अनुकूल मनसुनका कारण ढकमक फूलसँगै प्रशस्तै दाना लागेपछि उत्पादन राम्रो हुने आशा बोकेका जुनार किसानको सपनालाई केही दिन अघि परेको असिनाले क्षणभरमै चकनाचुर तुल्याएको छ ।
कोभिड– १९ को जोखिम नियन्त्रणका लागि गरिएको ‘लकडाउन’कारण जिल्ला र स्थानीय तहमा किटनाशक औषधिको अभावले केही वर्षदेखि प्रकोपका रुपमा देखिएको औँसाले बाँकी फललाई पनि सखाप पार्ने हो कि भन्ने अर्काे चिन्ताले अहिले किसानलाई सताएको छ ।
तीनकन्यामा व्यावसायिक जुनारखेती गर्दै आउनुभएका लोकबहादुर आलेमगर भन्नुहुन्छ, “अनुकूल मनसुनले फूल र दाना राम्रो देखियो, यस वर्ष धेरै फल्छ कि भन्ने लागेको आशलाई केही दिनअघि परेको भारी असिनाले क्षणभरमै निराशामा बदल्यो, आधा चिचिला झा¥यो, टुट्टामा पा¥यो, बाँकी फललाई पनि औँसाले खत्तम पार्ने हो कि भन्ने चिन्ता छ ।”
जुनार खेतिका लागि अनुकूल हावापानी भएकाले सिन्धुलीको महाभार क्षेत्रलाई सरकारले चार वर्षअघि सुपर जोन घोषणा गरी जुनार उत्पादन क्षेत्र विस्तार र रोग नियन्त्रणलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यहाँको गोलञ्जोर गाउँपालिकाका रचनचुरा, जलकन्या, तिनकन्यालगायत क्षेत्र गुणस्तरीय जुनार उत्पादनका लागि पकेट क्षेत्र मानिन्छन् । त्यस क्षेत्रमा गुणस्तरीय उत्पादनका लागि नर्सरी स्क्रिन हाउससमेत स्थापना गरिएको छ ।
कृषक मगरले १८ रोपनी क्षेत्रफलमा लगाइएका ५०० बोट जुनारबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । परम्परागत खेती कोदो, फापर, गहँु, जौ र आलुखेती गर्दै आएका त्यस क्षेत्रका किसान व्यावसायिक जुनारखेतीमा प्रवेश गरेसँगै जीवनस्तर उकास्न ठूलो योगदान पु¥याएको छ ।
जिल्लामा वार्षिक १० हजार टनभन्दा बढी जुनार उत्पादन हँुदै आएको छ । त्यहाँको महाभारत इलाकाको १०० किलोमिटर क्षेत्र जुनार, सुन्तला, कागती र निबुआका लागि उर्भरभूमि मानिन्छ । जुनारको एउटा बोटबाट एक हजारदेखि एक हजार ५०० सम्म फल उत्पादन हुन्छ भने एउटा नर्सरी बिरुवालाई १२५ मा बिक्री भइरहेको छ । सिन्धुली जिल्लाबाट मात्र वार्षिक रु २० करोड मूल्य बराबरको जुनार बिक्री हँुदै आएको छ ।
चिचिला मात्र होइन, हाँगैसमेत स्वोत्तर
जिल्लाका चार हजारभन्दा बढी घरपरिवार अहिले व्यवसायी जुनारखेतीमा संलग्न छन् । किसानलाई बेलाबखतमा देखापर्ने विभिन्न रोग किराको प्रकोपबाट बोटबिरुवा र फल जोगाउने चिन्ताले भने सधैँ सताइरहन्छ । अरु अन्नबालीको तुलनामा सजिलो र बढी आम्दानी हुने तथा स्थानीयवासीलाई रोजगारीसमेत प्रदान गर्न पाएकामा त्यसमा संलग्न किसान व्यवसायप्रति सन्तुष्टि व्यक्त गर्नुहुन्छ ।
जुनारका लागि वर्षमा दुई पटक मल हाल्नुपर्छ भने चारपटक औषधि छर्कनुपर्छ । मल प्रतिडोका रु १०० मा किनेर हाल्नुपरेको किसान बताउँछन् । किसानले रोग नियन्त्रणका लागि औषधिका किन्न अग्रिमरुपमा रकम जम्मा गरेर परियोजनालाई उपलब्ध गराउँदै आएका छन् । कृषि बीमा कार्यक्रम प्रभावकारी नभएका कारण पनि जुनार किसान मारमा परेका हुन् ।
जुनार र सुन्तलाको व्यवसाय खेती गर्दै आउनुभएकी कृषक देवकुमारी ठकुरी भन्नुहुन्छ, “लगातार परेको असिनाले जुनारका चिचिला लग्यो, किसान निराश छ, हाँगैसमेत भाँचेर स्वोतर बनाएको छ, ठूलो समस्या भो, ३० वर्ष लगाएर हुर्काएर बोट खतम भए । हामी अहिले विचल्लीमा परेका छौँ ।” ठकुरीले पोहरसाल ११ लाख बराबरको जुनार सुन्तला बिक्री गर्नुभएको थियो । त्यस क्षेत्रका किसानले जुनारको गोडमेल, मल हाल्ने र टिप्ने कार्यमा संलग्न गराई स्थानीयवासीलाई ठूलो राजगारी प्रदान गर्दै आएका छन् ।