कैलालीमा धानको बीउ राख्ने बेलामा किसानले धानको बीउ खरीद गर्न पाएका छैनन् । वैशाखको अन्तिम सातादेखि धानको बीउ राख्ने गरिए पनि यस वर्ष लकडाउनका कारण धानको बीउ पाइएको छैन ।
बीउ उत्पादक कृषि सहकारी र कम्पनीले धानको बीउ बजारसम्म पु¥याउन नसक्दा किसान समस्या परेका छन् । बीउ उत्पादन संघ टीकापुरका अध्यक्ष रामफल कठरियाले बीउको माग भए पनि आफूहरुले मागअनुसारको पठाउन नसकेको बताउनुभयो । ‘‘धेरै किसानले दैनिक फोन गर्न थालेका छन्, हामीसँग बीउ सञ्चित छ तर पठाउन सकिएको छैन’’, अध्यक्ष कठरियाले भन्नुभयो, ‘‘कैलालीमा उत्पादन भएको बीउ कैलाली मात्र नभई सुदूर र प्रदेश नं ५ का अन्य जिल्लामा पनि जान्छ ।’’ उहाँले बीउ ढुवानी गर्न प्रशासनिक झण्झटका कारण आफूहरु तनावमा रहेको बताउनुभयो ।
अहिले टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा सात बीउ उत्पादक कृषि सहकारीमार्फत यस क्षेत्रका किसानले धान, गहुँ, तेलहन र दलहन बालीको बीउ उत्पादन गरिरहेका छन् । उनीहरु खाद्यान्न बालीको मूल बीउ, प्रमाणित बीउ र उन्नत बीउ उत्पादन गर्छन् । यी सहकारी तथा कम्पनीले स्थानीय किसानलाई बिक्रीवितरण गर्नाका साथै देशैभरिका जिल्लामा पु¥याउने काम गर्छन् । ‘‘चार वर्ष पहिले कैलाली जिल्लामा भैरहवा, बुटवल र नेपालगञ्जबाट धान, गहुँको बीउ ल्याउनु पथ्र्याे’’, नमूना बहुउद्देश्यीय कृषि सहकारीका अध्यक्ष जितबहादुर चौधरीले भन्नुभयो, ‘‘आजभोलि कैलालीको बीउ देशैभरिका जिल्लामा जान थालेको छ । विभिन्न जिल्लाबाट माग आउन थालेको छ तर पुगाउन सकेका छैनौँ ’’
यस क्षेत्रका बीउ उत्पादक कृषि सहकारी र कम्पनीसँग गरी अहिले धानको उन्नत बीउ पाँच हजार क्विण्टल छ जसमध्ये करीब दुई हजार क्विण्टल कैलाली जिल्लाका किसानले प्रयोग गर्छन् भने बाँकी अन्य जिल्लामा निर्यात हुने गरेको छ । ‘‘समयमा किसानलाई बिक्रीवितरणको लागि बीउ ग्रेडिङ, उम्रने शक्ति मापन, ट्याग र प्याकिङजस्ता सबै तयारी पूरा भएका छन्’’, किसान सुन्दरलाल चौधरीले भन्नुभयो, ‘‘लकडाउनकै कारण किसानमाझ पु¥याउन कठिन भयो । समयमै बीउ बिक्री नभए सहकारी र कम्पनी घाटामा जान्छन् ।’’
सरकारले कृषि वस्तु तथा अत्यावश्यक वस्तुलाई पासमार्फत कार्य सञ्चालन गर्न सकिने नीति बनाएको छ । लकडाउनमा ढुवानी गर्ने साधन नपाउने, पाए पनि ढुवानी शुल्क महंँगो र सवारी पासका लागि अनुमति लिन झण्झटिलो रहेको किसानको गुनासो छ । ‘‘वडा, जिल्ला हुँदै अन्य जिल्लासँग समन्वय गरेर मात्रै ढुवानी गर्न पाइने भएकोले समस्या भएको छ’’, सहकारीका सदस्य सरोज चौधरीले भन्नुभयो, ‘‘बीउ उत्पादकहरु समस्यामा परेको अवस्था छ । यसले उत्पादनमा पनि असर गर्छ ।’’ बीउ ढुवानीको समस्याका बारेमा जिल्ला समन्वय समिति कैलालीको संयोजक सूर्यबहादुर थापाले जिल्ला प्रशासनसँग समन्वय गर्ने काम भइरहेको बताउनुभयो ।