सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक नबोलाए विकल्प सोच्नुपर्ने बताएका छन् । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरूलाई निवासमै बोलाएर छलफल गरेका थिए ।
“स्थायी कमिटीको बैठक तुरुन्त बोलाउनुपर्यो/पर्छ भन्यौं । दुईजना अध्यक्षलाई लिखित रूपमा आग्रह गरेका छौं । २० जना सदस्यले गरेको आग्रह अटेर गर्न मिल्दैन, दायाँबायाँ गर्न मिल्दैन । लकडाउनकै बीचमा भए पनि स्थायी कमिटी बोलाउनुपर्छ । मैले पार्टीका नेता माधवकुमार नेपाललाई यही सुझाव दिए,” पार्टी स्थायी कमिटी सदस्य रघुजी पन्तले भने ।
“अध्यक्ष ओलीले बैठक डाक्न अलमल गर्नुभयो भने स्थायी कमिटी सदस्यले विकल्प सोच्छन्,” उनको भनाइ थियो, “उहाँहरूले बैठक बोलाउनुहुन्छ । दुवै अध्यक्षले आग्रह लत्याउन सक्दैनन् । हामी जे भन्नुपर्ने हो स्थायी कमिटी बैठकमै भन्छौं ।”
स्थायी कमिटीमा नेपाल पक्षीय १३ जना नेताहरू छन् ।अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, घनश्याम भुसाल, भीम आचार्य, भीम रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, योगेशकुमार भट्टराई, रघुजी पन्त, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे, अमृतकुमार बोहोरा नेपाल पक्षधर नेताहरू हुन् ।