इच्छाकामना गाउँपालिकाले आफ्नो पालिकाभित्र सञ्चालन हुने विकास निर्माणका काममा स्थानीय कामदारलाई प्राथमिकता दिनेभएको छ ।
अध्यक्ष गीता गुरुङले यसका लागि आफ्नो क्षेत्रमा भएका मजदुरको तथ्याङ्क अद्यावधिक गर्न वडा कार्यालयलाई पत्राचार गरिसकेको जानकारी दिनुभयो । त्यो तथ्याङ्क गाउँपालिकामा आएसँगै आफ्नो क्षेत्रमा के कस्ता र कति कामदार छन् पत्ता लाग्ने भन्दै उहाँले कामदारको क्षमताअनुसार काममा लगाइने जानकारी दिनुभयो ।
पालिकाभित्र रहेका स्थानीय, प्रादेशिक र सङ्घीय आयोजनाका ठेकेदारलाई पनि स्थानीय कामदार प्रयोग गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो क्षेत्रमा काम गर्दा स्थानीयवासीलाई प्राथमिकतामा राखेर काम गर्नुहोस् भनेका छौँ ।” यहीका कामदारले गर्न सक्ने कामका लागि बाहिरका कामदार ल्याउन नहुने उहाँको भनाइ छ ।
लकडाउनसँगै विभिन्न क्षेत्रबाट फर्किएका कामदारलाई पुनः फिर्ता हुनुपर्ने अवस्था भएमा गाउँपालिकामा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । अध्यक्ष गुरुङका अनुसार विभिन्न निर्माणका योजना शुरु भएकाले ती कामदारलाई फर्काउनुपर्ने भएमा आवश्यक पहल गाउँपालिकाले गर्नेछ ।
अन्य क्षेत्रमा काम गरेर हाल फर्किएका ५०० हाराहारी मजदुर रहेका छन् । उहाँका अनुसार गाउँपालिकाभित्रका आयोजनामा बाहिरबाट आएर काम गर्नेको सङ्ख्या एक हजारभन्दा बढी छ । सोही गाउँपालिका हुँदै पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन सडक खण्डजस्ता ठूला सडक पर्छन् । हाल ती सडकमा पुल निर्माण, मर्मतसम्हार, बायो इञ्जिनीयरिङ जस्ता काम भइरहेका छन् ।
यससँगै अन्य योजनामा पनि बाहिरका मजदुर कामका लागि आएका छन् । जिल्लाको एकमात्रै यस गाउँपालिकामा २७ हजार हाराहारीमा जनसङ्ख्या रहेको छ । जसमध्ये नौ हजारभन्दा बढी चेपाङ समुदाय छ । गाउँपालिकामा सातवटा वडा रहेका छन् । पालिकाको अधिकांश भाग पहाडी क्षेत्र पर्छ । स्थानीयवासी अधिकांश मजदुरीमा निर्भर छन् ।