कोरोना भाइरसका नियन्त्रणका नाममा मलेसियामा ठूलो संख्यामा आप्रवासीका माथि धरपकड सुरू गरेको छ । शुक्रबार र शनिबार राजधानी क्वालालम्पुरमा अवैध आप्रवासीविरुद्ध धरपकड गरिएको मलेसियाका स्थानीय सञ्चारमाध्यमले जनाएको छन् ।
२ दिनमा करिब ७ सय आप्रवासी कामदार पत्राउ गरिएको सञ्चारमाध्यमले बताएका छन् । पक्राउ परेका कलिला बालबालिकादेखि रोहिँगिया शरणार्थीहरु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत उल्लेख गरेका छन् ।
मलेसिया सरकारले भने आप्रवासीलाई स्वतन्त्ररुपमा छोड्दा उनीहरु जथाभावी घुमफिर गर्ने र सरकारी नियकायलाई उनीहरुको लोकेसन ट्रेसिङ गर्न समस्या पर्ने भएकोले नियन्त्रण लिएको बताएको छ ।
मलेसियामा नेपालीसहित विदेशी कामदारहरुलाई सामाजिक दूरी कायम गर्ने विश्वव्यापी मान्यता विपरित साँगुरो कोठामा राखेको भन्दै सरकारको अधिकारकर्मीले विरोध गर्दै आएका छन्
कोरोना महामारीका बेला सरकारमाथि भार थपेको भन्दै मलेसियामा रोहिँगिया शरणार्थी र आप्रवासी कामदारहरुलाई निशाना बनाउन थालिएको अधिकारकर्मीहरुले आरोप समेत लगाएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । मलेसियामा करिब २२ लाख अबैध कामदार रहेको अनुमान छ ।
अधिकारकर्मीले व्यापकरुपमा गरिने धरपकडले कोभिड–१९ को परीक्षणमा समस्या हुने र जसका कारण स्वास्थ्य समस्यामा पार्ने चेतावनी दिएका छन् ।
१२ मेसम्म आवागमन प्रतिबन्धको आदेश कार्यान्वयन गरिरहेको मलेसियाका अधिकारीहरुले मुख्य गरेर दक्षिण एसियाली कामदारहरु आवश्यक अनुमतिविना नै हिँड्ने भन्दै उनीहरुलाई नियन्त्रण गर्न आगामी दिनहरुमा पनि धरपकड जारी राख्ने बताएका छन् ।
मलेसियामा आइतबार बिहानसम्म ६ हजार १७६ जना संक्रमित भेटिएका छन् । जसमध्ये १ सय ३ जनाको ज्यान गएको छ ।