प्रत्येक वर्ष किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइएको छ ।
बाली लगाउनुअघि गाउँ गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा किराँत समुदायमा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने हुनाले पनि यसको नाम उँभौली रहेको हो ।
वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी लगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाई छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको किराँत समुदायको चाडपर्वका विषयमा अनुसन्धातरत समाजशासत्री कीर्तिकुमार दुमी राईले बताउनुभयो । यस पर्वका अवसरमा चण्डी नाच समेत नाचिन्छ । यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।
किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । यस वर्ष डेढ महीनादेखि कोरोना भाइरसको संक्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण निश्चित मानिस मात्र बसेर पूजाको विधिमात्र पूरा गरिएको किराँत राई यायोक्खाका अध्यक्ष दिवस राईले बताउनुभयो ।
ललितपुरको सानो हात्तीवनमा रहेको साकेलास्थान जसलाई किराँत समुदायले पितृको पूजा स्थलका रुपमा मान्छन् त्यहाँ समेत पूजारीले विधिपूर्वक पूजा आराधना गरेको उहाँले बताउनुभयो । विगत वर्षमा हजारौँ मानिस हात्तीवनमा जम्मा भई चण्डी र साकेला नाचका साथमा प्रकृति र पितृको पूजा आराधना गरिन्थ्यो । यस वर्ष त्यसो गर्न नसके पनि पूजा विधि भने पूरा भएको यायोक्खाले जनाएको छ ।
खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ ।
किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण शुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन शुरु हुने दिन पारेर साउन १ गते मनाउने गरेको किराँत धर्मगुरु चन्द्रकुमार शेर्माले बताउनुभयो ।