विश्वमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण पर्यटन क्षेत्रमा ठूलो धक्का लागेको छ । नेपालमा विदेशबाट आउने रेमिट्यान्सपछि पर्यटन क्षेत्रले आर्थिक क्षेत्र टेवा पुर्याउँदै आएको छ । कोरोना भाइरसका सरकारले गरेको लकडाउनका कारण पर्यटन क्षेत्रबाट साढे १ खर्ब रुपैयाँ लगानी गुम्ने पर्यटन व्यवसायीले अनुमान गरेका छन् ।
लकडाउनको समयमा होटल र पर्यटन क्षेत्र बन्द हुँदा करिब १ खर्ब ७० अर्ब रुपैयाँ आय स्रोत गुम्ने होटल एसोसिएसन अफ नेपाल (हान)ले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई होटल र पर्यटन क्षेत्रमा कोरोनाका कारण भएको क्षतिका विषयमा जानकारी गराएको हानले बताएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको थियो । कोरोना भाइरसको संक्रमण फैलिएसँगै भ्रमण वर्ष पनि स्थगित गरिएको छ I
नेपालमा रेमिट्यान्सपछि आय स्रोतको माध्यमका रूपमा पर्यटन क्षेत्रलाई लिइन्छ । कोरोना भाइरसका कारण पर्यटन क्षेत्र जोखिममा परेको पर्यटन व्यवसायीहरूले बताएका छन् ।
कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण ट्राभल, ट्रेकिङ, र्याफ्टिङ, होटल, रिजोर्ट, एयरलाइन्स, रेस्टुरेन्ट जस्ता क्षेत्रमा करिब १ खर्ब ७० अर्ब रुपैयाँ बराबारको आय स्रोत गुमेको हानले जनाएको छ । हानका अनुसार पर्यटन व्यवसाय बन्द हुँदा कृषि, उत्पादन र रोजगारी क्षेत्रमा ठूलो असर परेको छ । पर्यटन क्षेत्रको जीडीपीमा करिब २.५ प्रतिशत योगदान रहेको हानले जनाएको ।
सरकारले कोरोना नियन्त्रणका लागि गरेको लकडाउनको अवधिमा पर्यटक अवागमनको कारणले मात्र करिब ७५ अर्ब रुपैयाँ र सरकारले करिब १० अर्ब रुपैयाँ राजस्व गुमेको हानकी अध्यक्ष सिर्जना राणाले बताइन् ।
‘पर्यटक आगमन ठप्प हुँदा कारोबार शून्य छ । कर्मचारी व्यवस्थापन पेचिलो बन्दै छ साथै बैंकको ऋणको मार छ । त्यसमाथि, अलिकति आस राखिएको आउँदो पर्यटक सिजनका लागि गरिएको बुकिङ पनि रद्द भएका छन्’, उनले भनिन्, ‘होटल व्यवसायीका अनुसार पर्यटन व्यवसाय कहिले सामान्य अवस्थामा फर्किने भन्ने टुंगो नहुँदा अनिश्चितता बढेको छ । कोरोना भाइरस चाँडै नियन्त्रण भए पनि पर्यटन व्यवसायी सामान्य अवस्थामा आउन करिब ६ महिनादेखि १ वर्ष लाग्नेछ ।’ कोरोना भाइरसका कारण नेपालले पर्यटन क्षेत्रमा ठूलो नोक्सानी ब्योहोर्नुपरेको उनको भनाइ छ ।
पर्यटन क्षेत्रमा १५ खर्ब लगानी
पर्यटन क्षेत्रमा करिब १५ खर्ब रुपैयाँ लगानी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । एक साता अगाडि मन्त्रालयले गरेको अध्ययनमा यस्तो बताइएको हो ।
कोरोनाको संक्रमण देखिन थालेपछि गरिएको अध्ययनका आधारमा पर्यटन क्षेत्रमा १५ खर्ब रुपैयाँभन्दा बढीको लगानी देखिएको जनाइएको छ ।
१५ खर्ब रुपैयाँको लगानीमा सरकारी स्वामित्वमा रहेका कम्पनीहरूको लगानी पनि जोडिएको पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले बताएका छन् । कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा भएको जोखिमका विषयमा अध्ययन भएको पर्यटन मन्त्रालयका सहसचिव उपाध्यायले जानकारी दिएका छन् । उनकै संयोजकत्वमा अध्ययन समिति बनाइएको छ । पर्यटन क्षेत्र र आवद्ध संस्थाहरूले ८ लाखभन्दा प्रत्यक्ष रोजगारी पाइरहेको छ ।
बैंक तथा वित्तीयको लगानी ४ खर्ब
पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको करिब ४ खर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको हानको अनुमान छ । सरकारले भ्रमण वर्ष, २०२० मनाउने भएपछि पर्यटन क्षेत्रमा लगानी धेरै बढेको थियो । २० लाख पर्यटन भित्र्याउन सरकारी लक्ष्य कोरोनाका कारण अपूरो भएको छ ।
नेपाल विगत २ वर्षयता आन्तरिक एवं बाह्य पर्यटकहरू आकर्षण बन्दै गएको पर्यटकविज्ञ मणिराज लामिछाने बताएका छन् । नेपालमा विस्तारै पर्यटकमैत्री वातावरण बन्दै गएको थियो । सरकारले पर्यटन क्षेत्रलाई सुधार कोरोना भारइसपछि नयाँनयाँ योजना ल्याउनुपर्ने उनको भनाइ छ ।
पर्यटन वर्ष मनाउने सरकारले घोषण गरेसँगै उपत्यकामा होटल मेरियट, होटेल अलफ्टलगायत ठूला होटल सञ्चालनमा आएएका थिए । पर्यटन वर्षलाई लक्षित गरेको धेरै होटल सञ्चालन हुने चरणमा रहेको नेपाल होटल व्यवसायी संघले जानकारी दिएको छ । ठूलो लगानीमा करिब २ दर्जन पाँचतारे होटल सञ्चालनमा आउने क्रममा थिए । कोरोनाका काराण ती होटल सञ्चालनमा आउन अन्योलमा परेको हानले बताएको छ ।
सरकारसँग २० अर्ब राहत माग
नेपाल पर्यटन बोर्डले गरेको एक अध्ययनमा कोरोनाबाट पर्यटन क्षेत्र व्युँताउन करिब २० अर्ब रुपैयाँ राहत सरकारले ब्योहोर्नुपर्ने जनाइएको छ । बोर्डले पर्यटन क्षेत्रलाई सामान्य अवस्थामा ल्याउन करिब २० अर्ब रुपैयाँ राहत सरकारसँग मागसमेत गरेको छ ।
बोर्डको अध्ययनमा पर्यटन क्षेत्रमा १ खर्ब १३ अर्ब ६२ करोड ४५ लाख रुपैयाँ लगानी रहेको जनाइएको छ । त्यसमा ट्रेकिङ एन्ड क्लाइम्बिङ १ सय ४४, टुरिस्ट भेइकल ९५, ट्राभलर टुर १ सय ४५, रेस्टुरेन्ट ८६, र्याफ्टिङ १२, होटल २ सय ४६, एयरलाइन्स २३ र अन्य २६ कम्पनीलाई आधार मानेर अध्ययन गरिएको थियो ।