वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले प्रदेशका १३ वटै जिल्लामा प्रदेश सरकारअन्तर्गत विकास निर्माणका काम धमाधम सञ्चालन भइरहेको बताउनुभएको छ । त्रिभुवन राजपथको वैकल्पिक मार्गको रूपमा प्रदेश सरकारले निर्माण गर्दै गरेको सडक खण्डको अनुगमनका क्रममा रासससँग कुरा गर्दै मन्त्री फुँयालले मन्त्रालयले लकडाउनलाई अवरोधरहित विकास निर्माणका अवसरका रूपमा प्रयोग गरिरहेको बताउनुभयो ।
लकडाउनका कारण युद्धस्तरमा काम गर्न नपाए पनि सामाजिक दूरी कायम गर्दै कामलाई निरन्तरता दिइएको मन्त्री फुँयालको भनाइ छ । वर्षायाम शुरु भएसँगै बाढी आउन सक्ने र धेरै काम भइसकेका योजनामा क्षति पुग्न सक्ने भएकाले सडक, ड्याम, पुल, पुलेसालगायत आयोजनाको निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने उहाँले बताउनुभयो ।
निर्माणाधीन आयोजनाको प्राविधिकसहित टोलीले निरन्तर अनुगमन र निरीक्षण भइरहेको बताउँदै मन्त्री फुँयालले आफूसमेत बरम्बार अनुगमनमा निस्कने गरेको उल्लेख गर्नुभयो । कतिपय आयोजनाको निरीक्षण र अनुगमनमा मुख्यमन्त्रीसमेत जानुभएको उहाँले जानकारी दिनुभयो । उहाँले लकडाउनका कारण बाहिरबाट आएका अधिकांश श्रमिक घर गएको भए पनि स्थानीय श्रमिकले अवसर पाएको बताउनुभयो ।
सो अवसरमा मन्त्रालयका यातायात पूर्वाधार निर्देशनालयका प्रमुख सहदेव भण्डारीले लकडाउनले विकास निर्माणका काममा समस्या पारे पनि आयोजनाको कामलाई निरन्तरता दिइएको बताउनुभयो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर आवश्यक सामग्रीको आपूर्ति गर्नुका साथै अन्य जटिलता चिरेर काम भइरहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख पुष्कर पोखरेलले हेटौँडाको राप्ती तटमा निर्माणधीन सडक तथा ड्यामको ‘लञ्चिङ’ को काम बर्खाअघि कुनै पनि हालतमा सक्नुपर्ने भएकाले काम सञ्चालन गरिएको बताउनुभयो ।
यसैबीच वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकार तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कमजोर बनाउन प्रतिपक्षसँगै पार्टीकै जिम्मेवार नेताहरु लागेको आरोप लगाउनुभएको छ । आज रासससँग कुरा गर्दै नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री ढुङ्गेलले कसैले चाहँदैमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा नआउने बताउनुभयो ।
“देशमा स्थिरता नचाहने केही व्यक्ति तथा समूहले के–के गर्दा सरकारलाई कमजोर बनाउन सकिन्छ, के–के गर्दा प्रधानमन्त्रीको कद होचो देखाउन सकिन्छ, त्यहीँ–त्यही गरिरहेका छन् तर सम्पूर्ण नेपाली जनताको आशा र भरोसाका केन्द्र ओलीको कद झन्–झन् उच्च हुँदैछ”, उहाँले भन्नुभयो ।
मन्त्री ढुङ्गेलले यो सरकारको पालामा जस्तो विकास कसैको पालामा पनि नभएको भन्दै भए देखाउन चुनौती दिनुभयो । नेकपा युवा नेताहरुलाई अपहरणकारीको आरोप लगाएको प्रति असन्तुष्टि जनाउँदै मन्त्री ढुङ्गेलले पूर्वमन्त्री डा सुरेन्द्र यादवलाई अपहरण गरिएको भनेर राजनीतिक मसला बनाउन खोजिएको बताउनुभयो । मन्त्री ढुङ्गेलले वर्तमान समय आग्रह र पूर्वाग्रहबाट माथि उठेर सबै दल र नेतृत्व तथा आम नेपाली कोरोना भाइरसविरुद्ध अभियानमा एकताबद्ध भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।