तनहुँको सदरमुकामस्थित एकमात्र जिल्लास्तरीय दमौली अस्पतालमा अहिलेसम्म सघन उपचार (आइसियु) कक्ष नहुँदा बिरामीलाई थप उपचारका लागि अन्यत्रै जानुपर्ने बाध्यता छ । जिल्लास्तरीय अस्पतालमा सघन उपचार कक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडौँ पुगेर स्वास्थ्य सेवा लिनुपर्दा स्थानीयवासीलाई आर्थिक भारसमेत पर्दै आइरहेको छ तर अब उक्त अस्पतालमा सघन उपचारकक्ष निर्माण गरिने भएको छ । कोभिड–१९ को प्रभावपछि अस्पतालमा भेन्टिलेटरसहितको सघन उपचार कक्ष निर्माणको प्रक्रिया शुरु गरिएको दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो ।
कोरोना शङ्कास्पद बिरामीको उपचारका लागि व्यास नगरपालिका–३ स्थित किरियापुत्री भवनमा आइसोलेशनकक्ष बनाउने तयारी गरिएको भए पनि उक्त भवन दमौली अस्पतालको पहुँचभन्दा बाहिर भएकाले अस्पताल नजिकैको अर्को भवनमा आइसियुसहितको उपचार केन्द्र बनाउने तयारी गरिएको अधिकारीले जानकारी दिनुभयो । “कोरोना शङ्कास्पद बिरामीको उपचारका लागि दमौली अस्पतालको पुरानो भवनलाई आइसियुसहितको उपचार केन्द्र बनाउने गरी तत्काल पूर्वाधार निर्माण गर्न लागेका छौँ”, अधिकारीले भन्नुभयो, “तत्कालका लागि कोरोनालक्षित आइसियु कक्ष भए पनि भविष्यमा सो कक्षले अन्य बिरामीलाई पनि सेवा प्रवाहमा सहज हुनेछ ।”
अधिकारीका अनुसार सघन उपचार कक्षका लागि तीन कोठा तयार गरिनेछ । कक्ष निर्माणका लागि आवश्यक लागत निकालेर स्वास्थ्य मन्त्रालयमा पठाइनेछ । “अस्पतालको नयाँ भवनमा कोठा अपुग भएकाले अस्पतालसँगै रहेको अर्को भवनको तीन वटा कोठा सघन उपचार कक्षका लागि निर्माण गर्ने तयारी गरी लागत इष्टमेट गर्न लागेका छाँै,” उहाँले भन्नुभयो, “लागतसहितको इष्टमेट मन्त्रालयमा पठाउँछौँ । सघन उपचारकक्ष सञ्चालन भएपछि थप जनशक्ति पनि आवश्यक पर्छ ।”
तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले अस्पतालमा भेन्टिलेटरसहितको पाँच श्ययाको आइसियु कक्ष बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । दश थान भेन्टिलेटरसहितको आइसियु कक्ष निर्माणका लागि करीब रु ५० लाख खर्च हुने र सहयोगदाता नपाएको खण्डमा आफ्नै लगानीमा पनि उक्त कक्ष स्थापना गरिने सांसद् श्रेष्ठले घोषणा गर्नुभएको थियो ।
स्तरोन्नतिका लागि जग्गा अभाव
कूल १५ रोपनी १४ आना जग्गामा फैलिएको सो अस्पताल थप जग्गाको अभावमा स्तरोन्नति हुन सकेको छैन । अध्यक्ष अधिकारीका अनुसार ५० श्ययाको अस्पताल बनाउन ३५ देखि ८० रोपनी जग्गा आवश्यक पर्छ । “अस्पतालको स्तरोन्नतिका लागि जग्गा खोजी गर्ने सन्दर्भमा विभिन्न चरणमा सरोकारवालासहितको छलफल गरिए पनि ठोस निष्कर्षमा पुग्न सकिएको छैन,” अधिकारीले भन्नुभयो, “हाल भइरहेको अवस्थाबाट नै गुणस्तरीय सेवा दिइरहेका छौ ।”
विसं २०३४ मा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापित यो अस्पताल विसं २०५९ मा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो । विसं २०७२ मा अस्पतालको आफ्नै सुविधासम्पन्न भवन निर्माण भएको थियो । सोही वर्ष अस्पतालमा डायलाइसिस सेवा शुरु गरिएको र विसं २०७३ सालमा मानसिक उपचार केन्द्र स्थापना गरिएको थियो । अस्पतालमा विसं २०७४ मा आफ्नै फार्मेसी सञ्चालन गरिएको थियो ।
दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल पौडेलले १५ श्यया क्षमताको अस्पतालबाट हाल ४२ श्ययामा सेवा प्रवाह भइरहेको जानकारी दिनुभयो । डा पौडेलका अनुसार सरकारीतर्फ २४ जना दरबन्दी भएपनि १८ जनामात्रै कार्यरत रहेको र अस्पताल विकास समिति मार्फत् ३३ जना कर्मचारी अस्पतालमा कार्यरत छन् । “कर्मचारी अभावमा सोचे जति सेवा दिन सकेका छैनाँै”, डा पौडेलले भन्नुभयो, “तर सेवामा कुनै कसर पनि बाँकी राखेका छैनाँै ।” डा पौडेलका अनुसार विकास समितिमार्फत राखिएका कर्मचारीका लागि वार्षिक रु ४० लाख तलबमा खर्च हुने गरेको छ ।
अस्पतालमा हाल सरकारी दरबन्दीमा एक मेसु, दुई मेडिकल अधिकृत, पाँच स्टाफ नर्स÷अनमी, तीन एचए, एक रेडियोग्राफर, दुई ल्याव टेक्निसियन÷असिस्टेन्ट, दुई प्रशासनतर्फ कर्मचारी र दुई कार्यालय सहायक कार्यरत छन् । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
सांसदको पहलमा यात्रुको उद्धार
प्रतिनिधिसभा सदस्य श्रेष्ठको पहलमा सोमबार २३ मजदुर पैदलयात्रुको उद्धार गरिएको छ । लमजुङ र कास्की जिल्लाको सिमानामा रहेको रुदीखोला–ए जलविद्युत आयोजनाका मजदुरलाई सांसद श्रेष्ठको पहलमा व्यास नगरपालिका–७ कलेस्तीबाट उद्धार गरी घर पठाइएको हो ।
-