर्न थाल्नुभएको छ । उहाँलाई पनि सजिलो भएको छ”, पूर्णिमाले भनिन्, “अन्य समयमा पुराना किताब पढ्न थालेकी छु, केही साहित्यिक किताबसमेत अध्ययन गर्न थालेँ ।”
पूर्णिमा साथीहरुसँग भिडियो कन्फ्रेन्समार्फत पढाइसम्बन्धी छलफल गर्ने, हिसाब सिक्ने कार्यसमेत गरिरहेको बताउँछिन् । “परीक्षा नजिकिँदै गर्दा विद्यालय बन्द भए के गर्नु ? बन्दको पनि सदुपयोग गर्नुपर्छ भनी मैले नयाँनयाँ सीप सिक्ने, घरको काममा सघाउने, थप पुस्तक पढ्ने कार्य गर्न थालेकी हुँ”, पूर्णिमाले भनिन्, “यो समय
सदुपयोग गर्ने हो, परीक्षा अनिश्चित भएको छ । तनाब त किन नहुनु तर काममा व्यस्त रहे तनाव व्यवस्थापनमा सहयोग पुग्छ ।”
टीकापुरकै सुष्मा परियारका पिता टेलर व्यवसायी हुनुहुन्छ । एसइईको तयारीमा रहेकी सुष्माको परीक्षा स्थगित भएपछि आजभोलि उनले पितासँग सिलाइको काम सिक्न थालेकी छन् । “साँझ बिहानको समय अध्ययन गर्छु, दिउँसो बाबासँग सिलाइ सिक्न थालेकी छु”, सुष्माले भनिन्, “दुई साता तनाव भयो, यो वर्ष खेर जान्छ भन्ने पिरले केही काममा मन लागेन । पछि बाबाले सम्झाएपछि सीप सिक्न थालेँ ।” सुष्माले एक महिनामा बाबाले कटिङ गरेको कपडा सिलाउने काम सिकिसकेको बताइन् । “सजिलो काम म गरिदिन्छु, बाबालाई सहयोग भएको छ”, सुष्माले भनिन्, “घरमै कपडा सिलाउनेहरु आउँछन्, हाम्रो व्यापार पनि चलिरहेको छ । मैले पनि सिक्न थालेकी छु ।”
रेखा, बन्दना, पूर्णिमा, सुष्माजस्तै केही बालबालिका अभिभावकको सहयोगमा घरको काम सिक्न थालेका छन् भने केही बालबालिकामा मनोसामाजिक समस्या पनि देखिन थालेको छ । लामो समय विद्यालय बन्द हुँदा बालबालिकामा समस्या देखिन सक्ने भएकाले अभिभावकले सतर्कता अपनाउनुपर्ने शिक्षाविद्हरु बताउँछन् । लम्की चुहाका रोशन जैसी एसइईको तयारीमा थिए । परीक्षा स्थगित हुँदा उनले लामो समयसम्म किताब छोएनन् । “मेरो छोराले परीक्षा हुन्न भन्दै किताब पढ्न छोड्यो, खाना नखाने, टोलाएर बस्ने ग¥यो”, रोशनकी आमा रुपा जैसीले भन्नुभयो, “मलाई पनि तनाव भयो, मनोसामाजिक परामर्शदातालाई बोलाए, उहाँले चार घण्टा छोरासँग कुरा गर्नुभयो । छोरा आजभोलि नियमित अध्ययन गर्ने, घरमै ब्यायाम गर्ने, घरको काममा सघाउन थालेको छ ।”