नागरिक समाजका अगुवाले बदर गरिसकिएका अध्यादेशलाई विवादको विषय बनाएर प्रधानमन्त्रीको राजीनामा माग्ने कार्य संकटको वर्तमान अवस्थामा अप्रासंगिक विषय भएको बताउनुभएको छ ।
दश जना बौद्धिक व्यक्तित्वले आज संयुक्त अपिल गरी आगामी बजेटमार्फत नागरिक र मुलुकको हितमा कार्यक्रम ल्याउनेतर्फ सबैको ध्यान जानुपर्ने बताउँदै यस्तो बेला सरकार बदल्नेसम्मको कार्यले राजनीतिक स्थिरता मात्र नबिथोलिई संसद्मा उपस्थित राजनीतिक दलको प्राथमिकता केवल सत्ताको जोडघटाउ मात्र रहेको गलत सन्देश प्रवाह भई हामीले अवलम्बन गरेको राजनीतिक प्रणालीप्रति नै वितृष्णा बढाउने औँल्याउनुभएको छ ।
डा अर्जुन कार्की, विपीन अधिकारी, कनकमणि दीक्षित, टीका ढकाल, जयप्रकाशप्रसाद गुप्ता, रामेश्वर खनाल, डा. रेणु अधिकारी, रेम विश्वकर्मा, सूर्यराज आचार्य र सुशील प्याकुरेलले संविधानको भावना र व्यवस्थालाई लत्याउने गरी सत्तारुढ दलभित्र सरकार फेर्ने चलखेल हुनुप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
आमनागरिक काम, दाम र मामसमेत त्यागेर कोभिड –१९ महामारीविरुद्ध संघर्षमा सहभागी भएकाले केही शुरुआती सफलता हात लाग्न थालिसकेको जनाउँदै उहाँले यसलाई अवरुद्ध गर्ने, नागरिकका अत्यावश्यक प्राथमिकतालाई बेवास्ता गर्ने तथा विश्वमा राष्ट्रको सम्मानलाई समेत आघात पार्ने प्रवृत्ति देखापर्न थालेको भनी चिन्ता र सरोकार पनि प्रकट गर्नुभएको छ ।