सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि आगामी जेठ ५ गतेसम्म लकडाउनलाई कायम गरेपनि विकास निर्माणका काम खुल्ला गर्ने निर्णय गरेको छ ।
बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकका बारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलन सरकारले गरेको निर्णयका बारेमा जानकारी दिँदै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सो जानकारी दिनुभएको हो । सरकारले कोरोना भाइरस फैलिने सम्भावना देखिएकाले आगामी जेठ ५ गते सोमबार मध्यरातिसम्म लागू हुने गरी लकडाउन कायम गर्ने निर्णयसमेत गरेको छ ।
सरकारले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन छिमेकी मित्र राष्ट्रहरु र अन्य राष्ट्रहरुले चालेको कदमको अनुभवबाट सिक्दै सबैलाई सुरक्षित राख्न अन्तराष्ट्रिय नाका, खुल्ला सिमाना र अन्तराष्ट्रिय उडान आगामी जेठ १८ गते आइतबार मध्यरातिसम्म यात्रुको आवागमन स्थगित गर्ने निर्णय गरेको छ । घोषित लकडाउन उल्लंघन गर्नेलाई कानूनबमोजिम कारबाही गर्ने समेत निर्णय भएको छ ।
बैठकले नेपाली जनताको जीवन रक्षाका लागि गरिएको लकडाउनको पालना गर्ने सबै नेपालीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि त्यसको पालना गर्न अनुरोध गरेको छ । सरकारले लकडाउनका अवधिमा औषधि, स्वास्थ्य सामाग्रीजस्ता अतिआवश्यक बस्तुको उत्पादन तथा विक्रीवितरण, खाद्य, कृषिजन्य, पशुजन्य उत्पादन तथा विक्रीवितरण, औद्योगिक बस्तुको उत्पादन तथा विक्रीवितरण गर्न भने दिने भएको छ ।
साथै, विकास आयोजनाको सञ्चालनका लागि आवश्यक पर्ने ढुङगा, गिटी र बालुवालगायतको निर्माण सामाग्रीको ढुवानी र न्यूनतम बैङ्किङ तथा वित्तीय संस्था सञ्चालन गर्न केन्द्रीय कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर र प्रदेशस्तरीय कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरसँग आवश्यक समन्वय गरी सम्बन्धित जिल्लाको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले संक्रमणको जोखिमको अवस्थाको मुल्याङन गरी, स्वास्थ्य सुरक्षाको पालना गरी सामाजिक दुरी कायम गरी निम्न कार्यहरु गर्न दिने निर्णय गरेको हो । सरकारले सञ्चालन गर्न अनुमति दिएका क्षेत्रहरु निम्न छन् ः
कृषि तथा पशुपन्छीसम्बन्धी ः
सरकारले खाद्य बस्तु र बाली लगाउने, पाकेको बाली भित्र्याउने कार्य, पशुपन्छीपालन, माछा, कुखुरापालन र विक्रीविरतण, फलफूल तरकारी उत्पादन तथा विक्री विरतण, दुग्धजन्य बस्तुको उत्पादन, संकलन, भण्डारण र विक्रीवितरण, नर्सरीबाट बिरुवा उत्पादन, घाँस तथा दाना उत्पादन र विक्रीविरतण, कृषि बीउविजन उत्पादन, भण्डारण र विक्री वितरण गर्न पाउने व्यवस्था गरेको छ ।
स्वास्थ्यसम्बन्धी ः
सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरु अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, ल्याव, डायग्नेस्टिक सेन्टर, सबैप्रकारका खोप, अक्सीजनको उत्पादन तथा विक्रीवितरण, औषधि पसल, आयुवेर्दिक र होमियोप्याथिक सञ्चालन, एग्रोभेट र भेटेनरी सञ्चालन खोल्न अनुमति दिने निर्णय गरेको छ । त्यसैगरी, जनक शिक्षासामाग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तक विक्रीवितरण गर्न अनुमति लिएका पुस्तक पसलहरु खोल्ने दिने निर्णय भएको छ ।
ढुवानी सेवा..
सरकारले भन्सार बिन्दु र उद्योग व्यवसायीले निसंक्रमित गरी सञ्चालकले सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ । कृषि तथा पशुपन्छीजन्य, स्वास्थ्य सेवासँग सम्बन्धि ढुवानी साधन, भन्सारबाट जाँचपास भई आएका उद्योग मालसामान बोक्न अनुमति दिइएको छ ।
त्यस्तै, पानी, ग्यास, पेट्रोलियम पदार्थ, औधोगिक कच्चा पदार्थ र तयारी मालवस्तु, विकास आयोजनामा प्रयोग हुने उपकारण लाने र ल्याउने, कृषि सामाग्री एव्म प्राङ्गारिक मल बोकेका साधन, एम्बुलेन्स सेवा, जनक शिक्षा सामाग्रीले अनुमति दिएका विद्यालयका पाठ्यपुस्तक ढुवानी गर्ने अनुमित दिइएको छ ।