कोभिड–१९ को सङ्क्रमण रोक्न जारी लकडाउनका कारण काठमाडौँमा रोकिएका जिल्लावासीको उद्धार भइरहेको छ । अत्यावश्यक काम लिएर राजधानी शहर पुगेका मानिस लकडाउनबीच घर फर्कन पाएका छन् । उपचारार्थ गएका, तिनका कुरुवा, महिला, ज्येष्ठ नागरिक, काम गुमाएका मजदुरलगायतलाई स्थानीय तहले उद्धार गरेका हुन् ।
समस्यामा परेकालाई जिल्ला फर्काउन सङ्घीय सासंद, दलका नेता र सामाजिक अगुवालेसमेत समन्वय गरिरहेका छन् । बागलुङ–१ का सांसद देवेन्द्र पौडेलले बुधबारदेखि उद्धार थालिएको बताउनुभयो । “बिहीबारसम्ममा ५०० भन्दा बढी घर फर्कनुभएको छ”, उहाँले भन्नुभयो, “शनिबारसम्म उद्धार गर्ने व्यवस्था मिलाएका छौँ ।” उहाँले बढी समस्यामा परेकालाई पहिलो प्राथमिकता दिइएको बताउनुभयो ।
ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले लकडाउनमा फेसका १५ आज बिहान घर आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार उद्धार गरिएकामा कतिपय विद्यार्थीसमेत छन् । “गाउँपालिका प्रवेश गर्नुपूर्व स्वास्थ्य अवस्था जाँचेर क्वारेन्टाइनमा बस्ने गरी ल्याइएको छ”, गाउँपालिका अध्यक्ष घर्तीले भन्नुभयो । उद्धार गरि ल्याइएकाको व्यक्तिगत विवरण र मोबाइल नम्बर राख्ने गरिएको छ ।
ढोरपाटन नगरपालिका, गलकोट नगरपालिकासहित अन्य स्थानीय तहका सयौँ व्यक्ति काठमाडौँबाट गाउँ फर्किएका छन् । बाहिरबाट उद्धार गरी ल्याइएकालाई विशेष निगरानीमा राखिएको स्थानीय तहले बताएका छन् । यात्रा अवधिमा पनि व्यक्तिगत सुरक्षा सावधानी अपनाउन लगाएर उद्धार गर्ने गरिएको छ । स्वास्थ्य अवस्था बुझ्ने र विगतको यात्रा विवरणसमेत लिने गरिन्छ । सङ्कट गहिरिँदै गएका बेला आफ्नै घर फर्कन पाउँदा उद्धार गरिएकाहरु खुशी छन् ।
गलकोट नगरपालिका–७ मल्मका वसन्त खड्का विगत एक महिनादेखि काठमाडौँमा कामविहीन भएर बस्नुपरेको थियो । “लाजिम्पाटको एउटा होटलमा काम गर्थे, एक महिनाअघि काम रोकियो”, उहाँले भन्नुभयो, “कहिले गाउँ फर्कौँ जस्तो भएको थियो, आउन पाइयो खुसी लाग्यो ।”
लकडाउनका बेला यसरी गरिएको उद्धारको आलोचना पनि भइरहेको छ । सयौँ मानिस एकसाथ गाउँ भित्रिँदा सङ्क्रमणको जोखिम बढ्न सक्ने चिन्ता प्रकट गरिएको छ । केही दिन यता देशभरका स्थानीय तहको पहलमा राजधानीलगायत अन्य ठूला शहरमा फसेका मजदुरलगायत सर्वसाधारणको उद्धार कार्य चलिरहेको छ ।