विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावबाट बच्न सरकारले लकडाउन घोषणा गरेपछि विभिन्न पेशा व्यवसाय गर्दै आएका व्यवसायीहरु मर्कामा परेका छन् । त्यसमा पनि पशुजन्य व्यवसाय गर्दै आएका व्यवसायीका समस्या जटिल बन्दै गएका छन् । लकडाउन लम्बिएसँगै यो व्यवसाय गर्दै आएका व्यवसायी चिन्तितसमेत बनेका छन् ।
वालिङ नगरपालिका–९ पिपलटारीमा इन्द्रेणी बङ्गुर फार्म सञ्चालन गर्दै आउनुभएका भीमप्रसाद लुइँटेलले लकडाउनका कारण बङ्गुरका पाठापाठी बिक्री नहँुदा आफू समस्यामा परेको बताउनुभयो । लुइँटेलले भन्नुभयो, “अहिले फार्ममा ३०० बढी पाठापाठी छन् । तीमध्ये २०० पाठापाठी बिक्री गर्नका लागि तयारी अवस्थामा पुगेका छन् तर लकडाउनका कारण बिक्री नहँुदा साह्रै समस्या भएको छ ।” बन्द हुनुभन्दा पहिले मासिक १५० भन्दा बढी पाठापाठी बिक्री हुने गरेकामा अहिले बिक्री गर्न नपाउँदा खोरमा बढी पाठापाठी भएर दैनिकजसो तीन÷चार पाठापाठी मर्ने गरेको बताउनुभयो ।
पाठापाठी बिक्री नहुँदा बङ्गुरलाई दान खुवाउनसमेत समस्या भएको लुइँटेलको भनाइ छ । नगरपालिकामा आफ्नो समस्याबारे कुरा राखेको र नगरपालिकाले समस्या समाधानका लागि पहल गर्ने बताए पनि अहिलेसम्म केही नगरेको उहाँले बताउनुभयो । वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले बङ्गुरपालक व्यवसायीको समस्या समाधानका लागि आफूले कास्की जिल्लासँग समन्वय गरे पनि अहिलेको अवस्थामा बङ्गुरका पाठापाठी कसैले लैजान नचाहेकाले समस्या भएको बताउनुभयो । नगरप्रमुख खाँणले भन्नुभयो, “पहिलेदेखि नै इन्द्रेणी बङ्गुर फार्मले जिल्ला बाहिर बेच्दै आएकाले अहिले जिल्ला बाहिरबाट माग नआएकोले समस्या भएको बताउँदै आवश्यक दानाका लागि सहजीकरण गर्ने जानकारी दिनुभयो ।”
युवा व्यवसायी लुइँटेलले विसं २०७१ देखि शुरु गरेको इन्द्रेणी बङ्गुर फार्ममा अहिले लगानी करिब साढे दुई करोड पुगेको छ । नेपाली सेनाको जागिर छाडेर वैदेशिक रोजगारीको सिलसिलामा दुबइ पुगेका लुइँटेल केही वर्षको विदेश बसाइँलाई बिट मार्दै स्वदेशमै केही गरौँ भन्ने उद्देश्यले वालिङ नगरपालिका–१४ स्थायी घर भएका लुइँटेलले बङ्गुरपालन व्यवसायको शुरुआत गर्नुभएको थियो । शुरु–शरुमा बङ्गुर पाल्दा बाहुनको छोराले पनि बङ्गुर पाल्छन् भनेर भन्नेहरु छोटो समयमै उहाँले गरेको प्रगति देखेर प्रशंसासमेत गर्ने गर्थेँ, तर लकडाउनका कारण व्यवसायमा उदाहरणीय बनेका व्यवसायी यतिबेला भने चिन्ति बन्नुभएको छ । उहाँको फार्ममा अहिले ३०० माउ बङ्गुर र ३३५ पाठापाठी रहेका छन् । बङ्गुरले पाठापाठी जन्माइरहने र पाठापाठी धेरै हुँदा सीमित खोरमा राख्नुपर्दा मिच्चिएरसमेत मर्ने गरेको, भिटामिन, औषधि, दानालगायत व्यवस्थापन गर्न समस्या परेको लुइँटेलले बताउनुभयो ।
यसैगरी वालिङ नगरपालिका–१२ स्थित फौदीखोलामा शुभबिहानी बङ्गुरपालन फार्म सञ्चालन गर्दै आउनुभएका डम्मरबहादुर गुरुङले
पनि बङ्गुरका पाठापाठी बिक्री नहुँदा समस्या परेको बताउनुभयो । रु आठ लाख लागतमा बङ्गुरपालन व्यवसाय गर्दै आउनुभएका गुरुङले पाठापाठी बिक्री नहुँदा दाना किन्नसमेत समस्या भएको बताउनुभयो । गुरुङले भन्नुभयो, “पाठापाठी बेच्न पाएको छैन । लकडाउन हुनुभन्दा पहिले पाठापाठीको माग बढी रहे पनि अहिले कोही नआएको बताउनुभयो ।” एक पाठापाठीलाई रु पाँचदेखि पाँच हजार ५०० सम्ममा बेच्ने गरे पनि अहिले बेच्ने बेला भएका ७० पाठापाठी बिक्री नभएर यत्तिकै रहेको बताउनुभयो I
गुरुङ र लुइँटेल त उदाहारण मात्रै हुन् यस्तैगरी जिल्लाका अन्य व्यवसायीसमेत लकडाउनले गर्दा व्यवसाय धान्न नसक्ने अवस्थापा पुगेका छन् । पशुपालन व्यवसायलाई आफ्नो मुख्य व्यवसाय बनाउँदै आएका किसान यतिबेला समस्यामा परेका छन् ।