तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि अस्पतालको प्रवेशद्वारमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिएको छ ।
व्यास नगरपालिका–४ निवासी राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित युवा वैज्ञानिक विकल्प ढुङ्गानाले उक्त स्यानिटाइजर टनेल निर्माण गर्नुभएको हो । ढुङ्गानाका अनुसार अस्पताल प्रवेश गर्नुअघि र अस्पतालबाट बाहिर निस्कने बेला उक्त उपकरणबाट व्यक्तिको शरीर स्यानिटाइज हुने गरेको छ ।
उहाँका अनुसार स्यानिटाइजर टनेल निर्माणका लागि रु ३५ हजार खर्च भएको छ । स्यानिटाइज गर्नका लागि दश लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको र त्यसलाई ३० हजार लिटर क्षमतामा वृद्धि गर्ने तयारी गरिएको छ । “एक व्यक्तिलाई पाँच सेकेण्डसम्म स्यानिटाइज गर्दा ५० देखि ६० एमएल औषधि खर्च हुन्छ,” उहाँले भन्नुभयो, “मानिस उक्त टनेलभित्र रहेको अवस्थामा रातो बत्ती बल्छ र निस्किएपछि हरियो बत्तीले सङ्केत दिन्छ ।”
अस्पताल संवेदनशील ठाउँ रहेकाले सेवा लिन आउने प्रत्येक सर्वसाधारणलाई स्यानिटाइज गराएर मात्रै अस्पतालमा प्रवेश दिइएको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो ।
स्यानिटाइजर टनेलको शुभारम्भ कार्यक्रममा बुधबार जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले कोरोनाबाट बच्नका लागि सुरक्षा सावधानी अपाउनुपर्ने पहिलो दायित्व रहेकाले अस्पतालमा टनेल निर्माण गरिनु सकारात्मक रहेको बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीलगायतले कोरोनाबाट बच्न सरसफाइ र सतर्कतामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
घरमै पुगेर स्वास्थ्य जाँच
शुक्लागण्डकी नगरपालिकाले घरघरमा पुगेर सर्वसाधारणको स्वास्थ्य जाँच शुरु गरेको छ । कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्ने उद्देश्यले बन्दाबन्दी गरिएसँगै नगरपालिकाले घरमै पुगेर सर्वसाधारणको स्वास्थ्य जाँच शुरु गरेको हो ।
पहिलो चरणमा नगरपालिका–८ बाट यो अभियान शुरु भएको छ । वडावासीको व्यक्तिगत स्वास्थ्य विवरण अद्यावधिक गर्ने उद्देश्यले घरदैलोमा पुगेर ज्वरो नाप्न शुरु गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाको त्रासले सामान्य रुघाखोकी तथा ज्वरो नै आए पनि लुकाउने प्रवृत्तिका कारण घरघरमा पुगेर ज्वरो नापिएको छ ।
यस सेवाबाट उक्त वडाको लहरेपिपल, बुद्धटोल, प्रगतिटोल, मिलनटोलका २१० घरधुरीका ४९५ जना लाभान्वित भएका छन् । हालसम्म परीक्षण गरिएकामा स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
मनोसामाजिक अपाङ्गतालाई निःशुल्क औषधि
अपाङ्गता भएका व्यक्तिहरुको अधिकार विकासका लागि स्रोत केन्द्र (रिसेड) तनहुँको पहलमा मनोसामाजिक अपाङ्गता भएकाहरुलाई निःशुल्क औषधि उपलब्ध गराइएको छ । बन्दाबन्दीका कारण औषधि खरिद गर्न सदरमुकाम दमौली आउन नसकेका मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग पु¥याउने उद्देश्यले रिसेडले निःशुल्क औषधि उपलब्ध गराएको हो ।
विगत लामो समयदेखि नियमितरूपमा औषधि सेवन गर्दै आएका शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकाका ३० मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई कोशिस नेपालको सहयोगमा निःशुल्क औषधि उपलब्ध गराइएको रिसेड तनहुँका महासचिव दामोदर रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार नियमितरूपमा औषधि सेवन गर्ने मनोसामाजिक अपाङ्गता भएका व्यक्ति शुक्लागण्डकी नगरपालिकामा १८ र बन्दीपुर गाउँपालिकामा १२ जना रहेका छन् ।