बन्दाबन्दीका कारण रोकिएको कयन–रानीबास, रानीबास—कोटथर खानेपानी आयोजना पुनः सञ्चाल भएको छ । कोभिड—१९ को जोखिम सङ्क्रमणबाट बच्न गरिएको बन्दाबन्दीले पाल्पाको रम्भा गाउँपालिका –२ मा सञ्चालित उक्त आयोजनाको काम रोकिएको थियो । बन्दाबन्दीपछि पाइप बिच्छ्याउने, पुर्ने, ट्याङ्की निर्माण गर्ने, वितरण प्रणालीको पाइप खन्ने जस्ता काम अवरुद्ध थियो ।
स्थानीय कामदार व्यवस्थापन गरी बन्दाबन्दीको पालना गर्दै पानी सङ्कलनका लागि ट्याङ्की निर्माणको काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र पाँडे मगरले बताउनुभयो ।
गाउँका सबै घरघरमा खानेपानीको पहुँच पु¥याउन ‘एक घर एक धारा’ अभियान कार्यक्रमअन्र्तगत आयोजनाका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले रु नौ लाख विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । आयोजना सम्पन्न गर्न स्थानीय उपभोक्ताबाट रु चार लाख सङ्कलन भएको छ । सो आयोजनाबाट कोटथर गाउँसहित वडा कार्यालय गरी ५९ घरधुरीका करीब पाँच सय बासिन्दा लाभान्वित हुनेछन् ।
माथिल्लो भेगमा मानिसको बसोबास रहेको हुदाँ बस्तीदेखि तलबाट लिफ्ट गरेर गाउँमा पानी लगिने भएको छ । खानेपानीको अभाव झेल्दै आएका यहाँका बासिन्दालाई २० हजार लिटर क्षमताको ट्याङ्की निर्माण भई घरघरमा पानी पुगेपछि धेरै सुविधा पुग्नेछ । आयोजना सञ्चालनका लागि वडा कार्यालयबाट आवश्यक सहयोगसमन्वय गरिएको र छिट्टै सम्पन्न गरी घरघरमा पानी लैजाने वडाध्यक्ष उमानसिंह सारुले बताउनुभयो । आयोजनाबाट ७२ मिटर उचाइ र ७७० मिटर टाढा रहेको कोटथरको भूयारथानसम्म पानी लगिने छ ।
व्यावसायिक पशुफार्मलाई अनुदान
पशुजन्य उत्पादन बढाउन रम्भा गाउँपालिकाले व्यावसायिक पशुफार्मलाई अनुदान उपलब्ध गराएको छ । गाउँ कार्यपालिकाले कार्यविधि तयार पारेर पशु उत्पादन बढाउन र यसैबाट कृषकलाई आत्मनिर्भर बनाउन व्यावसायिक फार्मलाई अनुदान वितरण गरेको हो ।
व्यावसायिक पशुपंक्षी अनुदान कार्यक्रमअन्तर्गत चार बंगुर फार्म, छ लेयर्स कुखुरा फार्म, पाँच बाख्रा फार्म र छ गाईभैँसी फार्मलाई अनुदान उपलब्ध गराइएको छ । प्रतिबंगुर फार्मका लागि रु ५० हजार, लेयर्स कुखुरा फार्मलाई रु २० हजार तथा बाख्राफार्म र गाईभँैसीफार्मलाई रु एकएक लाख अनुदान प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अनुदान कार्यक्रममा सहभागी हुन कृषकले बंगुरफार्मको हकमा कम्तीमा १० बंगुर, तीन सय कुखुरा, ५० बाख्रा र पाँच गाईँभैसी पाली दर्ता गर्नुपर्नेछ ।
गाउँपालिकाको पशु शाखामा बाख्राफार्म १४, गाईभैँसी फार्म १५, बंगुर फार्म १७ र लेयर्स कुखुरा फार्म छ दर्ता भई सञ्चालनमा रहेको शाखा प्रमुख मिनबहादुर कार्कीले बताउनुभयो ।
व्यावसायिक पशुपक्षी फार्म बढाउने कार्यक्रमअन्तर्गत गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा रु३५ लाख विनियोजन गरेको छ । सोअन्तर्गत व्यावसायिक फार्मलाई अनुदान, खोप, पशु आहारका लागि घाँस व्यवस्थापनलगायत कार्यक्रम गाउँपालिकाले कृषकबीच पु¥याएको छ ।
रामपुर नगरपालिकाले पशु शाखा कार्यालयबाट कार्यक्रम सञ्चालन गर्ने गरी आाव २०७६÷०७७ मा रु दश लाख विनियोजन गरेको छ । पशुआहारका लागि वर्षे तथा हिउँदे घाँसको बीउ वितरण, पशुस्वास्थ्य शिविर, बाख्रापालन तालीलगायत कार्यक्रम गरिएको पशु शाखा प्रमुख तुल्सीराम काफ्लेले बताउनुभयो ।
नगरपालिकाले पशु उत्पादन बढाउनका लागि युवा स्वरोजगार कार्यक्रमअन्तर्गत अनुदान कार्यक्रमसमेत सञ्चालन गरेको छ । दुई वर्षसम्मका लागि व्याज अनुदानस्वरुप पहिलो चरणमा कृषि र पशुमा ३० युवामाझ कार्यक्रम सञ्चालन गरिएको सूचना अधिकारी रामहरि पाण्डेयले बताउनुभयो ।
दोस्रो चरणको कार्यक्रमका लागि युवाबाट निवेदन सङ्कलन भइसकेको र सम्झौता गर्न बाँकी रहेको उहाँको भनाइ छ । नगरपालिकाले रु १२ लाखसम्मको व्याज अनुदान उपलब्ध गराउने भए पनि अहिले छनाटमा परेका व्यवसायीले रु १० लाखसम्म बैंकबाट ऋण लिएको पाइएको छ । कुखुरापालनका लागि व्यक्तिगत कम्तीमा ५०० कुखुरा र सामूहिक कम्तीमा तीन हजार कुखुरा (लेयर्स जातको हकमा दुई हजार) पाल्ने योजनासहित कुखुरा अट्ने भौतिक संरचना भएको वा सोही संरचना बन्ने जग्गा हुुनुपर्नेछ ।
माछा पोखरीका हकमा व्यक्तिगत दुई रोपनी र सामूहिक १० रोपनीमा हालसालै निर्माण भएको वा निर्माण गर्न सकिने जग्गा हुनुपर्नेछ । बाख्रापालनका हकमा व्यक्तिगत १० माउ र सामूहिक १०० बाख्रापालन गर्नुपर्ने, मौरीपालनका लागि व्यक्तिगत २० घार र सामूहिक १०० घार हुनुपर्ने, च्याउ खेतीमा व्यक्तिगत तीन डुमहाउस र सामूहिक १० डुमहाउस, बंगुरपालनमा व्यक्तिगत पाँच माउ र सामूहिक २५ माउ हुनुपर्ने तथा गाईभैँसीमा व्यक्तिगत पाँच माउ र सामूहिक २० माउ हुनुपर्नेछ ।
तरकारी, फलफूल खेती, नर्सरी स्थापना वा नवीन कृषि प्रविधिका हकमा व्यक्तिगत कम्तीमा दुई रोपनी जग्गामा एकै खेती वा सामूहिक रुपमा दश रोपनीमा खेती गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । सो कार्यक्रममा २१ वर्ष उमेर पूरा भई ५० वर्षभित्रका व्यक्तिलाई मात्र समावेश गरिएको छ । चालु आर्थिक वर्षमा पनि नगरपालिकाले युवा स्वरोजगार कार्यक्रमकै लागि रु ४० लाख विनियोजन गरिसकेको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।