भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन् । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले बताएको छ । उनको थ्रोट स्बावको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति विदेशबाट आएको भनिए पनि थप विवरण आइसकेको छैन ।
यससँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । उनीहरुमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् । बिहीबारमात्र स्वास्थ्य मन्त्रालयले उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको जानकारी दिएको थियो ।
सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा जनकपुरका १४ वर्षीय बालक र उदयपुरकी ५५ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको जानकारी दिएका हुन् । यो सँगै संक्रमितको संख्या ४७ पुगेको हो।बिहीबार ललितपुरको पाटन अस्पतालमा उपचार दुई जना कोरोना जितेर डिस्चार्ज भएका छन्।
नेपालमा डिस्चार्ज हुनेको संख्या दिनप्रति दिन बढिरहेको छ। बिहीबार दुई जनाको डिस्चार्ज भएसँगै निको हुनेको संख्या ९ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेमा काठमाडौंका ३ धादिङका १, बागलुङका १ र धनगढीका ३ जना रहेका छन्। एकजना फागुन महिनामै डिस्चार्ज भइसेका छन्।
कोरोना भाइरस आशंकामा पीसीआर र आरडीटी विधिबाट ४३ हजार ७ सय २२ को नमुना परीक्षण गरिएको छ। गत २४ घन्टामा ३ हजार ३ सय ५ नयाँ नमुना परीक्षण गरिएको छ। सबै प्रदेशबाट आरडीटी परीक्षण भइरहेको छ। प्रदेश १ मा ३ हजार ५ सय ९२, प्रदेश २ मा ४ हजार ५ सय २९, बागमतीमा ६ हजार १ सय ५५, गण्डकीमा ४ हजार ५सय ५५, प्रदेश ५ मा २ हजार ७ सय ५६, कर्णालीमा ४ हजार ७ सय ३५ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८ सय ३५ वटा नमुना परीक्षण गरिएको छ।