कोरोना भाइरस संक्रमण रोकथामका लागि कञ्चनपुरका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइन रित्तिन थालेका छन् ।
क्वारेन्टाइन अवधि पूरा गरी भारतलगायत अन्य मुलुकबाट आएकाहरू घर फिर्ता भएका हुन् ।
क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरूको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणमा नतिजा नेगेटिभ आएपछि सबै घर फिर्ता भएका छन् ।
भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिलाई राख्न ९ वटै स्थानीय तहले क्वारेन्टाइन सञ्चालनमा ल्याएका थिए । ९ स्थानीय तहमध्ये ४ स्थानीय तहका क्वारेन्टाइनमा मात्रै ८६ जनालाई राखिएको छ ।
६ स्थानीय तहका क्वारेन्टाइनमा रहेका व्यक्ति घर फिर्ता भइसकेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीका अनुसार कञ्चनपुरका ९ स्थानीय तहमा ५४० शय्या क्वारेन्टाइनको संख्या रहेको छ । जसमध्ये पुर्नवास नगरपालिकाले सञ्चालन गरेको ५० शय्याको क्वारेन्टाइनमा १२, बेलौरी नगरपालिकाले सञ्चालन गरेको १०५ शय्याको क्वारेन्टाइनमा ३६, लालझाडी गाउँपालिकाले सञ्चालन गरेको ८९ शय्याको क्वारेन्टाइनमा १८ र बेलडाँडी गाँउपालिकाले सञ्चालन गरेको २३ शय्याको क्वारेन्टाइनमा २० जनालाई राखिएको छ ।
भीमदत्त नगरपालिकामा १००, महाकाली नगरपालिकामा ५१, बेदकोट नगरपालिकामा ६४, शुक्लाफाँटा नगरपालिकामा २२ र कृष्णपुर नगरपालिकामा ३६ क्वारेन्टाइन शय्या संख्या रहेको छ । भीमदत्तमा १४५, महाकालीमा २२, बेदकोटमा २३, शुक्लाफाँटामा २२, कृष्णपुरमा ३१, पुनर्वासमा ३४, बेलौरीमा ६६, लालझाडीमा १२३ र बेलडाँडीमा १४ गरी ४८० जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता भएको अधिकृत जोशीले बताए ।
उनका अनुसार क्वारेन्टाइनमा बसेका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य गरी १ हजार ७१९ जनाको आरडीटी परीक्षण गरिएको छ ।
आरडीटी परीक्षण गरिएकामध्ये २ जनाको रिपोर्ट पोजेटिभ आएकामा पीसीआर परीक्षणमा दुवैको नतिजा नेगेटिभ आएको छ । क्वारेन्टाइनमा बस्दै आएका २०५ जनाको स्वाब परीक्षण गरिएकोमा १ जनाको रिपोर्ट पोजेटिभ आएकामा उपचारपछि रिपोर्ट पोजेटिभ आएका व्यक्ति पूर्णरुपमा स्वस्थ्य भई घर फिर्ता भएका छन् ।
कञ्चनपुरमा भारतलगायत अन्य मुलुकमा आएकाको संख्या भने ५ हजार ७७६ रहेको छ । पीपीईको संख्या ४३९ रहेको छ । हालसम्म ९ वटै स्थानीय तहका ज्याला मजदुरी गरी जीविन निर्वाह गर्ने २२ हजार ५६९ परिवारलाई राहत सामग्री उपलब्ध गराइएको छ ।