कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलाको भराभरीमा निर्माण गर्न लागिएको २५ मेगावाट क्षमताकोे सेती नदी जलविद्युत् आयोजनाको निर्माण कार्य शुरु भएको छ ।
बुटवलको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडबाट प्रवर्दित सो आयोजनाको काम जारी बन्दाबन्दीका यही वैशाख २२ गतेदेखि शुरु भएको हो । कूल रु पाँच अर्ब लगानीमा निर्माण गरिने आयोजनाको शुरुआतमा सिभिल निर्माणतर्फको सेटलिङ बेसिन (पानी थिग्राउने पोखरी) खन्ने काम भइरहेको छ ।
दैनिक चारवटा एक्साभेटर र दुईवटा गाडीबाट बेसिन खन्ने र माटो व्यवस्थापन थालनी गरिएको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगत पोखरेलले बताउनुभयो । बेसिनसँगै निर्माणसँगै ‘एप्रोच क्यानल’ निर्माणको कामसमेत भइरहेको बताइन्छ । ६० मिटर लम्बाइ र २३ मिटर चौडाइको बेसिन २२ मिटर गहिरो बन्नेछ ।
आगामी २५ देखि २७ महिनाभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार कोरोना सङ्क्रमण त्रासको हालको विषम परिस्थितिमा समेत आवश्यक सुरक्षाका उपाय अवलम्बन गरेर काम शुरु गरिएको अध्यक्ष पोखरेलको भनाइ छ ।
आयोजनामा काम गर्ने कामदार तथा मेशिन चलाउने अपरेटरलाई अन्य बाहिरी व्यक्तिसँगको सम्पर्कबाट टाढा राखिएकाले समेत सङ्क्रमणको सम्भावित जोखिमको अवस्था नरहेको बताइन्छ ।
आयोजनालाई निर्धारित समयभित्र सम्पन्न गर्न अहिलेको असहज अवस्थामा समेत काम अघि बढाइएको छ । सरकारले तय गरेका सबै प्रकारका प्रोटोकलको पालना गर्दै निर्माण कार्यमा संलग्न मजदुरलगायत अन्य प्राविधिक कर्मचारी सेल्फ क्वारेन्टाइनमा बसेर सुरक्षित तरिकाले काम गरिरहनुभएको छ”, अध्यक्ष पोखरेलले भन्नुभयो ।
भराभरीमा आयोजनाको बाँध निर्माण गरी ६ हजार ४०० मिटर लामो भूमिगत पाइप बिछ्याएर पोखरा महानगरपालिका–१९सँग सीमा जोडिएको चिन्ते बगरमा निर्माण गरिने विद्युत गृहमा १८७ मिटर उचाइबाट खसालिने छ ।
आयोजनाबाट उत्पादित विद्युत् चार किमी दूरीमा रहेको गाउँपालिकाको वडा नं ४ लाहाचोकमा निर्माणाधीन सवस्टेशनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना छ ।
आयोजनाको सिभिल वर्कको जिम्मा रसुवा लुना जेभीले पाएको थियो । रु एक अर्ब २० करोड लागतमा २७ महिनाभित्रमा सम्पन्न गर्र्ने गरी गत माघमा सिभिल कन्स्ट्रक्सनको जिम्मा रसुवाले पाएको हो ।
सिभिल वर्कको कामसँगै आयोजनाको हाइड्रोमेकानिक, इलेक्ट्रोमेकानिकल्स र ट्रान्समिसन(प्रशासरण लाइन) को काम अघि बढाउन निर्माण व्यवसायी छनोटका लागि बोलपत्र आह्वान भइसकेको पोखरेलले जानकारी दिनुभयो ।
एक महिनापछि आयोजनाको कङ्क्रिटलगायत सबै क्षेत्रको निर्माण कार्य अघि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले गाउँपालिका तथा वडाबाट प्राप्त सहयोगले काममा ऊर्जा मिलेको बताउनुभयो ।
सो जलविद्युत् आयोजना निर्माण शुरु भएसँगै आयोजनाले स्थानीयवासीलाई समेत विभिन्न सहयोग गर्दै आएको छ । खेलकूद, शिक्षा र स्वास्थ्यका क्षेत्रका केही सहयोग गरिएको बताउँदै परियोजना प्रबन्धक पाण्डेले आयोजनामा रोजगारीका लागि स्थानीयवासीलाई प्राथमिकता दिइने बताउनुभयो ।
केही दिनअघि आयोजनाले गाउँपालिका र वडा नं २ को स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।
‘पर्यटन, कृषि, ऊर्जा र पूर्वाधार ः समृद्ध माछापुच्छ«ेको मूल आधार’ लाई अवलम्बन गरेको माछापुच्छ«े गाउँपालिकाले निर्माण शुरु गरिएको जलविद्युत् आयोजनालाई अघि बढाउन स्थानीय सरकारबाट आवश्यक सम्पूर्ण सहयोग उपलबध गराइने गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ बताउनुहुन्छ ।
कठिन अवस्थामा समेत आवश्यक सुरक्षाका उपाय अवलबम्वन गर्दै आयोजना सञ्चालन गराउनका लागि गाउँपालिका आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।
“गाउँपालिकाभित्र रहेका सेती, मर्दी र इदी नदीमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना छ, जलसम्पदाको उपयोग गरी विद्युत् उत्पादनका माध्यमबाट गाउँपालिकालाई समृद्ध बनाउने अभियानमा हामी छौँ । बाह्य लगानी आकर्षित गर्ने तथा आयोजना सञ्चालनका क्रममा आइपर्ने समस्या समाधानमा स्थानीय सरकार प्रतिबद्ध रहेको छ”, अध्यक्ष गुरुङले भन्नुभयो ।