निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले कोभिड–१९ पछिको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटकीय आकर्षक प्याकेज सार्वजनिक गरेको छ । सरकारले कोभिड–१९ को महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थानका लागि बिदा पर्यटनको अवधारणा अघि सारेको सन्दर्भमा बुद्धले पहिलो चरणमा काठमाडौँ, पोखरा र चितवनका पर्यटकीय गन्तव्यलाई आकर्षित गराउने योजना ल्याएको हो ।
बुद्ध एयरको भगिनी संस्था ‘बुद्ध होलिडेज’ मार्फत पोखरा, घान्द्रुक, धम्पुस र चितवनका केही होटलमार्फत साझेदारीमा पर्यटन प्रवद्र्धन गरिने कम्पनी आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
पर्यटन उद्योगलाई पुनरुत्थान गर्न सरकारले आगामी आर्थिक वर्षमा विधा पर्यटनको अवधारणा ल्याएको छ । आव २०७७/०७८ को बजेट र नीति तथा कार्यक्रममै उक्त प्याकेज समेट्ने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हालै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिदा पर्यटनको अवधारणालाई बजेटमै समावेश गरिने बताउनुभयो । आन्तरिक पर्यटनलाई टेवा पु¥याउन सरकारी कर्मचारीलाई विभिन्न चरणमा एक महिनासम्म बिदा दिने कार्यक्रम समावेश गरिनेछ । यसबाट वार्षिक २० लाख आन्तरिक पर्यटक गन्तव्य भ्रमणमा निस्कने पर्यटनमन्त्रीको भनाइ थियो ।
बिदा पर्यटनको सरकारी योजनालाई बुद्धको होलिडे प्याकेज सान्दर्भिक हुनसक्ने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले सरकारले अघिसारेको बिदा पर्यटनलाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिरक्षा प्रणाली अपनाएर कोभिडप्रति सुरक्षा सतर्कता अपनाउँदैआन्तरिक पर्यटन प्रवद्र्धमा उत्साहवद्र्धक ढङ्गले लाग्ने बताउनुभयो ।
बुद्धले सङ्क्रमणरहित र सुरक्षित होलिडे प्याकेज सञ्चालनका लागि साङ्गठनिक लिखित निर्देशिका तयार गरिसकेको छ । उडान र होलिडे प्याकेज सरकारको उडान सञ्चालन गर्न दिने निर्णयअनुसार आगामी जुन १ तारिखबाट बजार व्यवस्थापन गरी सञ्चालन गर्ने बुद्ध एयरले जनाएको छ ।
बुद्धको होलिडे प्याकेजअन्तर्गत पोखराको दुई दिन पर्यटकीय प्याकेज होटल र उडानसहित रु पाँच हजार ९९९ तिर्नुपर्ने हुन्छ । त्यस्तै चितवनको दुई दिन पर्यटकीय प्याकेज होटल र उडानसहित रु १३ हजार ९९९ रहेको छ । यो सेवामा विमानस्थलदेखि होटल र विमानस्थलसम्म सवारी साधनको व्यवस्था हुनेछ ।
प्रबन्ध निर्देशक बस्नेतले विदेशी पर्यटकलाई विश्वास दिलाउन पनि आन्तरिक पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देश प्रवाह गर्न युद्धस्तरमा मुख्य पर्यटकीय गन्तव्यमा पर्यटकीय गतिविधि बढाउन जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी अक्टोबर महिनादेखि आन्तरिक पर्यटनमा चहलपहल बाक्लिन्छ भन्ने हाम्रो विश्वास छ, त्यसैले कोभिडपछिको पर्यटन प्रवद्र्धनका लागि उत्साहित भएर लाग्ने निर्णयका साथ बजारीकरणलाई तीव्रता दिन्छौँ ।”
बुद्धले कोभिड–१९ को महामारीसँग कर्मचारी र यात्रुलाई सुरक्षित राख्ने हिसाबले सुरक्षा निर्देशिका जारी गरिसकेको छ । सामान्य अवस्थामा पोखरा र चितवनमा ३० प्रतिशत काठमाडौँका आन्तरिक पर्यटकले ओगट्ने गरेको व्यावसायिक आँकडा रहेको बुद्धले जनाएको छ । कम्पनीले निकट भविष्यमै चीन र भारतीय पर्यटकलाई यस्तै उदाहरण देखाइ ठूलो सङ्ख्यामा भित्र्याउन सक्ने विश्वास लिएको छ । यी दुई मुलुकबाट वर्षेनी १४ करोडभन्दा बढी पर्यटक विदेश घुम्न जाने गरेको बताइन्छ ।
एकजना पनि कर्मचारी कटौती गर्दैनौँ
बुद्धले कोभिड–१९ को प्रभावले आफ्ना कर्मचारीलाई तलब सुविधामा कुनै समस्या नपर्ने र कुनै पनि कर्मचारीको कटौती नगर्ने जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक बस्नेतले आफ्नो २३ वर्षे उडान यात्रामा भविष्यको सम्भावित जोखिमलाई ध्यान दिएर कम्पनीले सोहीअनुरुपको रणनीतिअन्तर्गत आर्थिक व्यवस्थापन गरेकाले अझै ६ महिनासम्म कर्मचारीलाई तलब खुवाउन कुनै समस्या नहुने बताउनुभयो ।
“हामी (बुद्ध एयर) एक कर्मचारी पनि कटौती गर्दैनौँ, आगामी अक्कोबर महिनादेखि पर्यटनलयमा फर्किन्छ भन्ने हाम्रो विश्वास छ, अहिले कम्पनीलाई टिकाइराख्न हामीलाई समस्या छैन त्यसैले यो चुनौतीलाई अवसरका रुपमा परिणत गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो । कम्पनीले सामान्य अवस्थामा दैनिक झण्डै ६ हजार यात्रुलाई सेवा दिने गरेको थियो । कोभिडको महामारीका कारण हाल यात्रु सङ्ख्या शून्य अवस्थामा छ । बुद्धले एटिआर–७२ ११ सहित १३ जहाजमार्फत उडान सेवा दिइरहेको छ ।