एक महिना बढी भारतीय क्वारेन्टाइनमा बसेर नेपाल फर्केकाहरु खुसी भएका छन् । कोरोनाको त्रासकाबीच जन्मभूमिमा आउन पाउँदा निकै खुसी लागेको बैतडी पुर्चौंडी नगरपालिका–८ का उत्तम बोहराले बताउनुभयो । विदेशी भूमिको क्वारेन्टाइनमा बस्न निकै समस्या भएका बेला स्वदेश फर्कन पाउँदा आफूहरु हर्षित भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “विपत्तिको बेला स्वदेश फर्कन पाउँदा निकै खुसी लागेको छ ।” भारत र नेपाल दुवै देशमा लकडाउन भएपछि भारतीय सीमा क्षेत्रमा हजारौँ नेपाली भारतीय क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई बिहीबार मात्रै स्वदेश फर्काइएको हो ।
स्वदेश फर्कन पाउँदा खुसी लागेको डिलाशैनी गाउँपालिका–६ रमेशराम ओडले बताउनुभयो । मातृभूमिमा पाइला टेक्न पाउँदा निकै खुसी लागेको र आफूहरुलाई स्वदेश ल्याउन पहल गर्ने सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ । बैतडीको पुर्चौैंडी नगरपालिका–८ का वीरेन्द्र पाठकले भन्नुभयो, “विदेशीभूमिमा बस्नुभन्दा स्वदेशको क्वारेन्टाइनमा बस्नु धेरै राम्रो छ ।”
झुलाघाट नाकाबाट र धारचुला नाकाबाट फर्केका नेपालीहरुलाई सम्बन्धित स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेका छन् । झुलाघाट नाकाबाट बैतडीका ७९० जना फर्किएका थिए । झुलाघाट नाका पारी गत चैत १५ गतेदेखि नेपाली मजदूर बसेका थिए ।
क्वारेन्टाइन अनुगमनमा तीव्रता
सीमावर्ती भारतीय क्षेत्रबाट नेपाली स्वदेश फर्किएपछि बैतडीका स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनको अनुगमनमा तीव्रता दिइएको छ । गत बिहीबार भारतबाट फर्केका नागरिक क्वारेन्टाइनमा बसिरहेकाले त्यसको अवस्थाका बारेमा जानकारी लिनका सबै ठाउँमा अनुगमन गर्न थालिएको हो ।
अहिलेसम्म सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिकामा क्वारेन्टाइन अनुगमन गरिएको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “क्वारेन्टाइन कार्यविधिअनुसार पालिकाहरुले क्वारेन्टाइन निर्माण गरेका र अपुग भएका ठाउँमा सुधारका लागि सुझाव दिइएको छ”।
दशरथचन्द नगरपालिकाको क्वारेन्टाइनमा केही सुधार गर्नुपर्ने देखिएकाले समितिले सुधार गर्न निर्देशन दिएको छ भने अन्य पालिकाका क्वारेन्टाइन राम्रा रहेको बताइएको छ । गत बिहीबार सीमा नाका झुलाघाट हुँदै एक हजार २९९ नागरिक स्वदेश फर्किएका थिए ।