कैलाली जिल्लाको टीकापुर नगरपालिका भारतको सिमानासंँग जोडिएको छ । भारतसंँग प्रत्यक्ष सिमाना जोडिएकाले भारतमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको त्रासले यस क्षेत्रका समुदायलाई पनि छोएको छ । यही डरले गर्दा नेपालतर्फ मानिसको आवतजावतलाई पनि निकै कडा पारिएको छ ।
सीमा नाकामा सशस्त्र प्रहरीले सुरक्षा गर्दै आएको छ । करिब ५०० मिटरको दूरीमा राखिएका सुरक्षा चौकीबाट सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सीमामा खटिएका नेपाली सुरक्षाकर्मी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को समन्वय राम्रो देखिन्छ । खक्रौला सुरक्षा क्पाम्पका सशस्त्र प्रहरी निरीक्षक चन्द्रदेव भट्ट भन्नुहुन्छ, दुवैतर्फ राम्रो समन्वय छ, हामीले आवतजावतलाई विशेषरूपमा निगरानी गरिरहेका छौँ ।
एकातर्फ विश्वव्यापी महामारीका रूपमा देखिएको कोरोना भाइरसको सङ्क्रमण भारतमा बढ्दै गएपछि यसले नेपाल र भारत दुवैतर्फ त्रास फैलाएको छ भने अर्काेतर्फ विशेषगरी खुला सिमाना भएका कारण भारत र नेपालको भूभाग छुट्याएर सुरक्षा प्रदान गर्न प्रहरीलाई पनि समस्या भइरहेको देखिन्छ । टीकापुर नगरपालिकाको सिमानामा छ वटा ठूला स्तम्भ छन् । अहिले ती छ वटा ठूला सीमास्तम्भमध्ये तीनवटा मात्र देखिन्छन् भने तीनवटा स्तम्भ नै हराएका छन् । ७०० नम्बर सीमास्तम्भबाट टीकापुर नगरपालिकाको सिमाना शुरु हुन्छ भने ७०६ नम्बरमा सीमा समाप्त हुन्छ । हालसम्म विभिन्न समयमा नदी कटानबाट नेपाल–भारत सीमा क्षेत्रका चार मुख्य सीमास्तम्भ र करिब आठ सहायक सीमास्तम्भ कर्णाली र मोहना नदी कटानमा परिसकेका छन् ।
कर्णाली नदीको कटानका कारण अहिलेसम्म ७०१ र ७०३ तथा मोहना नदी कटानका कारण ७०४ र ७०६ नम्बर सीमास्तम्भ नदीभित्र छन् । टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले वर्षात्मा कर्णाली नदी र मोहना नदीमा आउने बाढीले कटान गर्ने भएकाले सीमास्तम्भहरु पानीमा हराउने क्रम बढ्दै गएको बताउनुभयो ।
कर्णाली नदीमा अहिले पनि कटानका सुरु भएका कारण नेपाल–भारत सीमा क्षेत्रको सीमास्तम्भ नम्बर ७०१-१ कटानमा पर्ने खतरा देखिएको छ । कैलालीको दक्षिण–पूर्वी नेपाल–भारत सीमा क्षेत्रमा रहेको उक्त सीमास्तम्भ नदी कटान बढ्दै जाँदा जोखिममा परेको हो । नदी कटान दैनिक बढ्दै गएको र यस्तै अवस्था रहेमा केही दिनमै सो पिलर नदीमा पुग्ने खतरा रहेको छ । हाल श्रीलङ्का क्षेत्रमा भइरहेको कटानका कारण जोखिममा रहेको ७०१-१ नम्बर पिलरसम्म नदी पुग्न तीन फिट जति जमिन मात्र बाँकी छ । दैनिकरुपमा व्यापक कटान भइरहेका कारण सो पिलर जतिबेला पनि नदीमा जानसक्ने अवस्था रहेको स्थानीयवासी बताउँछन् ।
कर्णाली नदी कटानका कारण वर्षेनी सयौँ बिघा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको स्थानीय धर्मबहादुर चौधरीले बताउनुभयो । बर्दियाको राजापुर नगरपालिका क्षेत्रमा पर्ने श्रीलङ्काको भूभाग टीकापुर नगरपालिकाको भएका कारण बर्दियाले आफ्नो सीमा क्षेत्रमा मात्र तटबन्ध गरेको छ । टीकापुर नगरपालिका क्षेत्रमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजनाले बर्दियाको क्षेत्रमा आफूहरुको क्षेत्र नपर्ने भन्दै तटबन्ध गर्ने कामबाट पन्छिँदै आएको छ । स्थानीय धर्मबहादुर चौधरीले लकडाउनका कारण कैलालीबाट बर्दियामा आउन नपाउँदा सयौँ बिघामा लगाएको गहुँबाली अझै भित्र्याउन नसकिएको बताउनुभएको छ । उहाँले कैलाली कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै बर्दिया क्षेत्रमा पूर्ण रोक लगाउँदा टीकापुर क्षेत्रमा बसोबास गर्ने किसानले गहुँबाली भित्र्याउन नपाएको बताउनुभयो ।
नेपाल–भारतको सीमामा रहेका सीमास्तम्भको जोर–बिजोर प्रणालीमार्फत मर्मतसम्भार गर्ने निर्णय भएको नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताउनुभयो । “नेपालले बिजोर सङ्ख्याको सीमास्तम्भको मर्मतसम्भार गर्छ भने भारतले जोर सङ्ख्याको सीमास्तम्भको मर्मत गर्ने गरेको छ । नगरप्रमुख रावलले भन्नुभयो, “नेपालले बिजोर सङ्ख्याका सीमास्तम्भहरुको मर्मतसम्भार भएको छ तर भारततर्फबाट भने नभएको हुँदा समस्या देखिने गरेको छ ।”
भजनी नगरपालिकाको जसबहादुर घाटदेखि टीकापुर नगरपालिकाको श्रीलङ्का क्षेत्रसम्म करिब १५ किलोमिटर नेपाल–भारत सीमा क्षेत्र नगरपालिकाभित्र पर्दछ । सीमानाकाको विषयमा हालसम्म यो क्षेत्रमा खासै विवाद देखिएको छैन । टीकापुर नगरपालिकाको वडा नं ७ मा २१ बिघा भारतीय जग्गा पछिल्लो सीमाङ्कनको समयमा नेपालतर्फ आएको नगरप्रमुख रावलले बताउनुभयो । टीकापुर नगरपालिकाले सीमा सुरक्षा भवनका लागि श्रीलङ्का क्षेत्रमा सात कठ्ठा र सत्ती भन्सार नजिकै चार बिघा जग्गा छुट्याइएको नगरप्रमुख रावालले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशका सांसद तथा प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलसहितको टोलीले विश्व महामारीका रूपमा फैलिएको कोरोना भारसको रोकथामका लागि सीमाक्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सीमा क्षेत्रको अनुगमनसमेत गरेको छ । प्रदेश सांसद रावलले सीमा क्षेत्रमा सुरक्षाकर्मीलाई कडाइका साथ काम गर्न निर्देशनसमेत दिनुभएको छ ।
टीकापुर नगरपालिकाको सीमा क्षेत्रमा छ वटा सशस्त्र प्रहरीको बेसक्याम्प रहेका छन् । टीकापुर नगरपालिका–७ कालाकुण्डास्थित सशस्त्र प्रहरीको अस्थायी बेस क्याम्पमा १२ जना सुरक्षाकर्मी कार्यरत छन् । बस्तीबाट निकै टाढा रहेको बेस क्याम्पमा कार्यरत सुरक्षाकर्मीलाई पिउने पानी, विद्युत्, शौचालय, खानालगायतको पनि समस्या देखिन्छ । नगरपालिकाको वडा नं ९ चौगुर्दी र वडा नं ८ को श्रीलङ्कालगायतका सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई खानेपानी र शौचालयकै पनि समस्या रहेको छ ।
टीकापुर नगरपालिकामा पर्ने सत्ती भन्सार कार्यालयबाट कोइलाबाहेक अरु कुनै पनि सामानको आयात भएको छैन । भन्सार कार्यालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएका छन् । त्यस्तै भजनी नगरपालिकामा पनि छ वटा अस्थायी क्याम्प स्थापना गरिएको छ । त्यहाँका सुरक्षाकर्मीको अवस्था पनि त्यस्तै छ । एकबाट अर्को देखिने गरी अस्थायी क्याम्पहरु स्थापना गरिएको भए पनि नदीको किनारमा र जङ्गल क्षेत्रमा बस्नुपर्ने भएकाले थुप्रै समस्या झेल्नुपर्ने बाध्यता रहेको छ । नगरप्रमुख शेरबहादुर चौधरीले नगर क्षेत्रभित्रको नेपाल–भारत सीमानाकाको समय–समयमा निरीक्षण गर्दै आएको बताउनुभएको छ । “ठाउँ–ठाउँमा सीमा सुरक्षा बल खटाइएको छ । हामीले पनि अनुगमनलाई तीव्र बनाएका छौँ ।” नगरप्रमुख चौधरीले खुला सिमानाका कारण उच्च जोखिममा रहेको बताउनुभयो । यतिखेर भने सीमा क्षेत्रमा भारतबाट अरु कुनै असुरक्षा पैदा गर्ने तत्वभन्दा पनि सङ्क्रमितहरु भारतबाट आइहाल्ला भन्ने त्रास यहाँको समुदायमा छ ।
कैलाली जिल्लामा ५२ अस्थायी क्याम्प र १२१ वटाभन्दा बढी सेन्ट्र«ी पोष्ट स्थापना गरी सीमा सुरक्षा गर्दै आएको सशस्त्र प्रहरी बल ३४ नं गण कैलालीका प्रहरी उपरीक्षक कमल तिमिल्सिनाले बताउनुभयो । सीमा सुरक्षामा कडाइ गरिएको भए पनि खुला सीमा भएकै कारण जतिबेला पनि भारतबाट अवैधरूपमा मानिस नेपाल भित्रन सक्ने भन्दै स्थानीयवासी त्रसित भइरहेका छन् ।