भक्तपुर नगरपालिकाले नगरका पाँच हजार ९०९ कृषकलाई खुमल–११ ताइचीन जातको धानको बीउ वितरण गरेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेको देशव्यापी लकडाउनलाई ध्यानमा राख्दै नगरपालिकाले नगरका १ देखि १० सम्मका सबै वडाकार्यालयमार्फत प्रतिपरिवार दुई केजी ५०० ग्राम अर्थात् एक पाथी धान निःशुल्क वितरण गरेको हो । भक्तपुर नगरपालिकाका विभिन्न वडाले स्थानीय स्वयंसेवक परिचालन गर्दै वडा कार्यालय र घरदैलो गरी कृषक परिवारलाई धानको बीउ वितरण गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।
त्यसैगरी जिल्लाको चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा मकै, भटमास, धान, कोदो, फापरलगायतको बीउ वितरण शुरु गरकोे छ । लकडाउनका बेलामा कृषकलाई सहजरूपमा बीउ उपलब्ध गराउने लक्ष्यका साथ नगरपालिकाले सबै किसानका लागि वडा नं १ देखि ९ सम्मका सबै वडा कार्यालयबाट कृषकलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण शुरु गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।
नगरपालिकाले पहिलो चरणमा मनकामना–३ जातको मकै र भटमासको बीउ वितरण शुरु गरेको छ । बीउ वितरणका लागि नगरपालिकाले एक हजार १०० किलो मकै प्रतिकिलो रु १३० मा खरिद गरेर ल्याएको र किसानलाई ५० प्रतिशत अनुदानमा मकै र भटमासको बीउ वितरण गर्न शुरु गरेको नगरप्रमुख मिश्रले जानकारी दिनुभयो । नगरपालिकाले दोस्रो चरणमा धानको बीउ वितरण गर्ने भएको छ । यसका लागि खुमल–१० र खुमलटार ताइचिन–२४२ जातको १० टन धानको बीउ यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिने नगरप्रमुख मिश्रले जानकारी दिनुभयो ।
प्रतिकिलो रु १०० मा खरिद गरेको धान किसानलाई प्रतिकिलो रु ५० मा वितरण गरिने भएको छ भने दलित, जनजाति तथा लक्षित वर्गलाई कोदोको बीउ २०० किलो र फापरको बीउ २०० किलो निःशुल्क वितरण गर्ने भएको छ ।
जग्गा बाँझो राखे कारवाही
त्यसैगरी अब सूर्यविनायक नगरपालिकामा कसैले पनि जग्गा बाँझो राख्न नपाउने भएका छन् । नगरपालिकाले यस वर्षदेखि जग्गा बाँझो राख्नेलाई कारवाही गर्ने नीति लिएको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । त्यस्तै सूर्यविनायक नगरपालिकाले पनि आफ्ना नागरिकका लागि निःशुल्क बीउ वितरण गर्ने भएको छ ।
गत वर्ष पनि तरकारी र धानको बीउ निःशुल्क वितरण गरेको नगरपालिकाले यस वर्ष पनि निःशुल्क बीउ वितरण गर्ने भएको हो । लकडाउनले किसानले बीउ खरिद गर्नसमेत नपाएको अवस्थामा नगरपालिकाले बीउ निःशुल्क वितरण गर्ने तयारी गरेको नगरप्रमुख थापाले जानकारी दिनुभयो ।