काठमाडौँ चल्ने बसका सहचालक प्रकाश थामीले बन्दाबन्दीपछि अहिलेसम्म अरुले जुटाइएको सामूहिक व्यवस्थामा खाना खाँदै आउनुभएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ का थामी होटलमा नै खाने र गाडीमा सुत्ने गरेर जीवन धान्दै आउनुभएकामा बन्दाबन्दीमा होटलहरु बन्द भएपछि तीनचार दिनसम्म पानी र चिउरा मात्रै खाएर बस्नुभएको थियो ।
काभ्रेपलाञ्चोकको पनौतीमा रहेको पनौती युवा मञ्चले बन्दाबन्दीका कारण खाना खान नपाएर भोकै भएका रिक्सा चालक, गाडी मजदुर र सडक बालबालिकाका लागि खाना ख्वाउने व्यवस्था गरेपछि सो सामूहिक मेस मिलेको हो । काम खोज्न घरबाट निस्कनुभएका उहाँ पहिला धुलिखेल–काठमाडौंको बसमा डेढ वर्षजति काम गरेर अहिले पनौती काठमाडौंको गाडीमा काम थाल्नुभएको छ । “काम हुने बेलामा त दिनको आठ सयसम्म कमाउँछ, त्यसबाट खाने र बचेको घरमा पठाउने गर्दै आएको थिएँ ।” उहाँले भन्नुभयो, “कोरोनाको कारण काम नहुँदा यसरी खानाको व्यवस्था भएर राम्रो भएको छ ।”
सोही रुटका सहचालकको काम गर्दै आउनुभएका खानीखोला गाउँपालिका वडा नं. २ फलामेटारका अर्का मजदुर कुमार तामाङले पनि त्यहीँ सामूहिक रुपमा खाना खाएर गाडीको सुरक्षा गर्दै आएको बताउनुएको छ । उहाँ पनि बिना कोठा गाडीमा नै सुत्ने र होटलमा खाना खाएर जीवन गुजारा गर्दै आउनुभएको थियो । काम गरेवापत् साहुले खानाबाहके अरु सुविधा नदिएको बताउँने उहाँको सीप सिकेर चालक बन्ने धोको छ ।
पनौती बजारमा नै अर्काको घरमा काम गरेर जीवन गुजारा गर्दै आउनुभएका तारा लामाले पनि सोही ठाउँमा खाना खाने र चार महिनाको काखे बालकसहित अर्का एक छोरीलाई त्यही खाना ख्वाएर जीवन धान्दै आउनुभएको छ । दैनिक अर्काको काम गरेर हातमुख जोड्ने काम गर्दै आएकामा बन्दका कारण त्यो पनि गुमेपछि अरुले बाँडिदिएको ठाउँमा गएर पेट भर्ने गर्दै आएको बताउनुभयो ।
पनौती बजारमा रिक्सा चलाएर जीविकोपार्जन गर्दे आउनुभएका ललितपुरको भट्टेडाँडाका जयराम दुलालको पनि खाना त्यही समूहमा हुँदै आएकोे छ । तीन चार वर्षदेखि पनौतीमा रिक्सा चलाउने काम गर्दै आउनुभएका उहाँले स्थानीय युवाहरुले सबैलाई खाना ख्वाउन थालेपछि खान पाइएको बताउनुभयो ।
मञ्चका अध्यक्ष सौगात बस्नेतले लकडाउनका कारण धेरैले खाना नै नपाउने अवस्था देखेपछि नगरपालिका प्रमुख भीम न्यौपाने र पनौतीको प्रहरीसँग अनुमति लिएर खाना ख्वाउने काम शुरु गरेको बताउनुभयो । यहाँ दैनिक ४५ जना सम्मलाई दिनको दुई पटक खाना ख्वाइएको छ ।
खानाका लागि स्थानीय जिटी रेष्टुरेण्टका सञ्चालक सञ्जय सिं ठकुरीले सहयोग गरिरहनुभएको छ । त्यससँगै बाटोमा हिँड्ने यात्रुहरुलाई पनि खाना ख्वाउने व्यवस्था गरिरहेको छ । त्यसरी सहयोग गर्नेमा ५ जना देखि १० जना मञ्चका सदस्यहरुले स्वंयसेवकको रुपका काम गरिरहेका छन् । RSS