भेरी नगरपालिका—४ का मोहनजङ्ग खत्री उच्त रक्तचाप (ब्लड प्रेसर)को औषधि लिन सदरमुकामस्थित एक औषधि पसलमा गए । त्यहाँ औषधि नपाएपछि आधा दर्जन औषधि पसल चाहारे तर कुनैमा पनि औषधि पाएनन् । साता दिनदेखि औषधि खान नपाएको उहाँको गुनासो छ ।
त्यस्तै मधुमेह(सुगर) रोगको औषधि सेवन गरिरहेका धनबहादुर अधिकारीले पनि जाजरकोटमा औषधि पाउन छोडेपछि आफू समस्यामा परेको बताउनुभयो । उनीहरु जस्तै धेरै दीर्घरोगीहरु औषधि नपाउँदा समस्यामा परेका छन् । दम, मुटुरोग, उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोग भएकाहरुले नियमित सेवन गर्ने औषधि निजी औषधि पसलहरुसँग सकिएपछि उनीहरु समस्यामा परेका हुन् । लकडाउनका कारण औषधि ढुवानी गर्न नसक्दा अभाव भएको सदरमुकाममा औषधि पसल सञ्चालन गर्दै आउनुभएका वीरप्रकाश रोकायले बताउनुभयो । उहाँले भन्नुभयो, “दीर्घरोगीले खाने अत्यावश्यक औषधिका साथै अन्य औषधि पनि सकिएको छ । जताजतै बन्दाबन्दी छ । गाडी चल्दैनन् । यस्तो बेला कसरी औषधि ल्याउने ? ।”
सदमुकाममा मात्र होइन, जिल्लाका ग्रामिण भेगमा समेत दीर्घरोगीले सेवन गर्ने र अन्य औषधिको अभाव देखिएको छ । जिल्लाका धेरै मेडिकल कोरोना सङ्क्रमण सर्ने डरले बन्द छन् । सिमित मात्रामा खुलेका पसलमा पनि औषधिको स्टक सकिदै गएको छ । औषधि सकिदै गएपछि विरामी मर्कामा परेका छन् । छेडागाडको थलहमा रहेको डेभिड मेडिकलका सञ्चालक अर्जुन अधिकारीले दीर्घरोगीले खाने औषधिका साथै अन्य औषधि पनि सकिएको बताउनुभयो । उहाँका अनुसार एल्पाइन, सिरप वेटा–२, भ्यान्टिफिलाइन फोर्ट टेबलेट, सेनिटाइजर, मास्क, सिटामोल, ब्रोफलम, जीवनजललगायत अधिकांश औषधि सकिएको बताउनुभयो । सवैभन्दा बढी मर्कामा दीर्घरोगीहरु परेका छन् । सरकारी स्वास्थ्य संस्थामा पनि औषधि सकिदै गएको छ । सरकारी स्वास्थ्य संस्थामा दीर्घरोगीले सेवन गर्ने औषधि निःशुल्क पाइदैन । जिल्ला अस्पतालमा रहेको फार्मेसीमा समेत दीर्घरोगीले प्रयोग गर्ने औषधि नभएपछि आफूहरु समस्यामा परेको विरामीको गुनासो छ ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले औषधि ढुवानीका लागि पासको ब्यवस्था गर्न सकिने बताउनुभयो । हालसम्म औषधि ढुवानीका लागी पास माग्न कोही आउनु भएको छैन । आएपछि पास उपलब्ध हुन्छ उहाँले भन्नुभयो । जाजरकोटमा करिब पाँच सयको हाराहारीमा निजी औषधि पसल वा मेडिकल सञ्चालनमा रहेपनि हाल कोरोना भाइरस सङ्क्रमणको डर मुस्किलले २५ देखि ३० वटा मात्र खुलेका छन् । बाँकी सबै मेडिकल बन्द छन ।
स्वास्थ्य सेवा कार्यालयका फार्मेसीमा गाउँका स्थानीयवासीको पहुँच नभएका कारण अर्को समस्या परेको छ । सबै गाउँमा सरकारी स्वमित्वमा स्वास्थ्य संस्था छैनन्, गाउँमा औषधि पसलकै भरमा औषधि खरिद हुँदै आएको छ । दुर्गम गाउँका चिकित्सक भनेकै औषधि पसल र त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरु नै हुन् । सङ्घीय सरकारले स्वास्थ्य संस्था निर्माणका लागि दिएको बजेट समेत जाजरकोटमा कार्यान्वयन हुन सकेको छैन । अहिलेसम्म आधा निर्माण भइसक्नु पर्ने स्वास्थ्य संस्थाहरु अहिले सम्म बोलपत्र आवह्वानको काम नै चलिरहेको छ ।
जाजरकोट मात्र होइन, दुर्गम जिल्लाहरुको प्रायः एकै नासको समस्य रहेको छ ।
कर्णालीका जाजरकोट, डोल्पा, हुम्ला र मुगु जिल्लामा सबैभन्दा बढी समस्या रहेको छ । सडक सञ्जालसँग नजोडिएका जिल्लामा बढी औषधिको समस्या भएको सरोकारवालाहरु बताउँछन् । हवाई मार्गबाट औषधि ढुवानी गनुपर्ने हुम्ला, डोल्पा र मुगुमामा नै बढी समस्या हुने गरेको छ । मङ्लबार परेको हिमपातले यी ठाउँका घोडेटो बाटोमा समस्या भएको बताएको छ ।