सौराहाका पर्यटन व्यवसायी ‘लकडाउन’को समयको सदुपयोग गर्दै संरक्षण क्षेत्रमा जुटेका छन् । लामो समय लकडाउन हुँदा सौराहाका पर्यटन व्यवसायी वन्यजन्तुको बासस्थान संरक्षणमा जुटेका हुन् ।
उनीहरुले निकुञ्जसँग सहकार्य गरेर ९१ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गरेका छन् । प्रकृति संरक्षण कोष, क्षेत्रीय रेवान, वमघमारा, चित्रसेन मध्यवर्ती सामुदायिक वन, जीप समिति, रत्ननगर नगरपालिका वडा नं ६, ७ र विभिन्न व्यक्तिको सहयोगमा पर्यटन व्यवसायीले घाँसेमैदान व्यवस्थापन गरेका हुन् । उनीहरुले निकुञ्जभित्र पर्ने पुरानो पदमपुरको क्षेत्रमा घाँसे मैदान व्यवस्थापन गरेका हुन् ।
सौराहा हात्ती तथा जीप बुकिङ् सेन्टरका सचिव राममणि खनालका अनुसार निकुञ्जको पूर्वी क्षेत्रमा घाँसे मैदान व्यवस्थापनको काम गरिएको हो । मानव र वन्यजन्तुबीचको द्वन्द्व अन्त्यका लागि यसले सहयोग पुग्ने उहाँको भनाइ छ । पर्यटकको आवागमन नहुँदा पर्यटन व्यवसायीले संरक्षणमा काम गर्नुपर्ने भन्दै यो अभियान शुरु गरिएको उहाँले जानकारी दिनुभयो । रु चार लाख ५८ हजारको लागतमा सो क्षेत्र व्यवस्थापन गरिएको हो ।
घाँसे मैदानसँगै पोखरीको व्यवस्थापन गर्नसकेमा संरक्षणमा सकारात्मक प्रभाव पर्ने निजी सङ्घसंस्था तथा व्यवसायीको भनाइ छ । घाँसे मैदान र पोखरीको व्यवस्थापनले वन्यजन्तु गाउँमा पस्न रोक्न सकिनेछ । निकुञ्जभित्रै घाँसे मैदान र पोखरी व्यवस्थापन गर्न सक्दा वन्यजन्तु चरनका लागि बस्ती पस्दैनन् ।
निकुञ्जले यस चालू आर्थिक वर्षमा घाँसे मैदान र पोखरी व्यवस्थापनका लागि मात्रै रु तीन करोड ५० लाख खर्च गर्दैछ । सो रकमबाट १०० हेक्टरपुरानो घाँसे मैदान र ६०० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गर्दैछ । निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेका अनुसार पुरानो घाँसे मैदान व्यवस्थापनको काम सम्पन्न भइसकेको छ । नयाँ ३०० हेक्टर सम्पन्न भइसकेको छ भने बाँकी व्यवस्थापनको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाँसे मैदान र पोखरी व्यवस्थापनको काम गर्नसके चोरीसिकारी नियन्त्रणमा ठूलो सहयोग पुग्नेछ । निकुञ्जको पूर्वी क्षेत्रमा मात्रै चार वटा ठूला तालसहित ३५ वटा पोखरी निर्माण भइरहेको छ । निकुञ्जका सबै क्षेत्रमा गरेर अहिले ७५ वटा ताल तथा पोखरी निर्माण गरिँदैछ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले पाँच वर्षसम्म घाँसे मैदान व्यवस्थापनको कामलाई महाअभियानका रुपमा अघि बढाउन जरुरी रहेको बताउनुभयो । अहिले निर्माण गरिएका घाँसे मैदानको व्यवस्थित व्यवस्थापन गर्नसकेमा वन्यजन्तु बस्ती नपस्ने उहाँको भनाइ छ । फँडानी गरिएको स्थानमा नियमितरुपमा पाँच वर्ष घाँसे मैदानका रुपमा राख्नसके वन्यजन्तुको चरन क्षेत्रका रुपमा विकास भई संरक्षणमा समेत टेवा पुग्ने उहाँले बताउनुभयो ।
निकुञ्ज स्थापनाका समयमा २० हजार हेक्टर घाँसे मैदान भएको भए पनि घट्दै गएको पाइन्छ । रुपाखेतीका अनुसार अहिले १० हजार हेक्टर मात्र घाँसे मैदान रहेको र यसलाई व्यवस्थापन गर्न कठिन भएको छ । यस वर्षबाट उपकरण प्रयोग गरी घाँसे मैदान व्यवस्थापन शुरु गरिएको छ ।