कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच राजधानीको सफाइ अभियानले भने पुनःनिरन्तरता पाउन थालेको छ । विगत हप्तामा वाग्मतीमा मात्र निरन्तरताका लागि भएको सफाइ अभियान यो हप्ता करिब आधा दर्जन स्थानमा पुनःनिरन्तरता पाए । उपत्यकामा कोरोनाको प्रभाव कम देखिएपछि वाग्मती नदी एवं यसका सहायक नदी सफाइ अभियानको क्रम आजदेखि बढ्न थालेको हो । वाग्मती सफाइ महाअभियानको ३६५ औँ हप्तामा गतपटक भन्दा धेरै स्थानमा अभियानकर्मी सामाजिक दूरी कायम गर्दै निस्केका छन् ।
राजधानीमा शुक्रबारदेखि नै चहलपहल बढ्न थालेको थियो । सार्वजनिक यातायात नचले पनि निजी नम्बर प्लेटका सवारी धेरै गुडेका थिए । वाग्मतीमै आज तीन स्थानमा सफाइ गरियो । अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा पशुपतिनाथ मन्दिरअघिको नदी किनारमा सफाइ गरिएको थियो । यसपटक भने पशुपति क्षेत्र सफा देखिएको उहाँले बताउनुभयो । यसैगरी तिलगङ्गा क्षेत्रको वाग्मतीमा पनि २६५औँ हप्ताको सफाइ गरियो । यस क्षेत्रमा आशा पाण्डे, विमला लामा, सरु श्रेष्ठ तण्डुकारलगायत महिलाको नेतृत्वमा सफाइ गरिएको थियो ।
शङ्खमूल क्षेत्रको वाग्मतीमा पनि अभियानकर्मी लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ भएको थियो । सफाइ भएका स्थानमा नजिकै निवास भएका अभियानकर्मीले सामाजिक दूरी कायम गरी सुरक्षित तवरले सफाइ अभियानलाई निरन्तरता दिएको अभियानकर्मी किशोरसिंह शाहीले बताउनुभयो । यस क्षेत्रको सफाइमा अभियानकर्मी दुर्गा रावल, रामप्रसाद पन्थीलगायत सक्रिय हुनुभएको थियो ।
यसैगरी मनोहरा फाँटमा रहेको शिवमन्दिर क्षेत्रमा पनि अभियानकर्मी चन्द्र दङ्गालको नेतृत्वमा सफाइ अभियानलाई पुनःनिरन्तरता दिइएको छ । यसैगरी मनोहरा दोभानको शान्ति बाटिकामा सफाइ गरिएको छ ।
ललितपुरको गोदावरी खोला सफाइ अभियानले पनि निरन्तरता पाएको छ । गोदावरी खोला सफाइ अभियानको ६२औँ हप्तामा कोलोनी क्षेत्रमा बेबी थापा, सुवोध थापालगायत अभियानकर्मीको नेतृत्वमा करिब एक दर्जनले सहभागिता जनाएका थिए । यसैगरी पनौती सफाइ अभियान पनि फेरि शुरु भएको छ । अभियानको ६२औँ हप्तामा सुनिता बञ्जारा, हेमा मानन्धरलगायत सफाइमा जुट्नुभएको थियो ।
बन्दाबन्दीकाबीच जनकपुर सफाइ अभियानलेसमेत निरन्तरता पाएको अभियानकर्मी शाहीले सुनाउनुभयो । सबै स्थानमा भएको सफाइका बारेमा उहाँले नै सामाजिक सञ्जालमा तस्बिरसहित जानकारी दिनुभएको छ ।
सबैतिरका अभियानकर्मीले करिब दुई घण्टा सफाइ गरेका थिए । शुरु हुनुअघि अभियानकर्मी शाहीले नै वाग्मती सफाइ महाअभियानका स्वयंसेवीको सामाजिक सञ्जालको समूहमा नारा राख्नुभएको थियो । अन्त्यमा पनि उहाँले नै नारा राखेसँगै सफाइ समापन गरिएको हो ।
विसं २०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको सक्रियतामा शुरु भएको महाअभियान बन्दाबन्दीअघि प्रत्येक हप्ताको शनिबार बिहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म दुई घण्टा जस्तोसुकै कठिन परिस्थितिमा पनि जारी थियो । गत चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी लागू भएपछि चैत १५ गते शनिबार ३५९औँ हप्ताको सफाइ अवरुद्ध भयो ।