कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गरी ल्याउने विषयमा आवश्यक प्रक्रिया द्रुतगतिमा अगाडि बढिरहेको नेपाली सेनाले जनाएको छ । सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि सरकार–सरकार (जिटुजी) मार्फत प्रक्रिया अगाडि बढाएको हो ।
तत्कालका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री हवाई माध्यमबाट ल्याउने तयारी गरिएको छ । यस्तै केही सामान भने स्थलमार्गबाट ल्याउने तयारी भइरहेको छ । छिटोभन्दा छिटो सामग्री ल्याउनका लागि गरिएको पहलअनुसार नै काम भइरहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । कोभिड–१९ क्राइसिस म्यानजेमेन्ट सेन्टर (सिसीएमसी)ले आज छाउनीस्थित नेपाली सेनाको रेञ्जर गणमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पाण्डेले सामान आयातका लागि विभिन्न ११ संस्था इच्छुक देखिएको जानकारी दिनुभयो ।
उनीहरुको निवेदनअनुसार छनोट प्रक्रिया जारी रहेको छ । गत शुक्रबार तीनदिने म्याद राखेर गरिएको आह्वानमा इच्छुक देखिएकाहरुको छनोट गरी सामान आयातको जिम्मा दिन लागिएको उहाँको भनाइ छ । सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भई रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टुङ्गिएको जनाएको हो ।
पैसा पठाएको सातदेखि १० दिनभित्र चीनबाट सामान उपलब्ध गराउने जानकारी आएको बताउँदै उहाँले ढुवानीका लागि लाग्ने रकमका सम्बन्धमा रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा आग्रह गरिएको बताउनुभयो । अत्यावश्यक सामान खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग सम्झौता भएको हो । दुई देशबीच भएको सम्झौतामा रकम भुक्तानी गरेको एक साताभित्र सबै सामग्री चिनियाँ पक्षले ग्वान्जाओमा जम्मा गरिदिने जनाएको छ । ती सामानमध्ये अत्यावश्यक सामान आयातका लागि हवाईजहाज पठाइनेछ । जहाजबाट तीन खेपमा सामान ल्याउने तयारी छ ।
यस्तै स्थलमार्गबाट आउने सामान भने ग्वान्जाओबाट सात दिन लगाएर नेपालको तातोपानी आइपुग्नेछ । भन्सार जाँच प्रक्रियाका लागि दुई दिन लाग्ने जनाइएको छ । अत्यावश्यक सामग्री हवाईमार्गबाट ल्याउने विषयमा हवाईसेवा प्रदायकसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । “हामीले नेपाल एयरलाइन्स र श्रीएयरसँग छलफल गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “ग्वान्जाओमा सामग्री जम्मा भएपछि निष्कर्षमा पुगिनेछ ।”
अत्यावश्यक बाहेकका सामग्री सडक मार्गबाट ढुवानीका लागि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । बेइजिङस्थित नेपाली दूतावास तथा ग्वान्जाओस्थित महावाणिज्य दूतावासमार्फत पनि चिनियाँ ढुवानीकर्तासँग नियमित छलफल भइरहेको छ । अत्यावश्यक सामग्री तातोपानी नाकामा ल्याएर अर्को गाडी राखेर नेपाल ल्याउनेभन्दा पनि सकभर चिनियाँ ढुवानीकर्ताको साधनबाट एकैचोटी डिपोमा ल्याउने तवरले कुराकानी भएको छ ।
चीन सरकारले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन प्राथमिकता दिएको छ । कोरोनाले विश्वव्यापी महामारीको रूप लिएसँगै प्रभावित मुलुकमा चीनले स्वास्थ्य सामग्री आपूर्ति गरिरहेको छ । प्रवक्ता पाण्डेले महामारीको अवस्थामा चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने मुलुकको सूचीमा नेपाल ८१औँ स्थानमा रहे पनि चिनियाँ पक्षले नेपाललाई जतिसक्दो चाँडो आवश्यक सामग्री उपलब्ध गराइदिने बचनबद्धताव्यक्त गरेको पनि जानकारी दिनुभयो ।
व्यक्तिगत सुरक्षाका सामग्री (पिपिइ), मास्क, कोरोना परीक्षणका लागि आवश्यक कीटलगायत अत्यावश्यक सामग्री हवाई र अन्य सामग्री सडकमार्ग हुँदै ल्याउने तयारी गरिएको छ । प्रवक्ता पाण्डेले भारतबाट कोभिड–१९ का बिरामीलाई दिइने औषधि खरिद गर्ने विषयमा पनि छलफल भइरहेको बताउनुभयो । सरकारले भारतबाट ५३ प्रकारको औषधि ल्याउने तयारी गरेको छ । “हामीले नेपाललाई आवश्यक पर्ने औषधिको सूची पठाएका छौँ, भारतीय पक्षसँग औषधि खरिदपछि भुक्तानी गरे पनि हुने जनाएको छ । भारतको विपिपिआइसँग औषधि खरीदका लागि सम्झौता भएको छ । कूल ५३ प्रकारको औषधि भारतबाट ल्याउन लागिएको हो ।
यस्तै स्वास्थ्य सेवा विभागले बोलपत्रमार्फत खरिद गरेका स्वास्थ्य सामग्री पनि केही आयात भइसकेको र केही आउने क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । “अत्यावश्यक सामग्री खरिदका लागि भएको प्रयासअनुसार नै काम भएको छ । केही सामान आइसकेको छ भने केही आउने क्रममा छन्”, उहाँले भन्नुभयो ।
यस्तै यही चैत १० गते चीन सरकारले सहयोगस्वरुप पिसीआर मेसिन दुई, पिसीआर रिजेन्ट २० हजार, भिटिएम २० हजार र पिपिइ १० हजार प्राप्त भएको छ । साथै सिङ्गापुरबाट यही चैत १२ गते १० हजार थान पिसीआर परीक्षण किट प्राप्त भएको छ । देशभर नै पिपिइ, परीक्षण किट, औषधि र औषधिजन्य सामग्रीलगायत कोभिड–१९ सङ्क्रमण तथा रोकथामका लागि आवश्यक पर्ने वस्तु पर्याप्त मात्रामा मौज्दात राख्नका लागि ३० आपूर्तिकर्तालाई स्वास्थ्य सेवा विभागमार्फत २० लाख एक हजार ३५६ अमेरिकी डलर बराबरको सटही सुविधा प्रदान गरिएको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।