कोरोनाले मानिस पीडित छन् तर यो के हो भनेर चाल पाएका छैनन्। कोही भन्छन् यो भाइरस हो। कोही भन्छन् यो किरा होइन। यो एउटा प्रोटिनको कण हो। कोही भन्छन् यो मानिसले चमेराको मासु खाएर निस्केको हो। कोही भन्छन्, यो कुनै प्रयोगशालाको उपज हो। मानिसले जान्न चाहन्छ आखिर यो हो के? यसैको खोजी गर्ने मानिसमा लत लागेका छ।
उही प्रश्न खडा भएको छ धर्मबारे पनि। यो सृष्टि सञ्चालनका नियम जानेर त्यसैअनुसार आचरण एवं व्यवहार गर्ने विद्या हो। यो कुनै व्यक्तिले बनाएको नियमअनुसार चल्ने होइन। जसले सृष्टिको रहस्य र उसको कार्य प्रणालीलाई सम्झो उनीहरूले नै धर्मको सूत्र दिए। यसद्वारा नै मानिसले सम्पूर्ण सृष्टिसित आफ्नो सामञ्जस्य कायम गर्न सके। सृष्टिको रहस्य र कार्यप्रणाली जान्नु नै अध्यात्म हो र त्यसअनुसार मानिसले आचरण गर्नु धर्म हो। अतः यो सृष्टिमा मानिसको कुनै स्वतन्त्र अस्तित्व छैन। मानिस पनि सृष्टिको एक अंगमात्र हो।
यही सृष्टिका नियमअनुसार नै मानिसको जीवन चलिरहेको छ। यिनै नियमको उल्लंघन गर्दा नै उसले अनेक थरीका रोग, शोक र दुःख भोग्नु परिरहेको छ। कोरोनाको कारण पनि यही हो। प्रकृतिको उल्लंघन गर्नु नै मानिसको विनाशको कारण हो। यसकारण अध्यात्मिकता र धर्म एक अर्काको अभिन्नत्रभाग हुन्। अध्यात्म ज्ञानबिना धर्मको स्वरूप बुझ्न सकिन्नत्र। त्यस अवस्थामा मानिसको आचरण कस्तो हुनुपर्छ भनेर भन्न सकिन्न। आजको भूमण्डलीय संसारमा एउटा विश्वधर्मको आवश्यकता देखिएको छ। त्यसका लागि हामीले अध्यात्मिकतालाई राम्ररी बुझ्न सक्नुपर्छ।
नन्दलाल दशोराकाअनुसार अध्यात्म सृष्टिको ज्ञान पक्ष हो भने धर्म उसको कृया पक्ष अथवा आचरण पक्ष। अध्यात्मले तत्तवबोध गराउँछ भने धर्मले त्यसलाई प्राप्त गर्ने उपाय सिकाउँछ। अध्यात्म चेतनाको विज्ञान हो भने धर्म त्यसको उपयोग गर्ने तरिका। अध्यात्ममा तात्तिवक विवेचना हुन्छ भने धर्म त्यसअनुसारको व्यवहारको प्रक्रिया हो। सृष्टिको शत्तिको ज्ञान अध्यात्म हो भने त्यसको प्रयोग गर्ने धर्म हो। अध्यात्म जान्नेले सृष्टिको रहस्य खोल्छ भने धार्मिक व्यक्तिले त्यसको पालन गर्छ। अध्यात्म एक आदर्श हो भने धर्म एक व्यवहार हो। धर्म जिउने कला हो, आत्मबोधको विद्या, सत्य अनुभूति गर्ने विद्या हो, आफैंमा अन्तरनिहित शक्तिको जागरण गर्ने विद्या हो र स्वयंलाई रूपान्तरण गर्ने विद्या हो। अध्यात्मबाट ईश्वर, सृष्टि र जीवबीचको सम्बन्ध जानिन्छ र त्यसलाई व्यवहारमा ल्याउनु धर्म हो। सृष्टिको अखण्डताको ज्ञान अध्यात्म हो भने यसको अनुभव गर्नु धर्म हो। अद्वैतको ज्ञान अध्यात्म हो भने योसित सम्बन्ध कायम गर्नु धर्म हो। मानिसको यही अध्यात्मिक उपलब्धि पाउनका लागि नै धर्मको जन्म भएको हो।
जुन बेला सृष्टिका नियमकानुनको उल्लंघन चरम सीमामा पुग्छ त्यसबेला कुनै अदृश्य दैविक शक्ति सक्रिय भएको देखिन्छ। कोरोनाको कहर पनि यही शक्तिको प्रतिक्रिया या खोजी भएको देखिन्छ।
यही धर्मको सम्बन्धमा गीतामा चर्चा गरिएको छ। श्री कृष्णले भनेका छन्, ‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत। अभ्युत्थानम् धर्मस्य तदात्मानं सृजाम्यहम्।’ जब जब धर्मको हानि हुन्छ र अधर्मको वृद्घि हुन्छ तब तब म यस संसारमा प्रकट हुन्छु। यसै कुरालाई व्याख्या गर्दै उनले भनेका छन्, ‘परित्राणाय साधुनां विनाशाय च दुष्कृताम्। धर्मसंस्थापनार्थाय सम्भावामि युगे युगे।’ साधु मानिसको उद्घार गर्न, पापीहरुको विनाश गर्न र धर्म राम्ररी कायम गर्न म बेलाबेलामा प्रकट हुने गर्छु। यसबाट थाहा हुन्छ कि यो संसार केही नियम कानुनअनुसार चलिरहेको छ। यी नियम कानुन सही ढंगले चलिरहेका छन् कि छैनन् भनेर पनि कसैले हेरिरहेका छन्। जुन बेला सृष्टिका नियम कानुनको उल्लंघन चरम सीमामा पुग्छ त्यसबेला कुनै अदृश्य दैविक शक्ति सक्रिय भएको देखिन्छ। कोरोनाको कहर पनि यही शत्तिाmको प्रतिक्रिया या खोजी भएको देखिन्छ।
धर्म भन्नाले हामीले यसलाई सृष्टि, प्रकृति र अध्यात्मसित जोडेर बुझ्नुपर्छ। पशु, पंक्षी, रुख विरुवा, जीवजन्तु आदि सबैले आआफ्नो धर्म पालन गरेका छन्। पृथ्वी, जल, आगो, हावा, आकाश, ग्रह आदिले पनि आआफ्नो धर्म मानेका छन्। आगोले आफ्नो तातोपना छाडिदिए, पानीले शितलता छाडिदिए, सूर्य उदाउन छाडिदिए, हावा बग्न छाडिदिए, सो सृष्टि याने ब्रह्माण्ड चल्न सक्दैन। यसैबाट थाहा हुन्छ सृष्टिको नियमअनुसार यो संसार चलिरहेको छ।
तर मानिस मात्र यस्तो जीव हो जसले सृष्टिको नियम बेवास्ता गरेर अहंकार देखाउने गरेको छ। उसले आफ्नो स्वार्थ र वासनाको कारणले यति अन्धा भइसकेको छ कि के ठीक के बेठीक भनेर छुट्याउन पनि सक्दैन। उसले आफ्नो इच्छाअनुसार संसारलाई चलाउन कोशिस गर्छ। यसै कारणले उसले दुःख, रोग र शोक भोग्नु परिरहेको छ। यसैकारण हामीलाई एउटा मानवताको धर्म चाहिएको हो। यो प्रकृतिसम्मत हुनुपर्छ।
अध्यात्मिकताले ईश्वरको अनुभूति हुन्छ। ईश्वरमाथिको विश्वासले सृष्टिमा एकत्व भएको महसुस हुन्छ। विश्ववन्धुत्वको ज्ञान पनि यसैबाट हुन्छ। यसलाई धर्मको आधारमा नै हासिल गर्न सकिन्छ। त्यसैले विश्वधर्मको प्रतिपादन गर्नु परेको हो।
योबिना मानिस अनेक प्रकारको द्वन्द्वमा फँसिरहने छन्। धर्मको नाममा नै आज मनुष्यसमाज विभत्त छ। हुन त ती सबै सम्प्रदाय हुन्। तर मानिस तिनै सम्प्रदायलाई धर्म भनेर मान्छन्। विश्वधर्मको प्रतिपादन गर्नु ती सम्प्रदायको नाश गर्नु होइन। तिनीहरू आफ्नो ठाउँमा काम गर्न सक्छन्। तर तिनीहरूले सारा संसारलाई जोड्न सक्दैनन्। सबै एकै ठाउँमा नजुटी कोरोना जस्तो रोगव्याधको सामना गर्नु कठिन छ। यो रोग कुनै प्रकारले हराएर गयो भने पनि यस्तै अरू रोग निस्कने छन्। यदि मानिस प्रकृतिको नियम पालन गर्दै जाने हो भने यस्तो व्यवधानबाट बच्न सक्छ। त्यसैकारण विश्वधर्मको खाँचो परेको हो।
लेखक: आदित्यमान श्रेष्ठको अनुमतिमा अन्नपूर्ण बाट साभार !