दुहुँ गाउँपालिका–३ ले सामाजिक सुरक्षाभत्ता वितरण गर्दा स्वास्थ्य जाँचसमेत गर्न थालेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन तथा उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उद्देश्यले सामाजिक सुरक्षाभत्ता वितरण गर्दा स्वास्थ्य जाँच गर्न थालिएको हो ।
“सामाजिक सुरक्षाभत्ता पाउने सबै व्यक्तिको स्वास्थ्य जाँच गरी औषधिसमेत दिइएको छ”, वडाध्यक्ष लालबहादुर बमले भन्नुभयो, “वडा कार्यालयमा बोलाएर सामाजिक सुरक्षाभत्ता पाउने लक्षित वर्गको स्वास्थ्य जाँच गरिएको हो ।” गाउँपालिकाले नेपाल इन्भेष्टमेन्ट बैंक र वडा कार्यालयले कोराना भाइरसको महामारीका कारण सामाजिक सुरक्षाभत्ता वडा कार्यालयमै आएर वितरण गरिएको वडाध्यक्ष बमले बताउनुभयो । अहिलेको अवस्थामा बैंकमा पठाउन समस्या हुने भएपछि गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमको समेत उपस्थितिमा सामाजिक सुरक्षाभत्ता वितरण गरिएको हो ।
वडा नं ३ मा ज्येष्ठ नागरिक ८०, ज्येष्ठ दलित २७, पूर्ण अपाङ्गता चार, आंशिक अपाङ्गता चार, बिधवा महिला ६२ र दलित बालबालिका २४ गरी कूल २०१ जनालाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको हो । सामाजिक सुरक्षाभत्ता वितरण गर्दा सामाजिक दूरी कायम गरिएको थियो । दुई दिन लगाएर स्वास्थ्य जाँच र भत्ता वितरण गरिएको हो । दोस्रो चौमासिकको सामाजिक भत्ता अहिले वडा नं ३ बाट शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले बताउनुभयो ।
यस्तै दुहुँ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा उनीहरुको स्वास्थ्य जाँच गरी औषधिसमेत वितरण गरिएको छ । स्वास्थ्य संयोजक दिनेशकुमार सिंह, ब्रह्मदेव स्वास्थ्यचौकी अहेव भीम शाहले सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राहीको स्वास्थ्य जाँच गरेका हुन् । दुहुँभरिका सबै वडामा स्वास्थ्य जाँच गरी सामाजिक सुरक्षाभत्ता वितरण गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।
विगतमा सामाजिक सुरक्षाभत्ता लिन विगतमा बैंकसम्म पुग्नुपर्ने बाध्यता हटेपछि वृद्धवृद्धा पनि खुशी छन् । ८४ वर्षीया नन्दा कुँवरले भन्नुभयो, “वडामै रुपैयाँ पाउँदा निकै खुशी छौँ । औषधि पनि यही पाइयो । यति भए त सजिलो भइहाल्यो । उहाँजस्तै सयौँ ज्येष्ठ नागरिकले वडामै पुगेर सरकारी सामाजिक सुरक्षाभत्ता र स्वास्थ्य जाँच भएकामा खुशी व्यक्त गरेका थिए ।
एघार सय परिवारलाई खाद्यान्न
एक महिनादेखि कोरोना भाइरसका कारण काम गर्न नपाएर समस्यामा परेका व्यास गाउँपालिकाका एक हजार १०० परिवारलाई राहत वितरण भइरहेको छ । व्यास गाउँपालिकाले कोराना भाइरसका कारण लकडाउन हुँदा काम गर्न नपाएर खाद्यान्न अभाव झेल्दै आएका वडा नं १ देखि ६ सम्मका एक हजार ८२ घरधुरीलाई खाद्यान्न राहत वितरण गरिरहेको हो ।
व्यास गाउँपलिका क्षेत्रमा असङ्गठित श्रमिक, गरिब, असहाय, दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई दैनिक गुजारा चलाउन राहत वितरण भइरहेको व्यास गाउँपालिका कृषि शाखा प्रमुख विशेश्वरप्रसाद बडूले जानकारी दिनुभयो । गाउँपालिकाले वडा नं १ मा ५८ परिवार, वडा नं २ मा १५७ परिवार, वडा नं ३ मा ७७ परिवार, वडा नं ४ मा १३० परिवार, वडा नं ५ मा २९३ परिवार र वडा नं ६ मा ३५५ परिवारलाई राहत वितरण भइरहेको कृषि शाखा संयोजक बडूले बताउनुभयो । गाउँपालिकाले पूरा राहत पाउने र आधा राहत पाउने सङ्ख्या छुट्याएर राहत वितरण गरिरहेको छ । जसमा आधा राहत पाउनेमा १०३ परिवार छन् भने पूरा राहत पाउने परिवार सङ्ख्या ९७९ रहेको छ ।
शुक्रबार गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीको उपस्थितिमा वडा नं ६ का ३५५ परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ । लकडाउनका कारण नागरिकको घरको चुलो निभ्न नदिन स्वयं अध्यक्ष हरेक टोलमा पुगेर राहत वितरणमा सहभागी हुनुहुन्छ, संयोजक बडूले भन्नुभयो । काम गर्न नपाएर कसैलाई पनि भोकै बस्न दिइने छैन । उहाँले भन्नुभयो, “अहिले गाउँपालिकाले पूरा राहत पाउने परिवारलाई ३० केजी चामल, दुई केजी दाल, दुई केजी चिनी, दुई केजी आयोडिन नुन, दुई लिटर खानेतेल र चार वटा साबुन वितरण भइरहेको छ । यस्तै आधा राहत पाउने परिवारले १५ केजी चामल, एक केजी दाल, एक केजी नुन, एक केजी चिनी, एक लिटर तेल र दुईवटा साबुन वितरण गरिएको छ ।
गाउँपालिकाले सदरमुकाम खलङ्गाबाट ट्र्याक्टरमार्फत खाद्यान्न ढुवानी गरेर वितरण गरिरहेको छ । गाउँमा हरेक वडासम्म पु¥याउन खच्चडको प्रयोग भइरहेको छ । पूरै गाउँपालिकाभरका लागि कूल ३० हजार ७२० केजी चामल, २० क्विन्टल ४९ केजी दाल, २० क्विन्टल ४९ केजी नुन, २० क्विन्टल ४९ केजी चिनी, दुई हजार ४९ लिटर तेल र चार हजार ५८ थान साबुन वितरण गर्दैछ । हालसम्म गाउँपालिकाले वडा नं १, २, ३, ५ र ६ मा राहत वितरण गरिसकेको छ भने वडा नं ४ मा राहत वितरण बाँकी रहेको जनाइएको छ ।