सिङ्गो नगरपालिकाको सम्पूर्ण विषय समेट्ने गरी नक्सा तयार पार्न चाँगुनारायण नगरपालिकाले ड्रोनबाट सर्वेक्षण एवं नक्साङ्कन गर्ने कार्य शुरु गरेको छ । नगरपालिकाले दुवाकोटबाट ड्रोन उडान शुरु गरेको हो । चाँगुनारायण नगरपालिकाको सबै वस्तुचित्र आउने गरी अबको दुई साता चाँगुनारायण नगरपालिकाको आकाशमा ड्रोन उड्ने नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।
नगरपालिकाको लगानीबिना नै इसीमोडलगायत विभिन्न सङ्घसंस्थाको सहयोगमा ड्रोनबाट डिजिटल नक्सा तयार पार्न लागेको बताउँदै उहाँले काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा ड्रोन सर्वेक्षण एवं नक्साङ्कन गर्ने उद्देश्य राखेको यस परियोजनाको उपत्यकामा पहिलो परीक्षण सर्वेक्षण चाँगुनारायण नगरपालिकाबाट शुरु भएको जानकारी दिनुभयो ।
नगरप्रमुख मिश्रले भन्नुभयो, “विभिन्न सङ्घसंस्थाको सहयोगमा नगरपालिकाको बिनालगानी नगरपालिकाको जिपीएस लोकेशन लिने काम शुरु भएको छ, यसबाट नगरपालिकाभित्र रहेका सम्पूर्ण घर, स्कूल, सडक, जङ्गल, भिरपाखो, जमिन, जग्गा प्लटिङदेखि सबै भौतिक संरचना ड्रोन क्यामराले खिचेर नक्सा तयार पार्ने छ ।”
ड्रोनमा दुई अत्याधुनिक क्यामरा जडान गरी नक्साङ्कन गर्ने काम भइरहेको जानकारी दिँदै डिजिटल नक्सा तयार भएपछि कसैको घरमा पुग्नुपर्दा फोन नं हान्दा घरको ढोकामै पुग्न सकिने उहाँको दाबी छ । यसबाट नगरपालिकामा रहेका १२ हजारभन्दा बढी घरधुरी, ६२ दशमलव ९८ स्क्वायर किलोमिटर नगरपालिकाको क्षेत्रफल डिजिटल नक्सामा उत्रिनेछ ।
नक्सा तयार भएपछि नगरपालिकाले आगामी दिनमा सहजरूपमा योजना बनाउन सक्ने, विपद् व्यवस्थापनमा अग्रिम तयारी एवं सहज हुने र नगरपालिकाको विकासमा यसले टेवा पु¥याउने अपेक्षा लिएर सम्बन्धित निकायको अनुमतिमा ड्रोन उडान गरिएको उहाँको भनाइ छ । अबको दुई साता आफ्नो घर, आँगन, खेत, बारी, सडकमाथि हवाईजहाजजस्तो देखिने ड्रोनयन्त्र आएमा सहजता अपनाउन नगरवासीलाई नगरप्रमुख मिश्रले आग्रह गर्नुभयो ।