कैलाली, ७ वैशाख - नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको कार्यालयले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका साथै लामो लकडाउनका कारण सिर्जित समस्याको प्रभावकारीरूपमा समाधान गर्न सुदूरपश्चिम प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रदेशमा कोरोनासम्बन्धी परीक्षणलाई अझ प्रभावकारी बनाउनुका साथै भारत तथा अन्य मुलुकबाट नेपाल आएका व्यक्तिको छिटोभन्दा छिटो विश्वसनीय कोरोना परीक्षण गर्ने प्रबन्ध मिलाउन संसदीय दलको कार्यालयद्वारा शनिबार यहाँ जारी प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको हो ।
कोरोना रोकथाम, नियन्त्रण र उपचारको अग्रिम मोर्चामा रहेका चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकको स्वास्थ्य सुरक्षाका लागि हरसम्भव उत्कृष्ट व्यवस्था मिलाउन ध्यानाकर्षण गरिएको छ । जस्तोसुकै परिस्थितिमा पनि जनताको बाँच्न पाउने अधिकारको रक्षा गर्नु तथा अप्ठ्यारोमा परेका नागरिकको उद्धार तथा राहत प्रदान गर्नु सरकारको दायित्व भएकाले यसतर्फ गम्भीरतापूर्वक अग्रसर हुन प्रदेश सरकारलाई आग्रह गरिएको छ ।
त्यस्तै प्रदेश सरकारले स्थानीय तह तथा सबै राजनीतिक दल र सरोकारवाला सङ्घसंस्थाको समन्वयमा राहत सङ्कलन तथा वितरणको व्यवस्था गरी लक्षित वर्ग र समुदायमा उपयुक्त राहत पुगोस् भन्नेतर्फ प्रभावकारी व्यवस्था गर्न माग गरिएको छ । कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन एकमात्र विकल्प भएकामा यसको पूर्णपालना गर्न सम्पूर्ण सुदूरपश्चिम प्रदेशवासीमा विनम्रतापूर्वक अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।
रोकिएका व्यक्तिलाई सम्पर्कमा आउन आग्रह
धनगढी उपमहानगरपालिकाले लकडाउनका कारण धनगढीमा रोकिएका धनगढी नगरबाहिरका व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको छ । उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय कैलालीले गरेको सूचनाका आधारमा नगरबाहिरका व्यक्तिको विवरण सङ्कलन गर्न थालेको हो । नगरप्रमुख नृपबहादुर वडले यहाँ रोकिएका व्यक्तिलाई आफू रहेको वडाध्यक्ष वा वडाका प्रतिनिधिको सम्पर्कमा आउन अनुरोध गरिएको बताउनुभयो ।
नगरप्रमुख वडले भन्नुभयो, “उहाँहरुको विवरण सङ्कलन गरेपछि उनीहरुका बारेमा जिल्ला प्रशासन कार्यालयले उचित निर्णय लिनसक्छ ।” RSS