सबै मानिस कोरोना सन्त्रासले जकडिएका बेला महोत्तरीको जलेश्वर नगरपालिकामा भने सौन्दर्य लहलहाएको छ । नगर क्षेत्रको भिठ्ठामोर–जलेश्वर–जनकपुर सडकको आगेपुरदेखि भिठ्ठामोरसम्म र जलेश्वर बजारक्षेत्रका सडक किनारमा रोपिएका विभिन्न जातका बिरुवा लकडाउन अवधिमै हलक्क बढेपछि नगरको सौन्दर्य बढेको हो ।
आगेपुरदेखि भिठ्ठामोरसम्म १० किलोमिटर र जलेश्वर बजारक्षेत्रको छ किलोमिटर दूरीका सडक किनारमा विभिन्न १३ प्रजातिका बिरुवा रोपेर घेराबेरा लगाएलगत्तै शुरु भएको लकडाउन यिनका लागि वरदान भएको छ । यस अवधिमा लगातार भएको हिंउँदे वर्षा र आवागमन बन्दले बिरुवा हुर्कन मद्दत पुगेको जलेश्वर–५ का बासिन्दा बजरङ्ग नेपाली बताउनुहुन्छ । नेपाली काँग्रेसका महासमिति सदस्यसमेत रहनुभएका नेपालीले लकडाउन अवधिको प्रदूषणमुक्त अवस्था बिरुवा हुर्कन उपयुक्त अवसर बनेको बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), जलेश्वर नगरपालिका र जिल्लाबाटै प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यद्वयको आर्थिक सहयोगमा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासले ‘जलेश्वर हरित अभियान’अन्तर्गत यो अभियान सञ्चालन गरेको हो । यस अभियानका लागि जलेश्वर नगरपालिकाले रु एक करोड ७५ लाख, युएनडिपीले रु एक करोड २९ लाख ७५ हजार र प्रदेशसभा सदस्यद्वय रानीशर्मा तिवारी र अभिराम शर्माको प्रदेशसभा क्षेत्र विकास कोषबाट रु ३५ लाखसहति जम्मा रु तीन करोड ३९ लाख ७५ हजार रकम जुटेको मञ्चका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ ।
नगरका वडा नं २, ३, ४, ५, ६ र ८ समेटिएको यस अभियानमा रोपिएर अहिले हुर्कँदै गरेका १३ जातका तीन हजार ८०० बिरुवाले जलेश्वरको स्वरुप नै फेरेको छ । “बिरुवा त के–के नाउँमा यसअघि पनि नरोपिएका हैनन्, तर, सुरक्षा प्रबन्ध (तारजालीको घेराबेरा) नहुँदा तिनका चिनाचपेटा केही रहेनन्”, जलेश्वर–१ का बासिन्दा स्थानीय सामाजिक, राजनीतिक कार्यकर्ता सुधीर साहले भन्नुभयो, “यसपालि भने बिरुवा रोपिएसँगै घेराबेरा गरिएको हुँदा जता निस्के पनि हराभरा देखिएको छ ।
जलेश्वरमा हुर्कँदै गरेका यी बिरुवामा नीम, राजवृक्ष, कपुर, पारिजात, रुद्राक्ष, समी, छतिवन, गुलमोहर, निलमोहर, वीरेन्द्र पूmल, एर्केरिया, कल्की, एरिकापाम र फिस्टेलपामसहित रहेका छन् । रोपिएका सबै बिरुवा तारजालीले घेरिएका र वृक्षरोपण क्षेत्रमा सडक सौर्य ऊर्जा जडान गरिएको हुँदा बिरुवा सुरक्षित हुनसकेको जलेश्वर नगरवासी बताउँछन् । जडित सौर्यऊर्जाले अँधेरी रातमा पनि झलमल्ल उज्यालो हुने भएपछि सुरक्षा प्रबन्धमा थप सहज भएको छ ।
वृक्षरोपण गरिएका ठाउँमा फोहर राख्ने ठूल्ठूला भाँडा (डस्टविन) राखिएपछि बाटो हिँड्नेहरु पनि त्यसैमा फोहर राख्न थालेका जलेश्वर–२ का वडाध्यक्ष वरुण दाहाल बताउनुहुन्छ । अहिले वृक्षरोपण क्षेत्रमा २२५ यस्ता डस्टविन राखिएका छन् । फोहर उत्सर्जन र ब्यवस्थापनको कुरामा भने धेरै काम गर्न अझै बाँकी रहेको दाहालको भनाइ छ ।
जलेश्वरमा अहिले हुर्कँदै गरेका बिरुवाले बाटो हिँड्ने जोसुकैको ध्यान खिच्ने गरेको छ । कामविशेषले जिल्ला सदरमुकाम जलेश्वर जाँदा त्यहाँ हुर्कँदै गरेका बिरुवा र तिनको सुरक्षा प्रबन्धमा भएको कामले बल्ल केही काम थालिएछ भन्ने परेको भङ्गाहा नगरपालिका–१ का वडाध्यक्ष नवलकिशोर कापरले बताउनुभयो ।
यसैबीच जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रले हरित अभियान नगरका सबै वडामा विस्तार गरिने जनाउनुभएको छ । हाम्रो यो कामले राम्रो चर्चा र वास्ता पाएको छ”, नगरप्रमुख मिश्रले भन्नुभयो, “अभियानमा सहयोगी हात थपिने विश्वास पाएका छौँ, यसलाई निरन्तरता दिइने छ । बिरुवाको संरक्षण र रेखदेखमा सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) को चासोले सहयोग पुगेको नगरप्रमुख मिश्र बताउनुहुन्छ । (रासस)