कोरोना भाइरस सङ्क्रमणबाट निको भएका राज विकको अहिले दिनचर्या फेरिएको छ ।
कोरोना ‘पोजेटिभ’ भएर अस्पताल भर्ना हुनुभएका विक निको भएर डिस्चार्ज भई ‘होम क्वारेन्टाइन’को बसाइँसमेत पूरा गरेपछि अहिले उहाँकोे दिनचर्या फेरिएको छ । सोह्र दिनको अस्पतालको आइसोलेशन र थप सात दिन होम क्वारेन्टाइनको बसाइँले केही पट्यार लागे पनि अहिले घरपरिवारका सदस्यलाई काममा सघाउन पाउँदा दैनिकी पनि फेरिएको उहाँले बताउनुभयो । चैत २२ गते सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेशनमा भर्ना भई १६ दिनपछि कोरोना पोजेटिभ निको भएर डिस्चार्ज हुनुभएका विकले भन्नुभयो, “ अहिले आफू स्वस्थ्य भएको छु, बिहानदेखि साँझसम्म खेत जोत्ने र गोरु चराउन जाने काममा परिवारका सदस्यलाई सघाइरहेको छु ।”
मुम्बईको एक होटेलमा काम गर्दै आउनुभएका विक कोरोनाको सन्त्रासका कारण त्यहाँको होटेल बन्द गरिएपछि गौरीफण्टा सीमा नाका हुँदै आफ्नो घर कैलाली फर्किनुभएको थियो । उहाँले कोरोनाको महामारी सकिएपछि पुनः मुम्बई पुगेर पुरानै काममा फर्किने सोच बनाउनुभएको छ । ‘‘यहाँ केही अवसर छ्रैन, कोरोना शान्त भएपछि जीविका चलाउनका लागि पनि पुनः उतै जाने सोच राखेको छु”, उहाँले भन्नुभयो ।
बित्ने गरेको छ । “दिनभरि घरमै बसेर शारीरिक अभ्यास र मोबाइलमा गेम खेलेर समय बिताउने गरेको छु, उहाँले भन्नुभयो, घर बाहिर छरछिमेकमा जान नपाउँदा भने केही असजिलो अनुभव भइरहेको छ ।” दुबईबाट दिल्ली, काठमाडौँ र नेपालगञ्ज हुँदै कैलाली पुग्नुभएका उहाँमा चैत ११ गते कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको थियो । उहाँ २९ दिन आइसोलेशनमा बसेर कोरोना पोजेटिभ निको भई डिस्चार्ज हुनुभएको थियो ।
होम क्वारेन्टाइनको बसाइँ पूरा गरे पनि अझै उहाँहरुले आफ्नो टोल र छरछिमेकमा आउजाउ गरिरहनुभएको छैन । परिवारका सदस्यले अझैँ छरछिमेक र टोलमा नजान सल्लाह दिइरहेकाले आफू छरछिमेकमा नगई परिवारको काममा सघाइरहेको राज विकले बताउनुभयो ।
प्रदेशमा कोरोना सङ्क्रमित भेटिएको पुष्टि भएका पाँचजनामध्ये चारजना पोजेटिभ निको भई यसअघि नै डिस्चार्ज भइसक्नुभएको छ । सङ्क्रमित एक महिला सेती प्रादेशिक अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले क्वारेन्टाइनमा बसिरहेकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।
रासससँग कुरा गर्दै मन्त्री सुवेदीले क्वारेन्टाइनमा औषधि छर्किने गरिएको र कतिपय क्वारेन्टाइनमा झुलको समेत व्यवस्था गरिएकाले लामखुट्टेको टोकाइबाट आउन सक्ने अन्य रोगको जोखिम अहिले नदेखिएको बताउनुभयो । “आइतबारसम्म प्रदेशभरि तीन हजार ५७२ जना क्वारेन्टाइनमा बसिरहेका छन्”, उहाँले भन्नुभयो, “रोगको प्रभावकारी रोकथामका लागि जनचेतनामै बढी जोड दिइरहेकाछौँ ।”