परीक्षणका रूपमा लगाइएको सयपत्री फूलले पहिलो उत्पादनमा नै राम्रो आम्दानी दिएपछि पाल्पा, रामपुर नगरपालिका –४ बस्ने दिलबहादुर थापाले पुष्प व्यवसाय विस्तार गर्नुभयो । बन्दाबन्दीले गर्दा दुई रोपनी जग्गामा लगाइएको सयपत्री बोटमै ओइलाएर खेर गएको छ । लकडाउनले बजारमा बिक्री गर्न नपाउँदा रु तीन लाख भन्दा बढी नोक्सान भएको थापा बताउनुहुन्छ ।
थापाले बुटवलमा एक हप्ताको तालीम लिएर एक वर्ष अघिदेखि व्यावसायिक तवरले पुष्प व्यवसाय शुरु गर्नुभएको हो । एक रोपनी क्षेत्रफलमा लगाइएको फूलबाट रु एक लाख ५० हजार बराबरको आम्दानी भएपछि व्यवसायमा हौसिनुभएका थापा फूल बिक्री गर्ने समयमा लकडाउनले गर्दा ओइलाएर झर्न थालेपछि चिन्तित हुनुहुन्छ ।
पहिलो पटक यहाँ फूल खेती शुरु भएपछि स्थानीयवासीको फूल खरीद तथा अवलोकनमा आकर्षण बढ्यो । थापा नेपालगञ्ज, बुटवल, पाल्पा सदरमुकाम तानसेन बजारलगायत स्थानमा फूल बिक्री गर्नुहुन्थ्यो । यहाँ उत्पादित फूल प्रतिकिलो रु चार सय र प्रतिमाला रु एक सयमा बिक्री भइरहेको छ ।
तानसेन नगरपालिका– ९ स्थित अर्खलेमा माडी माण्डव्य कृषि समूहले करीब १२ रोपनी क्षेत्रफलमा पुष्प व्यवसाय र तरकारी खेती गर्दै आइरहेको छ । सयपत्री, मखमली तथा विभिन्न जातका फूल उत्पादन गरी बिक्री गर्ने गरिएको समूहका अध्यक्ष दिनेश बस्याल बताउनुहुन्छ । समूहमा आबद्ध १५ फरक क्षमता भएका व्यक्तिले मात्र व्यवसाय चलाएका छन् ।
नर्सरीमा फुलेका फूल बिक्री गर्ने ठाउँ नहँुदा बोटमै ओइलाएर झर्न थालेको अध्यक्ष बस्यालले बताउनुभयो । फूल बिक्री गर्न नपाउँदा रु सात लाख बराबरको नोक्सान हुने अध्यक्ष बस्यालको अनुमान छ । यहाँ उत्पादित फूल सदरमुकाम तानसेन र बुटवल बजारमा खपत हुँदै आएको छ । जिल्लामा पछिल्लो समय फूलमा आकर्षण बढे पनि व्यावसायिक कृषक अत्यन्तै न्यून रहेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ ।
थोरै जग्गामा पनि फूल खेती गरेर राम्रो कमाइ गर्ने अवसर भए पनि जिल्लाका अधिकांश कृषकले खाद्यान्न र तरकारी बालीमा जोड दिने गरेको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ ।