पुरुषोत्तम थापा
कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि सरकारले गरेको तीनसाता लामो लकडाउनले ज्याला मजदूरी गर्नबाट वञ्चित भएकालाई जिल्लाका स्थानीय तहले धमाधम राहत वितरण शुरु गरेका छन् ।
लकडाउनले मजदूरी गर्न नपाएपछि समस्यामा परेका, विपन्न र अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण शुरु गरिएको हो । जुम्लाको दुल्लु नगरपालिकामा आइतबारदेखि खाद्यान्न सामग्री वितरण शुरु गरिएको नगरपालिकाले जनाएको छ । निर्वाचन क्षेत्र नं. २ अन्तर्गत दुल्लूका १३ वडाका एक हजार १५ परिवारलाई पुग्ने गरी खाद्यान्न सामग्री पठाइएको नगरप्रमुख घनश्याम भण्डारीले बताउनुभयो । “दुल्लू—७ का ४५ परिवारलाई आइतबार राहत वितरण गरिएको छ”, उहाँले भन्नुभयो, “प्रति परिवार २५ केजी चामल, दुई केजी दाल, एक केजी नुन, एक केजी चिनी, दुई सय ग्राम चियापत्ती र एक लिटर खाने तेलका दरले राहत वितरण गरिएको हो ।” बाँकी सबै वडामा पनि राहत वितरण गरिने जानकारी पनि उहाँले दिनुभयो ।
त्यसैगरि निर्वाचन क्षेत्र नम्बर –१ नारायण नगरपालिकाले ११ वडाका ९ सय ५४ परिवारलाई प्रतिपरिवार २५ किलो चामल, दुई किलो नुन, एक लिटर तेल वितरण गरेको नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खडकाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बसेको ठाउँमै राहत पुगेपछि उनीहरु उत्साहित हुनुहुन्छ। उहाँहरूलाई घरभित्रै बस्न अनुरोध समेत गरेका छौं ।” दैनिक ज्याला मजदूरी गर्नेहरू भोक भोकै बस्नुपर्ने अवस्थालाई मध्यनजर गरी राहत वितरण गर्ने कार्यलाई अभियानकै रुपमा अगाडि बढाएको उहाँले बताउनुभयो ।
रु २ करोड ५ लाखको राहत कोष स्थापना
जिल्लाका ११ स्थानीय तहमध्ये पाँच स्थानीय तहले रु दुई करोड करोड ५ लाखको राहतकोष स्थापना गरेका छन् । नारायण नगरपालिकाले रु ३० लाख, महाबु गाउँपालिकाले रु ५० लाख, डुङ्गेश्वर गाउँपालिकाले रु २५ लाख, चामुण्डाबिन्द्रासैनि नगरपालिकाले रु ५० लाख र ठाटीकाँध गाउँपालिकाले रु ५० लाखको राहत कोष स्थापना गरेका हुन् । बाँकी स्थानीय तहले पनि यो हप्तामै राहतकोष स्थापना गर्ने बताइएको छ ।
स्थानीय तहमा स्थापित राहत कोषले गरिब तथा विपन्न नागरिकलाई राहत प्रदान गर्न तथा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा न्यूनीकरणका लागि सहयोग पुग्ने विश्वास प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको छ । उहाँले भन्नुभयो, “विपन्न परिवारलाई पेट पाल्न गाह्रो भयो । ज्याला मजदूरी गरेर खाने परिवारले घरघरमै खाद्यान्न पाए भने कोही पनि बाहिर आउदैनन् । यसले सरकारले लागू गरेको लकडाउन सफल बनाउनमा सहयोग गर्छ ।”