भेरीगङ्गा नगरपालिका–४ सुर्खेतका किसानका गहुँबाली लगातारको वर्षात्ले बारीमै कुहिन थालेको छ ।
हर्रे, मसिना, सानो हर्रे, हान्ने सिमल, अमलसेनी, खोर्रे, मुरलीगाउँका १६२ घरधुरी किसानको गहुँबाली नष्ट भएको सोही वडाका स्थानीय किसान हेमन्तप्रकाश ओलीले जानकारी दिनुभयो । “हाम्रो ४६२ रोपनी क्षेत्रफलमा लगाएको गहुँबाली भित्र्याउन नपाएर बारीमै कुहिएको छ”, उहाँले भन्नुभयो, “यसबाट ७५१ क्विन्टल ९७५ मेट्रिकटन० क्षति भएको छ ।”
मुखमा हाल्ने बेलाको गाँस नै खोसिँदा यहाँका किसान पुर्पुरोमा हात लगाउनुपर्ने बाध्यता आइलागेको उहाँले बताउनुभयो । उहाँका अनुसार कोरोना भाइरसको जोखिम भन्दा भोकमारीले मर्ने डर उब्जिएको छ । यसबाट गहुँबालीमा निर्भर यहाँका करिब एक हजार जनसङ्ख्या प्रभावित हुने उहाँको भनाइ थियो ।
त्यस्तै अर्का कृषक झकबहादुर खत्रीले गहुँबाली पाकेर भित्र्याउने समयमा निरन्तर वर्षा भएपछि स्याहार्न नसकिएको बताउनुभयो । “पानी आएपछि गहुँ बारीमै ढल्यो, कुहियो र त्यही कुहिएको बालोबाट पुन गहुँ उम्रन थाल्यो । तर भित्र्याउने कुनै सीप भएन”, खत्रीले भन्नुभयो । कोरोनाको महामारीका साथै लकडाउनले अबको उत्पादनमा कमी आउने उहाँले बताउनुभयो ।
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले क्षतिको विवरण सङ्कलन गर्न त्यहाँका किसानलाई सुझाउनुभएको छ । किसानको वास्तविक समस्यालाई बुझेर सक्दो राहत सहयोग गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले स्थानीय किसानलाई बर्खेबाली उत्पादनमा जोड दिन आग्रह गर्दै उत्पादित कृषि उपज बजारीकरण हुन नसके सरकारले सहजीकरण गर्ने जनाउनुभएको छ ।