प्रतिफल पाउने गरी कृषि क्षेत्रमा लगानी गर्न आवश्यक रहेको सङ्घीय संसद्, अर्थ समितिको छलफलमा सहभागीहरुले बताएका छन् । समितिको सङ्घीय संसद्को सचिवालय सिंहदरबारमा आज बसेको समितिको ८९औँ बैठकमा सहभागी सांसद र बैंकिङ क्षेत्रका प्रतिनिधिहरुले अहिलेको अवस्थालाई महामारीका रुपमा नभई अवसरका रुपमा लिनुपर्ने जोड दिए ।
छलफलमा सहभागी नेपाल बैंकर्स सङ्घका अध्यक्ष एवं सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बहुमत प्राप्त सरकार भएकाले अर्थतन्त्र बलियो बनाउने अवसर भएको बताउनुभयो । स्थानीय तहसम्म विभिन्न बैंक स्थापना भएकाले अहिलेको अवस्थामा काम गर्न अहिले सजिलो हुने उहाँको धारणा थियो । “महामारी समस्यामात्र होइन देशलाई आत्मनिर्भर तथा अर्थतन्त्र बलियो बनाउने अवसर हो”, उहाँले भन्नुभयो । अहिलेको अवस्थामा सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र रहेको दाहालले बताउनुभयो । उहाँले सडक निर्माणमा सिमेन्टको प्रयोग गर्न सुझाव दिनुभयो । “यसले सडक बलियो पनि हुन्छ, खर्च पनि घट्छ”, अध्यक्ष दाहालले भन्नुभयो ।
नेपाल बैंकर्स सङ्घका पूर्व अध्यक्ष एवं नविल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बैंकिङ क्षेत्रसितको सर्वसाधारणको सम्बन्ध टुट्न दिन नहुने बताउनुभयो । यसका लागि सरकारको सहयोगको खाँचो रहेको उहाँको धारणा थियो । “महामारीका बेला पनि बैंकिङ क्षेत्र मजबुत छ भन्ने सेवाग्राहीलाई विश्वास दिलाउन सक्नुपर्छ”, शाहले भन्नुभयो । चौध लाख ऋणीलाई मात्रै सरकारले राहत दिन नहुनेमा उहाँले जोड दिनुभयो । सबैको अवस्था हेरी राहतका लागि तह निर्धारण गर्न उहाँले बताउनुभयो सुझाव दिनुभयो । कृषिमा लगानी गर्न ऋणमात्रै दिएर नपुग्ने र ऋण लिनेले उत्पादन गरे नगरेको अवस्था पत्ता लगाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो । “उत्पादन खपत भए÷नभएको अवस्थाको ख्याल गरी लगानी गर्नुपर्छ”, शाहले भन्नुभयो, “मल, बीउ र उपकरणलगायतमा सहयोग गर्नुपर्छ ।”
पूर्व अर्थमन्त्री एवं सांसद सुरेन्द्र पाण्डेले बैंकप्रतिको उपभोक्ताको विश्वास घट्न दिन नहुने र यसका लागि सरकारले भूमिका खेल्नुपर्ने बताउनुभयो । ऋण लिने व्यवसायीले लगानी कुन कुन क्षेत्रमा गरेका छन् भन्ने जानकारी सरकारले राख्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । “उनीहरुले रोजगारी सिर्जना गरे÷नगरेको पत्ता लगाउनुपर्छ, ऋण लिएर काठमाडौँमा मात्र लगानी गरेको र बाहिर लगानी गर्न नसकेको पाइएको छ”, उहाँले भन्नुभयो । काठमाडौँ बाहिर लगानी गर्ने सर्तमा ऋण उपलब्ध गराउन उहाँले सुझाव दिनुभयो । अहिलेको अवस्थामा विदेशबाट फर्केका युवालाई कृषि उत्पादनतर्फ आकर्षित गर्नुपर्ने पाण्डेको भनाइ थियो । “विदेशबाट फर्केकालाई उनीहरुको सीपअनुसारको काममा आकर्षित गरी उत्पादनमा जोड दिने कार्यक्रमको आवश्यकता छ”, उहाँले भन्नुभयो ।
छलफलमा सांसदहरु जुलीकुमारी महतो, मेटमणि चौधरी, पदम गिरी, जयकुमार राई, श्यामकुमार श्रेष्ठ, रामकुमारी झाँक्री, हेमकुमार राई, तुलसी थापालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । अर्थ समितिका सचिव सुरेन्द्र अर्यालले सबैको रायसुझाव अगामी आवमा समेटिने बताउनुभयो । समितिले प्रतिवेदन तयार पारी सरकारलाई बुझाउने उहाँले उल्लेख गर्नुभयो । अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले कोरोना महामारीका कारण अर्थतन्त्रमा पार्न सक्ने प्रभाव तथा अर्थतन्त्र बलियो बनाउन विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिको धारणा बुझ्न छलफल आयोगरिएको बताउनुभयो । बुधबार ११ बजे अर्थशास्त्रीहरु तथा अर्थविज्ञहरुसित छलफल गरिने उहाँले जनानकारी दिनुभयो ।