बन्दाबन्दीको महिना दिन बितेपछि पोखरा वडा नं १८ खपौँदी पुग्दा जलारी समुदायको एउटै माग थियो ‘राहत होइन, माछा मार्ने व्यवस्था मिलाइदेऊ ।’
वर्षौँ अघिदेखि पुख्र्यौली पेशा गर्दै आएका जलहारी समुदायले सरकारले बन्दाबन्दीको घोषणा गरेपछि माछा मार्न रोकिएको थियो । बन्दाबन्दीपछि छाक टार्ने समस्यामा परेका ९० जलहारी परिवारलाई स्थानीय सरकारले आवश्यकता हेरेर राहत वितरण गरेको थियो तर जलहारी भने उचित व्यवस्थापन गरेर माछा मार्न दिए राहत नचाहिने माग गर्दै आएका थिए ।
अहिले पोखरा महानगरपालिकाले जलहारीको मागलाई ध्यान दिँदै एक दिन बिराएर माछा मार्न सहज बनाइदिएपछि उनीहरु अहिले तालको माछाजस्तै रमाइरहेका छन् । खपौँदीकी रमा जलहारी अहिले खुशी हुनुहुन्छ, “निकै गाह्रो भाथ्यो, सरकारले अड्कलेर दिएको राहतमा छाक टार्न अहिले एक दिन बिराएर भए पनि माछा मार्न पाउँदा खुशी लागेको छ, पेशाको कमाइले नै पेट पाल्छौँ अब”, उहाँले भन्नुभयो, “दुई वर्षअघि श्रीमान् बितेपछि माछा मारेरै दुई सन्तानलाई हुर्काउँदै आएँ, एक छोरो बिहे गरेर छुट्टै बस्छ, कान्छो छोरो साथमा छ, उसैले माछा मार्छ मैले बजार लगेर बेच्छु”, उहाँले माछा मारेर महिनाको रु १५ देखि २० हजार जोगाउन सकिने बताउनुभयो ।
खपौँदीकै ४५ वर्षीय बुद्ध जलहारीले पनि माछा बेचेर नै तीन सन्तान पाल्दै आएको बताउनुुहुन्छ । “तीन वर्षअघि श्रीमान् बितेपछि माछा मारेर नै जीविकोपार्जन गर्दै आएकी छु, छोराहरुले माछा मार्छन् म बेच्ने गर्छु ।” उहाँले भन्नुभयो, “छोराले जाल थाप्छ, नपुग माछा अरुसँग खरिद गरेर पनिजाल थाप्छ, नपुग माछा अरुसँग खरिद गरेर पनि १ं०÷११ किलो बनाउँछु र बिक्रीका लागि लैजान्छु ।” उहाँले तिल्पिया माछालाई किलोको रु ३०० मा बिक्री गर्ने गरेको बताउनुभयो ।
खपौँदीका ३१ वर्षीय सन्तोष जलहारी पनि अहिले खुशी हुनुहुन्छ, “केही अघि माछा मार्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थियौँ, हाम्रो आवाजको सुनुवाइ भएको छ, खुशी छौँ ।” महानगरले पुख्र्यौली पेशा गर्दै आएका जलहारी परिवारलाई माछा मार्नका लागि लाइसेन्स (अनुमतिपत्र) दिएको छ । लाइसेन्स प्राप्त जलहारीहरुले अनुमति दिएका स्थानमा माछा मारेर जीविकोपार्जन गर्दै आएका छन् भने माछा मारेवापत महानगरलाई किलोको रु पाँच करसमेत तिर्दै आएका छन् ।
हर्पन फेवा मत्स्य सहकारी संस्थाका निवर्तमान अध्यक्ष ज्ञानबहादुर जलहारीले महानगरको निर्णयले अहिले जीविकोपार्जन केही सहज भएको बताउनुभयो । “वैशाखको १५ गतेदेखि एक दिन बिराएर जाल थापेका हौँ, अहिले ७०-८० किलो माछा मार्ने गरेका छाँै, होटल खुलेका छैनन्, घरपरिवारको मागलाई अहिले मारेको माछाले थोरै–थोरै धानेको छ”, उहाँले भन्नुभयो, “माछा मार्न थालेपछि सरकारको राहत लिदैनौँ, लकडाउन खुलेपछि माछा व्यापारले आफ्नो लय समात्ला अहिले यत्तिमै खुशी छौँ ।”