बाँकेमा निर्माणाधीन हुलाकी सडकमा बन्दाबन्दीका कारण निर्माण सामग्री अभाव भएको छ । हुलाकी सडक योजना कार्यालय नेपालगञ्जअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–बघौडा र फत्तेपुर–बैजापुर हुलाकी सडकमा निर्माण सामग्री अभाव भएको हो ।
राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरदेखि विनौना हुँदै बैजापुरको नारायणपुर धामपुर जोड्ने सडकका लागि निर्माण सामग्री अभाव भएको निर्माण कम्पनी एपेक्स कङ्काली खड्का कृष्ण जेभीका सञ्चालक जय केसीले जानकारी दिनुभयो । उहाँका अनुसार राप्तीसोनारीले नदीजन्य पदार्थ उत्खननका लागि बोलपत्र लगाउन नसक्दा निर्माण सामग्री अभाव भएको हो । फत्तेपुर–बैजापुर २१ किमी सडक निर्माणका लागि अधिकांश स्थानमा माटो पटान भइसकेकाले अब ग्राभेलिङ गर्न आवश्यक पर्ने निर्माण सामग्री ग्राभेलको अभाव देखिएको छ ।
“माटो पटानको काम ९० प्रतिशत सकिएको छ । केही स्थानमा कल्भर्ट निर्माणको काम पनि ग्राभेल अभावले हुन सकिरहेको छैन”, उहाँले भन्नुभयो, “निर्माण सामग्री अभावबारे राप्तीसोनारी गाउँपालिका, हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय नेपालगञ्ज र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराए पनि पहल भएको छैन ।”
समयमै निर्माण सामग्री पाउन नसके वर्षाअघि नै सडक ग्राभेल हुन नसक्ने उहाँको भनाइ छ । माटो पटान गरिएको सडकमा ग्राभेल हुन नसके वर्षाद्मा स्थानीय बासिन्दालाई आवतजावतमा ठूलो कठिनाइ हुनेछ । सडक निर्माण सम्झौता गरिएको छ महीनाका अवधिमा कोरोना माहामारीका बीच पनि २० प्रतिशत काम सम्पन्न भइसकेको केसीको जिकिर छ । एक्काइस किमी लम्बाइको उक्त हुलाकी सडक तीन वर्षभित्र सक्ने गरी ६ महिनाअघि एपेक्स कङ्काली खड्का कृष्ण जेभीले ठेक्का सम्झौता गरेको थियो । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीमै सञ्चालन भएको नेपालगञ्ज–बघौडा सडक खण्डमा पनि निर्माण सामग्री अभाव हुन थालेको निर्माण कम्पनी गणपति कन्स्ट्रक्सनका फिल्ड व्यवस्थापक इन्द्र केसीले जानकारी दिनुभयो ।
बन्दाबन्दीमा सीमित मजदूरलाई निश्चित दायराभित्र राखेर स्वास्थ्यवस्थामा प्रभाव नपर्ने गरी काम शुरु गरिए पनि निर्माण सामग्री अभाव हुन थालेको उहाँको भनाइ छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी रामसागर हरिजनले बन्दाबन्दीका कारण आवश्यक निर्माण सामग्रीमा कठिनाइ हुन पुगेको बताउनुभयो ।
फत्तेपुर–बैजापुर हलाकी राजमार्गमा वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको जानकारी दिँदै उहाँले निर्माण सामग्रीको उपलब्धताका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।
बन्दाबन्दी उल्लङ्घन
कोरोना सङ्क्रमित भेटिएको नेपालगञ्जमा सामाजिक दूरीको बेवास्ता गर्दै बन्दाबन्दीको उल्लङ्घन भइरहेको छ । सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीको बेवास्ता गर्दै बिहानैदेखि हुने नागरिकको भीडभाडले कोरोना सङ्क्रमणको जोखिम बढेको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापा बताउनुहुन्छ । उहाँले अहिलेसम्म कोरोना सङ्क्रमण भेटिइसकेकाले सङ्क्रमण रोकथामका लागि बन्दाबन्दीको पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
स्थानीय प्रशासनले बिहान ११ देखि दिउँसो ३ बजेसम्म अत्यावश्यकीय उपभोग्य वस्तु खरीद बिक्रीको समय तोके पनि बन्दाबन्दीको बेवास्ता गर्दै बिहानैदेखि सडकमा नागरिकको भीडभाड हुने गरेको छ । कोरोना सङ्क्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले वैशाख २३ देखि २५ गते मध्यरातसम्म तीन दिन नेपालगञ्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरेर स्वाब सङ्कलन गरेको थियो । निषेधित क्षेत्र हटाएसँगै बन्दाबन्दीको बेवास्ता गर्दै नागरिक बिहानैदेखि सडकमा हिँड्ने गरेका छन् । कोरोनासङ्क्रमित क्षेत्र वडा नं ८ मा समेत नागरिकको चहलपहल हुने गरेकाले सङ्क्रमणको जोखिम बढेको नेपागञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले विभिन्न बहानामा सर्वसाधारण घर बाहिर निस्केर आफँै जोखिममा परेको बताउनुभयो ।
बैङ्कमा थामिनसक्नु भीड
नेपालगञ्जका बैङ्कमा दिनभर जनताको थामिनसक्नु भीड हुने गरेको छ । आइतबार बैङ्कमा सामाजिक सुरक्षा भत्ता र निवृत्तिभरण बुझ्नेको भीड लागेको थियो । साङ्ग्रिला डेभलपमेन्ट बैङ्कमा पाँच सयभन्दा बढी व्यक्ति एकै पटक सामाजिक सुरक्षा भत्ता लिन आउँदा धेरै भीडभाड भएको बैंकका शाखा प्रबन्धक जीवन बिसीले बताउनुभयो ।
आइतबार मात्र उक्त बैङ्कबाट दुई सय जनाले सेवा लिएका छन् । राष्ट्रिय वाणिज्य बैङ्क, एसबिआई, ग्लोबल आइएमईलगायत बैङ्कमा पनि बन्दाबन्दी र सामाजिक दूरीको बेवास्ता गर्दै सर्वसाधारणको भीडभाड लागेको थियो ।