बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन तथा विश्व शान्ति प्रार्थना गरिएको छ । सामाजिक दूरी कायम गरेर मायादेवी मन्दिर परिसरमा आज बिहान विहारका भिक्षु र गुरुआमाले कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको चिरशान्तिको कामना तथा संक्रमितको स्वास्थ्यलाभको काम गर्दै प्रार्थना गर्नुभयो ।
अहिले साँझ मायादेवी मन्दिर परिसरमा लुम्बिनी विकास कोषका पदाधिकारी, विहारका भिक्षु, गुरुआमा र केही स्थानीयवासीको सहभागितामा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ । गुरुआमाहरुले महापरित्राण पाठसमेत गर्नुभयो ।
यही वैशाख २५ गते बुद्ध जन्मस्थलमा मनाइने २५६४ औँ बुद्धजयन्तीका सबै औपचारिक कार्यक्रम स्थगन गरिए पनि आजदेखि तीन दिनसम्म दीप प्रज्वलन, पूजा र प्रार्थना गरिने कोषका कामु सदस्य सचिव ज्ञानिन राईले जानकारी दिनुभयो । “बुद्धजयन्तीका अवसरमा मायादेवी मन्दिरमा बिहान प्रार्थना र साँझ दीप प्रज्वलन गर्छाँै, कोरोना भाइरसले गर्दा औपचारिक कार्यक्रम स्थगन गरिए पनि सामाजिक दूरी बनाएर पूजा र प्रार्थना गरिएको छ”, उहाँले भन्नुभयो ।
बुद्धजयन्तीका दिन बिहीबार दुई हजार ५६४ दीप प्रज्वलन गर्ने तयारी गरिएको कामु सचिव राईले बताउनुभयो । ‘नेपालः भगवान् गौतम बुद्धको जन्मस्थल, बौद्धधर्मको उद्गम भूमि तथा विश्व शान्तिको मुहान’ भन्ने नारासहित बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेल मनाउने तयारी गरिए पनि कोरोना संक्रमणका कारण स्थगन गरिएको हो ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि गरिएको बन्दाबन्दीले कार्यक्रमको तयारी गर्न नसकिने र जोखिम बढ्ने भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा विकास कोषले सबै कार्यक्रम स्थगन गरेको हो । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।