दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित लाफेहँछा सेवा समाजले बढीमा १५ जनाको उपस्थितिमा मात्र साकेला मनाउने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहदा उक्त समाजले सो निर्णय गरेको हो ।
लकडाउनलाई पालना गर्दै थोरै उपस्थितिमा साकेला मनाउने निर्णय गरिएको समाजका सदस्य राजेन्द्र राईले जानकारी दिनुभयो । “साकेला पुज्नेक्रममा अनिवार्य उपस्थित हुनुपर्ने धामी, सिलिमपा, सिलीममा, मूल ढोले तथा उनीहरुका एक÷एकजना सहयोगीको उपस्थितिमा मात्र साकेला पुज्ने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “आफन्तजन तथा पाहुनापाछाबीच शुभकामना आदान÷प्रदान गरेर मनाइने पर्व भए पनि यसपल्टको साकेलामा नआउन सबैमा आग्रह गरिएको छ ।”
किरात राईहरुको घनाबस्ती रहेको माझ किरात खोटाङमा पितृ तथा ऐतिहासिक थलो मानिएको ठाउँमा पूजाआजा गरेर साकेला सिली प्रदर्शन गर्दै महिनादिनसम्म साकेला उभौली पर्व मनाउने चलन छ । वैशाख पूर्णिमादेखि शुरु हुने उभौली साकेला पर्व ‘खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गरी मनाउने गरिन्छ ।
पर्वको अवसर पारेर जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थल तुवाचुङ–जायाजुङ, रुपाकोट, मेरुङ, जन्तेढुङ्गा,छोङ्खालगायत धार्मिक तथा सिली नाच्ने चलन छ । वर्षको दुईपटक उधौली र उभौलीमा किराँत राईहरुको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै गोलो घेरमा साकेला नाच्ने गरिन्छ ।
छितको गुन्यू मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपीलगायत किराँती मौलिक वेशभूषामा ठाँटिएर हरेक किराँती राईहरुको घर घरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो पर्वमा किराँत समुदाय मात्र नभई गैरकिराँत समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् । चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनाका साथ साकेला पर्व मनाउने गरिएको छ ।
बालकदेखि वृद्धसम्म एउटै लहरमा सामूहिकरूपमा नाचिने साकेला नृत्यले यो आदिवासी जनजातिको सामूहिक भावना प्रदर्शन गरिन्छ । हात र खुट्टाको चालले पङ्तिबद्ध रूपमा नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ ।
सो पर्वले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने गरेको नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला अध्यक्ष हात्तीराम राईले जानकारी दिनुभयो । “साकेला पर्वमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदान÷प्रदान गर्ने गरिन्छ”, उहाँले भन्नुभयो, “प्रकृति र पितृको पूजासँगै मनाइने यो साकेला पर्वले किराँत र गैरकिराँतबीच आपसी सद्भाव र बन्धुत्व कायम गर्नसमेत सघाउ पु¥याउने गरेको छ ।”
हरेक वर्ष जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मझुवागढीबाट शुरु गरिने साकेला उभौली पर्व यसवर्ष विधिवत्रुपमा मात्र मनाउने तयारी गरिएको किराँत राई यायोख्खाकाका सचिव युगशन किराँतले बताउनुभयो । “सरकारले लागू गरेको लकडाउनलाई मध्यनजर गर्दै यस वर्ष विधिवत्रुपमा मात्र साकेला मनाउन केन्द्रबाटै सर्कुलर जारी भएको छ”, उहाँले भन्नुभयो, “कोरोना भाइरसबाट जोगिन आफू सुरक्षित रहँदै अनिवार्यरुपमा गर्नुपर्ने पूजाआजा गर्दा पनि बढीमा १५ जनामात्रै सहभागी हुन जिल्लास्थित सबैलाई आग्रह गरिएको छ ।”
विगत वर्षहरुमा महिना दिनसम्म मनाइने उभौली पर्वको अन्तिम दिन दिक्तेलको माटीकोरे खेलमैदानमा बृहत् साकेला सिली प्रदर्शन गर्ने गरिएको थियो । समापन कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घसंस्थाका प्रतिनिधिलगायतलाई निम्तो दिने गरिएको थियो ।