कैलालीको टीकापुर–८ वनगाउँमा कर्णाली नदीले कटान तीव्र पारेपछि स्थानीयवासीले जैविक तटबन्ध शुरु गरेका छन् । स्थानीयवासीले बाँस, झालापाता, कट्टा, प्लाष्टिक जालीको सहयोगमा जैविक तटबन्ध शुरु गरेका हुन् । कर्णाली नदीले एक साताको अवधिमा वनगाउँमा करिब डेढ सय मिटर जमीन कटान गरेको छ । नदीले गाउँतर्फ कटान शुरु गरेपछि स्थानीयवासी त्रसित भएका छन् ।
“नदीले कटान तीव्र पारेको छ । नदी कटान रोक्न नसकिए यो क्षेत्रमा हजारौँ घर जोखिममा पर्नेछन्”, स्थानीय जीतराम चौधरीले भन्नुभयो, “नदी कटानले टीकापुर नगरपालिकाको वनगाउँ, फाँटा, बटनपुर, अर्नुवा, कमलगाउँ जोखिममा पारेको छ । समयमै विकल्प नखोजे नदी गाउँ पस्ने खतरा बढेको छ ।”
स्थानीयवासीले नगरपालिका र रानी जमरा कुलरिया सिँचाइ आयोजनासँग गाउँ सुरक्षित गरिदिन मागसमेत गरेका छन् । “नगरपालिका र सिँचाइ आयोजनाका प्रतिनिधिले अनुगमन पनि गर्नुभएको छ । नदी कटान बढिरहेकाले शनिबारदेखि हामीले जैविक तटबन्ध शुरु गरिसकेको छाँै”, चौधरी भन्नुहुन्छ, “घरमा भएका सामान ल्याएर शनिबार डेढ सय स्थानीयवासी तटबन्ध कार्यमा सहभागी भयौँ, यो कार्य नियमित गर्छौँ । नदी गाउँ पस्नबाट रोक्न सकिन्छ कि ।”
कर्णाली नदी कटानले सत्तीपुल पनि जोखिममा रहेको छ । नदी कटान यही गतिमा भएमा सत्तीपुल बग्ने खतरा बढेको स्थानीय धर्मसिंह बुढाले बताउनुभयो । “बर्सेनि हुने नदी कटानले सत्ती कर्णाली सामुदायिक वनको २०० हेक्टर जमीन बगर भइसकेको छ”, बुढाले भन्नुभयो, “नदीले धार परिवर्तन गरेको छ, नदी गाउँ फर्कने डरले रातभर सुत्न सकिएको छैन ।”
कर्णाली नदीमा सिँचाइ आयोजनाले विगत पाँच वर्षदेखि तटबन्ध निर्माणको काम गर्दै आएको छ । यसअघि करिब ६०० मिटर तटबन्ध निर्माण भएको छ । आयोजनाले सिद्धी साइ कन्स्ट्रक्शनलाई एक हजार ६०० मिटर तटबन्ध निर्माणका लागि ठेक्का दिएको थियो ।
निर्माण कम्पनीले समयमै तटबन्ध नगर्दा बस्ती जोखिममा परेको हो । “हरेक वर्ष निर्माण कम्पनीलाई दबाब दिँदै आएका छौँ”, टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले भन्नुभयो, “ठेकेदारको लापरवाहीले समयमै तटबन्ध निर्माण भएन, तटबन्ध नबन्दा बस्ती सखाप हुने चिन्ता बढेको छ ।” वडाध्यक्ष ठकुल्लाले बस्ती कटानबाट कसरी जोगाउन सकिएला भनी सिँचाइ आयोजना र नगरपालिकाबीच छलफल भइरहेको बताउनुभयो ।