प्रायः ध्यान र जपमा मुग्ध हुने अध्यात्मप्रेमी मानवीय सेवामा जुटेका छन् । कोरोना सङ्कट न्यूनीकरणमा धार्मिक संस्थाको समेत हातेमालो छ । भगवान्का अनुयायी सत्कर्मतिर प्रेरित छन् ।
यहाँस्थित अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) ले मजदुर र विपन्नलाई निःशुल्क भोजन खुवाउन थालेको तीन हप्ता बित्यो । सङ्घका अनुसार त्यस्तो वर्गका कम्तीमा १५/२० जनाले दैनिक भोजन लिन्छन् । “समाजप्रतिको दायित्व सम्झेर सेवा गरिरहेका छौँ”, सङ्घका प्रमुख परमेश्वर अच्युत दासले भन्नुभयो, “सङ्कटका बेला सहयोग गर्न पाउँदा छुट्टै खाले सन्तुष्टि मिलेको छ ।” उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयले बनाएको आश्रयस्थलमै लगेर भोजन वितरण गरिन्छ ।
भोजन लिनेको सङ्ख्या दैनिक थपघट भइरहन्छ । शुरुका दिनमा त ४५ जनासम्मले भोजन लिए । भान्सालगायतका ठाउँमा सुरक्षा सावधानी अपनाउँदै भोजन तयारी र वितरणको काम गर्ने गरिएको प्रमुख दासको भनाइ छ । सङ्घद्वारा सञ्चालित ‘गोविन्दाज शाकाहारी भोजनालय’मा खाना तयार हुने गर्छ । सङ्घले बागलुङ नगरपालिकालगायत स्थानीय प्रशासनसँगको समन्वयमा भोजन वितरणको काम गर्दै आएको छ । दिउँसो खाजासमेत दिने गरिएको छ ।
कोरोनाको जोखिमका कारण भोजनालयको व्यावसायिक सेवा भने बन्द छ । “बाहिर वितरण गर्दा पनि गुणस्तरीयतालाई ख्याल गरेका छौँ”, सङ्घका प्रमुख दासले भन्नुभयो । बन्दाबन्दीका कारण ‘इस्कोन’ को मन्दिरमा अहिले प्रवचनलगायतका ठूला कार्यक्रम स्थगित छन्् । नित्य पूजापाठ र आराधना भने दैनिक चल्छ ।
सङ्घले वैदिक सनातन धर्मको प्रवद्र्धनसँगै विभिन्न मानवीय सेवाका काम गर्दै आएको छ । मन्दिरका भक्त र शुभेच्छुकबाट प्राप्त सहयोगबाट भोजन वितरणलगायत राहत कार्यक्रम सञ्चालन भइरहेको सङ्घका प्रमुख दासले बताउनुभयो ।
माला जप, प्रवचन र पूजापाठमा भुल्ने भक्त यसपालि सेवा कर्ममा बढी खटिएका छन् । बन्दाबन्दीले समस्यामा परेका मजदूरको भोजन र आवासका लागि तत्कालीन शान्ति समितिको भवनमा आश्रयस्थल बनाइएको छ । अलपत्र परेका मजदूर र विपन्न वर्गका व्यक्तिका लागि भोजन वितरण नियमित गरिने सङ्घले जनाएको छ ।
टाढाका जिल्लाबाट बागलुङ हुँदै पैदलै घर जान हिँडेका मजदुरलाई समेत केही दिन आश्रयस्थलमा राखी उद्धार गरिएको थियो । दिनरात सडकमै बिताउने मजदुर र सहाराविहीन व्यक्तिलाई आश्रयस्थलले लाभ पु¥याएको छ । आश्रयस्थल निर्माणका लागि बागलुङ उद्योग वाणिज्य सङ्घले समेत सघाएको थियो । बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटले पनि कोरोना रोकथामका लागि खटिने प्रहरीका लागि केही दिनअघि २० थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) प्रदान गरेको थियो ।
जिल्ला ट्राफिक प्रहरीलाई १४ र जिल्ला प्रहरी कार्यालयलाई छ थान पिपिइ उपलब्ध गराइएको पञ्चकोटका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो । उहाँ नै अध्यक्ष रहेको बागलुङ नगरपालिका–४ स्थित शालिग्राम सङ्ग्रहालय एवं तिरुपति बालाजी धामले समेत गत महिना अलपत्र मजदुरलाई भोजन वितरण गरेको थियो ।
बागलुङ नगरपालिकासँग मिलेर निःशुल्क भोजन वितरणमा सघाएको अध्यक्ष प्रपन्नाचार्यले बताउनुभयो । बन्दाबन्दीका कारण रोजरोटी गुमाएका व्यक्ति र परिवारलाई नगरपालिकाले भोजनको व्यवस्था मिलाएको थियो ।
एकै ठाउँ बोलाएर भोजन खुवाउँदा कोरोना सङ्क्रमणको जोखिम बढ्ने देखिएपछि राहतस्वरुप खाद्यान्न उपलब्ध गराउन थालिएको थियो । प्रसिद्ध कालिका भगवती मन्दिर पनि कोरोनाविरुद्धको अभियानमा जोडिएको छ । कोरोना रोकथामका लागि सरकारले खडा गरेको कोषमा रु तीन लाख प्रदान गरिएको मन्दिर गुठीका अध्यक्ष राजु खड्काले बताउनुभयो ।
उहाँका अनुसार श्रमिक तथा विपन्न वर्गको राहतका लागि रु एक लाख १५ हजार, धौलागिरि अञ्चल अस्पतालमा पिपिइ खरिदका लागि रु ५० हजार र सङ्क्रमण रोक्न गरिने सरसफाइ अभियानका लागि रु ५० हजार सहयोग गरिएको छ ।