सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र पछिल्लो १० दिनयता चुलिएको अन्तसंघर्षबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैले आजको सचिवालय बैठकमा आत्मालोचना गरेका छन्।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओली र दाहालसँगै जिम्मेवार अरु नेताले पनि आआफ्नो भूमिकाका लागि आत्मालोचना गरेको बताए।
“पार्टी वा सरकार वा सम्बन्धित् क्षेत्रमा जे जति कमीकमजोरी भएका छन्, ती कमीकमजोरीहरूमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसमेतले आत्मालोचना गर्नुभएको छ”, उनले भने, “त्यसैगरी आफ्नो हकको जिम्मेवारीका लागि अध्यक्ष प्रचण्ड र अरु कमरेडहरूले पनि त्यहीअनुसार आत्मालोचित हुँदै अगाडि बढ्ने संकल्प गर्नुभएको छ।”
श्रेष्ठले पार्टीलाई एकतावद्ध राख्ने, विधि, पद्धति र कम्युनिष्ट मूल्यमान्यताअन्तर्गत् सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशन र नीतिनिर्देशनमा सरकार सञ्चालन गर्ने तथा सरकारले देश र जनताको पक्षमा समाजवादउन्मुख समृद्धिको लक्ष्य हासिल गर्नेगरी काम गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णयसमेत गरेको बताए।
“आन्तरिक जीवनमा देखापरेका समस्या र संकटहरूलाई समाधान गर्नेगरी एकतावद्ध भएर पार्टी एकताको पक्षमा दृढ रहने संकल्प बैठकले गरेको छ”, उनले भने, “पार्टी एकतालाई कमजोर पार्ने र पार्टीलाई फुटउन्मुख गर्ने कुनै पनि क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।”
सरकारले ८ वैशाखमा दुईवटा अध्यादेश जारी गरेपछि नेकपाभित्रको शक्ति संघर्ष चुलिएको थियो। त्यो विवादसँगै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गरेकी थिइन्। तर, अध्यादेश खारेज भइसकेपछि नेकपाभित्रको संघर्ष रोकिएन।
अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतले प्रधानमन्त्री ओलीलाई राजीनामा गर्न दबाब दिँदै हस्ताक्षर संकलन गर्नेदेखि छुट्टै भेला गर्ने गतिविधिसमेत गरे।
त्यसैगरी प्रधानमन्त्री ओली पक्षधर सांसदहरूले पनि हस्ताक्षर अभियान चलाए।
प्रवक्ता श्रेष्ठले यी सबै विषयमा छलफल गर्न २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय भएकोसमेत बताए।