डडेल्धुराको महाभारत वन क्षेत्रमा पाटेबाघ देखिएपछि दोस्रो चरणको क्यामेरा ट्रयापिङ शुरु गरिएको छ । जिल्लाको महाभारत क्षेत्रको भागेश्वर करिडोरमा समुद्री सतहदेखि २ हजार ५०० मिटरको उचाइमा पाटेबाघको इमेज ट्रयाप भएपछि दोस्रो चरणको अध्ययन गर्नका लागि ३० जोडी क्यामेरा जडान गरिएको छ ।
तराई तथा भूपरिधि कार्यक्रम, विश्व वन्यजन्तु कोष र डिभिजन वन कार्यालय डडेल्धुराको आयोजनामा भागेश्वर करिडोरमा पाटेबाघलगायत अन्य वन्यजन्तुको उपस्थितिको दोस्रो चरणको अध्ययन गर्नका लागि क्यामेरा जडान गरिएको हो । यसपटक परशुरामधाम सवडिभिजनअन्तर्गत पर्ने वनक्षेत्र (महाकाली नदीको किनारासम्म र साविकको शीर्ष गाविस) र भागेश्वर सवडिभिजनअन्तर्गत रुपाल क्षेत्रसम्म गरिने डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।
अध्ययनका लागि वन कार्यालयको तर्फबाट पाँच सहयोगी र तराई तथा भूपरिधि आयोजनाको तर्फबाट पाँच क्यामेरा ट्रयापिङ प्राविधिक खटाइएको आचार्यले जानकारी दिनुभयो । ट्रयापिङ गर्नमा स्थानीय सरकारका प्रतिनिधि, स्थानीय सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज, सम्बन्धित सामुदायिक वनका उपभोक्तालाई सहयोग गर्न वन अधिकृत आचार्यले आग्रह गर्नुुभएको छ ।
यसअघि ६ मार्चदेखि ६ अप्रिलसम्म महाभारत वन क्षेत्रमा वन्यजन्तुको अध्ययन गर्ने क्रममा पाटेबाघ क्यामेरा ट्रयापिङमा परेको थियो । एक स्थानमा पाटेबाघ क्यामेरामा ट्रयाप भएको थियो भने रेडफक्स, चितुवा, घोरल, लार्ज इन्डियन सिभेट, लिओपार्ड क्याट, दुम्सी, मृगका प्रजाति र चरालगायत तस्वीर क्यामेरामा कैद भएका थिए । समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा अवस्थित महाभारत वन क्षेत्रमा पाटेबाघ (रोयल बङ्गाल टाइगर) देखिएको थियो । वन विभाग, विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) संरक्षणकर्मीसँग भेरिफाइ गर्दा नेपालको त्यति उचाइमा पाटेबाघ भेटिएको पहिलो घटना भएको पुष्टि भएको आचार्यले बताउनुभयो ।