काठमाडौं २७ चैत,मुग्लानी खबर/
प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिवसहित सल्लाहरुकारहरुले राजीनामा दिने भएका छन् । प्रधानमन्त्रीकै निर्देशनमा उनीहरुले राजीनामा दिन लागेका हुन् ।
शुक्रबार बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले आफ्ना सबै सल्लाहकारहरुलाई राजीनामा दिन निर्देशन दिएका बुझिएकाे छ ।
ओलीको निर्देशनसँगै राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, सूचना प्रविधि सल्लाहकार अस्गर अलीलगायतले राजीनामा दिने भएका हुन् ।
‘मंसिरबाट लागू हुने गरी हामीलाई राजीनामा गर्नू भनिएको हो,’ ओलीका एक सल्लाहकारले भने, ‘प्रधानमन्त्रीज्यूको निर्णय हो, हामीले उहाँलाई बाहिरै रहेर पनि सहयोग गर्ने कुरा हुन्छ ।’
ओलीले किन लिए यस्ताे निर्णय ?
पछिल्लो समय प्रधानमन्त्रीको सचिवालयको कामलाई लिएर चर्को आलोचना हुँदै आएको छ । प्रधानमन्त्रीका सल्लाहकारहरुमाथि मनोमानी गरेकाे, आफू निकटलाई राजनीतिक नियुक्ति दिलाउने प्रयास गरेको, सरकारको छवीमा सकारात्मक प्रभाव पार्ने खालका गतिविधि नगरेको आरोप लाग्दै आएको छ ।
आफ्ना सल्लाहकारलाई राजीनामा गर्न निर्देशन दिएका प्रधानमन्त्री केपि ओलीले केही दिनमै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेको बालुवाटार स्राेतकाे दाबी छ ।