मुसलमान समुदायले आजदेखि शुरु भएको सबैभन्दा ठूलो र पवित्र पर्व रमजानमा बन्दाबन्दीले गर्दा घरभित्र नमाज पढिरहेको छ । रमजानमा ३० दिनसम्म दिउँसो रोजा(व्रत) बस्ने र दैनिक पाँच पटक मस्जिदमा पुगेर नमाज पढिन्छ । साँझमा भने घरपरिवार र आफन्त भेला भएर खानपिन गरिन्छ ।
मुस्लिम संगठन नेपालका दाङ जिल्ला इञ्चार्ज एवम् केन्द्रीय सचिवालय सदस्य साजिदा सिद्धिकी सबैलाई रोगको संक्रमणबाट जोगिन नेपाल सरकारले लागु गरेको लकडाउनको पालना गर्दै आआफ्नो घरमा नमाज पढ्न अनुरोध गरिएको बताउनुहुन्छ । “हामीले कसैलाई पनि मस्जिदमा नजान र रमजानको नाममा आफन्तहरुको झुण्ड जम्मा नगर्न अनुरोध गरेका छाँै ”, उहाँले भन्नुभयो, “मुस्लिम समुदायका व्यक्तिहरु पनि निकै सचेत भएको पाएको छु । अहिले कोही पनि मस्जिद जानुभएको छैन । आफन्तीहरुबीचको भेटघाट पनि रोकिएको छ ।”
यस्तै घोराही बजार छेउमै रहेको अम्बिकेश्वरी मन्दिरमा अहिले कोही पनि पूजा गर्न जादैनन् । दैनिक सयौँको संख्यामा पूजाआजा र घुम्न आउने स्थल अहिले ठप्प छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमुद पोखरेलका अनुसार ‘लकडाउन’ शुरु भएपछि मन्दिरमा एक जना पनि आएका छैनन् । ‘दैनिक दर्जनौँ विवाह, ब्रतबन्ध, पास्नी, गाडी पूजा मन्दिरमा हुन्थ्यो तर अहिले सुनसान छ’, उहाँले भन्नुभयो ‘मन्दिरमै बस्दै आउनुभएका पुजारीले पूजा गर्दै आउनुभएको छ ।’
यस्तै विश्वकै अग्लो त्रिशूल भएको पाण्डवेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट दैनिक रु १० देखि २० हजारसम्म हुने आर्थिक उपार्जन हुने गरेकामा ठप्प भएको बताइएको छ । दाङमा दुई दर्जनभन्दा बढी चर्चित हिन्दू धार्मिक मठमन्दिर छन् । दाङका कतिपय धार्मिक क्षेत्रले आवतजावतमा समेत रोक लगाएका छन् ।
घोराहीस्थित बौद्ध गुम्बामा सधैँजसो दर्शन गर्न, घुम्न र दियो बाल्न आउनेहरु अहिले आउन छोडेका छन् । गुम्बामा ‘मलम’ पढ्दै आउनुभएका पुजारी कालशाङ लामाका अनुसार लकडाउन शुरु भएदेखि एक जना पनि अहिले गुम्बामा आएका छैनन् । उहाँ एक्लै गुम्बामा दैनिक दुई पटक सर्वोप्राणी हितका लागि भन्दै मलम पढ्नुहुन्छ तर सुन्ने कोही हुँदैन ।
दाङमा १२ वर्षदेखि गुम्बामा नियमित पूजाआजा हुँदै आएको छ । बुद्धधर्ममा आस्था राख्ने बौद्ध समुदायका विक्रम तामाङका अनुसार अहिले दाङमा करीब एक हजार मगर, तामाङ र गुरुङ समुदायका व्यक्तिले बुद्धधर्म मान्दै आएका छन् ।
घोराही ढिकपुरका जेसिज चौधरी पनि हिजोआज घरमै बसेर प्रार्थना गर्नुहुन्छ र आफूलाई मनपरेको व्यक्तिको धार्मिक प्रवचन युट्युबमा हेर्नुहुन्छ । हरेक शनिबार चर्च(मण्डली)मा पुगेर प्रार्थना गर्ने र प्रवचन सुन्ने इसाई समुदायका व्यक्ति अहिले घरमै आफ्नो धार्मिक गतिविधि गर्न थालेका छन् । चौधरी भन्नुहुन्छ ‘अहिले लकडाउनको कारण सबै चर्चहरु बन्द भइसकेका छन् । हामे घरमै बसेर प्राथना गर्छौँ ।’ दाङमा करीब एक सय मण्डली गाउँटोल र बजारमा स्थापना भएका छन् । लकडाउनअघि हरेक मण्डलीमा ५० देखि एक सय जनासम्म बसेर प्रार्थना गर्ने गरेको उहाँले बताउनुभयो ।
रमजान मनाउन राहत
तानसेन– पाल्पामा रहेको मुसलममान समुदायले घरघरमै नमाज पढेर रमजान मनाइरहेको छ । बेलुकी घाम डुबेपछि जून हेरेर मस्जिदमा सामूहिक नमाज पढेर शुरु गरिने रमजानमा यस वर्ष भने विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन घरघरमै नमाज पढिएको इस्लामिक संघका महासचिव अबुल कलामले बताउनुभयो ।
जिल्लाकै धेरै मुसलमान समुदायको बसोबास रहेको रामपुर इस्लामपुरमा रोजा बस्न सहज होस् भनेर प्रतिपरिवार रु दुई हजार पाँच सयका दरले ६० परिवारलाई वितरण गरिएको इस्लामिक सक्रिय युवा समाजका संस्थापक अध्यक्ष खुर्सिद अहमदले जानकारी दिनुभयो ।
पाल्पामा तानसेन नगरपालिका, आर्यभन्ज्याङ, हार्थोक, रामपुर नगपालिकाका खालिवनलगायत स्थानमा मुसमालन समुदायको बाक्लो बस्ती छ । जिल्लामा करीब दुई हजार मुसलमानको बसोबास रहेको इस्लामिक जिल्ला एकाइ संघले जनाएको छ ।