ठेचोका सुन्दर महर्जन केही दिनअघि एउटा हातमा कोदाली र अर्काे हातमा पानीको बोतल बोकेर खेत जाँदै गर्दा भेटिनुभयो । उहाँ गत साता छरेको धानको बीउमा पानी लगाउन जान लाग्नुभएको थियो । बन्दाबन्दी (लकडाउन) ले आफूलाई खासै असर नगरेको उहाँको भनाइ छ । शहरी क्षेत्रका मानिसलाई दिन बिताउनै गाह्रो भएको भनिरहेका बेला उहाँलाई त्यस्तो छैन । उहाँले भन्नुभयो, “आफ्नो काम ग¥यो खायो मलाई लकडाउनले कुनै असर गरेको छैन ।”
देशभर ‘लकडाउन’ घोषणा भएको ४२ दिन पुगिसक्यो काठमाडौँका आसपासका क्षेत्र (काँठ क्षेत्र) का किसानमा भने यसको कुनै असर देखिँदैन । अहिले खेतबारीमा काम गर्ने समय भएकाले होला उनीहरु दिनभर खेतीमै बिताउने गरेका छन् । खेतमा आलु खन्ने, गहुँ रोप्ने र बारीमा मकै छर्ने काममा लागिरहेको देखिन्छ । यस क्षेत्रमा तरकारीखेती व्यावसायिकरुपमा नै गर्ने धेरै छन् । लकडाउनको पहिलो साता तरकारी बेच्न नपाए पनि अहिले तरकारी बजार गइरहेको उनीहरु बताउँछन् । पशुपालन गर्नेहरु पनि दूध नियमितरुपमा बेचिरहेका छन् ।
शहरी क्षेत्रमा बहालमा बस्ने धेरै भए पनि काँठ क्षेत्रमा बहालमा बस्ने कम छन् । अधिकांश आफ्नै घरमा बस्ने भएकाले होला साविकको जस्तै दिनचर्या चलिरहेको काँठ क्षेत्रमा बस्नेहरु बताउँछन् । आफ्नो घर आँगनदेखि खेतबारीसम्म हिँड्न पाएकाले शहरी क्षेत्रमा जस्तो यहाँ उनीहरुले थुनिएको महसुस गरेका छैनन् । शहरी क्षेत्रमा सबै कुरा किन्न बाहिर निस्कनु परे पनि यस क्षेत्रमा धेरैलाई आफ्नो खेतबारीमै आवश्यक तरकारी फल्ने हुँदा पनि बाहिर निस्कनु परेको छैन ।
मुख्य सडक क्षेत्रमा बाहेक अधिकांश स्थानमा सामान्य दिनचर्या नै रहेको चापागाउँका विष्णुप्रसाद तिमल्सिनाले बताउनुभयो । कार्यालय जाने कर्मचारी र व्यापारीलाई असर परे पनि गाउँघरमै काम गर्नेलाई कुनै असर नपरेको उहाँले बताउनुभयो । विगतमा यस क्षेत्रमा स्थानीयवासी आफू खेतबारीको काम नगर्ने र ज्याला दिएर अरुलाई काम लगाउने भए पनि त्यसमा भने परिवर्तन आएको छ । यो समयमा सबैले काम गर्नुपर्छ भन्ने मानसिकताका साथ घर वरिपरिका करेसाबारी र बाँझो जमिनसमेत खनेर उत्पादन गरिरहेका छन् । प्लटिङ गरी व्यापारका लागि सम्याएका बाँझो जमिनमा समेत अहिले धमाधम खनजोत भइरहेको छ । उहाँले भन्नुभयो, “एकातिर ज्यालामा काम गर्नेहरु आ–आफ्नो घर फर्किए र अर्कातिर परिवारका सबै घरमै भएकाले परिवारका सदस्य मिलेर काम गरेको पाइन्छ ।”
काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ निवासी ७१ वर्षीया लक्ष्मी कुइँकेलले सामाजिक दूरी कायम गरी आफ्ना क्षेत्रमा धमाधम खेतीबारीको काम गरिरहेका बताउनुभयो । काम नपर्दा घरबाट बाहिर ननिस्कने तर चाहिने कुरा किन्न कुनै अवरोध नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दिनहुँ चाहिने खानेकुरा किन्न जान कसैले रोकेका छैनन् ।”
ललितपुर जिल्लाका तीन गाउँपालिका वाग्मती, कोञ्जेसोम र महाङ्कालमा पनि दैनिक काममा लकडाउनले खासै असर नगरेको स्थानीयवासीले जानकारी दिएका छन् ।
देशका अरु जिल्लामा जस्तै शहरी क्षेत्रमा रोजगारी वा अध्ययनका लागि बस्नेहरु घर फर्किएका छन् । यहाँ कृषि र पशुपालनका काममा कुनै अवरोध नभएको महाङ्काल गाउँपालिकाका वडाध्यक्ष रामचन्द्र दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक उत्पादन हुने दूध, तरकारीलगायतका वस्तु दैनिक व्यापारका लागि बजार ल्याउने व्यवस्था गरिएको छ ।”
गाउँघरमा पशुपालन र कृषिमा लकडाउनको प्रभाव कम रहेको स्थानीयवासी दीपक घिमिरेले बताउनुभयो । भौगोलिक विकटताका कारण पातलो बस्ती भएकाले दैनिक गर्ने काममा खासै प्रभाव नपारेको उहाँले बताउनुभयो । सरकारले भनिरहेको सामाजिक दूरी ग्रामीण क्षेत्रमा सामान्य अवस्था नै पालना भइरहेको उहाँको भनाइ छ । अरु समयमा गाउँ भनेर हेला गरिए पनि यस्ता सङ्कटको समयमा शहरभन्दा गाउँ नै उपयुक्त हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “शहरमा बस्नेलाई पैसा भए पनि किनेर खान पाइएला नपाइला भन्ने चिन्ता छ तर हामीलाई त्यस्तो छैन ।”
पहिले बजारको समस्या हुने गरेको भए पनि अहिले तरकारीका लागि बजारको समस्या नभएको भक्तपुर सुडालकी सरस्वती थापाले बताउनुभयो । बजारमा अहिले तरकारीको मूल्य भने असाध्यै कम भएको उहाँको भनाइ छ । लकडाउन शुरु हुनासाथ बेच्ने समय भइसकेको काउली उहाँ अहिले बेचिरहनुभएको छ । तर काउलीको भाउ भने प्रतिकिलो रु १० मात्रै पाएको उहाँले बताउनुभयो । साग रोप्ने जमिन तयार पार्दै गर्नुभएकी उहाँले यो साग भने आफ्नो परिवारलाई मत्र पुग्नेगरी रोप्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दुःख गरेर रोप्यो बेच्ने बेलामा बीउ, मल र ज्याला नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सरकारले लकडाउन जारी राख्दा काँठका कतिपय स्थान र नागरिकबाट यसको उल्लङ्घन भइरहेको पनि देखिन्छ । यस क्षेत्रमा अत्यावश्यकबाहेकका पसलसमेत खुल्नाका साथै मानिसहरु समूहमा जम्मा भएको चिया पसल र चौतारीमा देख्न सकिन्छ । दशैँ, तिहारलगायतका चाडपर्वको समयमा जस्तै युवा जम्मा हुने तास खेल्ने वा गफ गरेर समय बिताउने गरेको पाइन्छ । कतिपय भने साथी भेट्न वा आफन्तकहाँ जान भन्दै दिनभर हिँडिरहेको पनि देखिन्छ । प्रहरीको उपस्थिति कम भएकाले पनि यस क्षेत्रमा घरभित्रै बस्ने भन्ने पालना नभएको पाइन्छ ।
उपत्यकाका तीन जिल्लामा नै भीडभाड पहिलेभन्दा कम भए पनि भीडभाड गर्नु हुँदैन भन्ने नागरिकले नबुझेको पाइएको छ । कतिपयले भने शहरी क्षेत्रमा जस्तो भीड नहुने र बाहिरबाट कोही आउनासाथ जानकारी हुने भएकाले पनि यहाँ बाहिर निस्कन जोखिम नभएको बताउँछन् । खाद्यान्नको पसलसँगै चिया पसल, खाजा घरजस्ता पसलसमेत यो समयमा खुलेको देखिन्छ ।