कोभिड–१९ सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउनको बेलामा जथाभावी फलफूल पसल खोल्ने व्यापारीको भक्तपुर नगरपालिकाले फलफूल जफत गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि देशव्यापी लकडाउनका बेलामा मातातिर्थ औंसीमा आमाको मुख हेर्न घरमै बसेर मनाउन नगरपालिकाले गरेको अनुरोध अटेर गरेको भन्दै नगरपालिकाको अनुगमन समितिले वडा नं १ दूधपाटीस्थित छोटु फलफूल पसल बन्द गराएको छ । त्यस्तै भुलाँचामा तराजु र फलफूल क्रेट जफत गर्नुका साथै जगातीमा तराजु र फलफूलको क्रेट जफत गरेको छ ।
त्यस्तै महालक्ष्मी ज्याख्वपाटी अगाडिको फलफूल पसलबाट सुन्तला, कमलविनायकमा फलफूल पसलबाट सुन्तला, मेवा, कमलविनायक बसपार्कमा रहेको फलफूल पसलबाट सुन्तला जफत गरी पसल बन्द गराउनुका साथै मुलढोका, लाँन्चाफल्चाको पसल बन्द गराउनुको साथै च्याम्हासिंहमा साइकल, गाडामा फलफूल राखी घुमन्ते तरिकाले बेचेको फलफूल सहितका दुईवटा साइकल जफत गरिएकोे निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिन्ुभयो ।
त्यसैगरी बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा सल्लाघारी र व्यासीमा कोरोना भइरसको सङ्क्रमण फैलिन नदिने गरी मासु पसल सञ्चालन भएनभएको, व्यवस्थित रुपमा पसल सञ्चालन भएनभएको जानकारी लिन अनुगमन गरेको छ । मासु पसलको अनुगमनमा न्यू दि मनकामना मिट सप, बाराही मासु पसल, शायना मिट सप, इन्द्रयणी मिट सप, सानो व्यासी मासु पसल, बालाखु गणेश कोल्ड स्टोर, एभरेष्ट चिकेन, च्वाँगणेश मिट सपमा गरेको अनुगमनमा कोरोना सङ्क्रमणको जोखिमबाट बच्ने र बचाउन गरी सुरक्षित भएर मासु बिक्री गरेको नपाइएको संयोजक गोराले जानकारी दिनुभयो ।
अनुगमनमा मासु पसल दर्ता तथा नवीकरण नगरेको, लकडाउनको मौकामा मासुको मनपरी मूल्य लिएको, मूल्यसूची नराखेको, मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग नगरेको, मासु झिंगा भन्किने गरी बिक्री गरेको, तराजु नापतौल विभागमा नविकरण नगरेको पाइएको प्रजापतिले बताउनुभयो ।